स्काईलाईन ईन्फ्राले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालय सेक्युरिटिज बैंकर

काठमाडौं । स्काईलाईन ईन्फ्रा लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौता स्काईलाईन ईन्फ्रा र हिमालय सेक्युरिटिज बैंकरबीच सम्पन्न भएको हो । सम्झौताले कम्पनीलाई नयाँ व्यवसायिक यात्रा सुरु गर्न तथा विस्तारमा सहयोग गर्ने अपेक्षा गरिएको छ । सम्झौतामा स्काईलाईन ईन्फ्राको तर्फबाट अध्यक्ष प्रतीक अग्रवालसहित सञ्चालक, संस्थापक तथा प्रमुख वित्त अधिकृतको सहभागिता थियो भने हिमालय सेक्युरिटिज बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले हस्ताक्षर गरेका छन् ।  

मिड सोलु हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।  कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  उक्त प्रस्तावित लाभांश आगामी चौथो वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि वितरण गरिने कम्पनीले जनाएको छ ।

हिमस्टार उर्जा कम्पनीको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमस्टार उर्जा कम्पनी लिमिटेडको सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीकाे ३७ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको हो । यसमा सर्वसाधारणलाई बिक्री गरिएको ११ लाख १९ हजार कित्ता र संस्थापक सेयरधनीले लगानी गरेको २६ लाख ११ हजार कित्ता सेयर समावेश छन् । कम्पनीको सेयर आगामी भदौ ११ गते देखि नेप्सेमा कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले ९९ रुपैयाँ १७ पैसा देखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ । यसै आधारमा आइतबारको स्पेशल प्रि–ओपन सेसनपछि नियमित बजारमा कारोबार सुरु हुनेछ ।