आजसम्म सेयरधनी बने हाथवे इन्भेष्टमेन्ट र ४ म्युचुअल फण्डको लाभांश पाइने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल र ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हाथवे इन्भेष्टमेन्टले लाभांश तथा साधारण सभा र एनएमबि ५०, एनएमबि सुलभ इन्भेष्टमेन्ट, सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० ले लाभांश वितरण प्रयोजनार्थ भदौ १३ गते एक दिनका लागि बुक क्लोज गर्न निर्णय गरेको छ । त्यसैले आज भदौ १२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाइ लाभांश प्राप्त गर्न सक्नेछन् । हाथवे इन्भेष्टमेन्टले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँको १२ प्रतिशतका दरले १६ करोड ९८ लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशतका दरले ८९ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न भदौ २५ गते बिहान १० बजे आम्रपाली ब्याङ्केट काठमाडौंमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि ५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले १५/१५ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले ८.२५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १२.७५ प्रतिशत लाभांश वितरण गर्ने भएका छन् । 

एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया क्यापिटलको इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन २९ गतेदेखि बिक्री खुला गरेको एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किममा आज भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । क्यापिटलले ५० करोड रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले ५ करोड इकाई बिक्री गरेको हो । क्यापिटलले १० करोड इकाईमध्ये बीज पुँजीबापट कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । कम्पनीको उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

२५ प्रतिशत बढी सेयर स्वामित्व रहेका लघुवित्त संस्थापकले लाभांश नपाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थामा चुक्ता पुँजीको २५ प्रतिशतभन्दा बढी सेयर रहेका संस्थापक सेयरधनीले लाभांश नपाउने भएका छन् । लाभांश प्राप्त गर्न उनीहरूले आफ्नो संस्थापक सेयरको हिस्सा घटाएर कम्तीमा २५ प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको हो । राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०८२’ मार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।  ‘घ वर्गको संस्थाको हकमा उपर्युक्त बमोजिमको सीमालाई क्रमशः २५ र १० प्रतिशत लगानी गर्न सकिने विद्यमान व्यवस्थाभन्दा बढी हुने गरी संस्थापक सेयर धारण गर्ने संस्थापक सेयरधनीलाई तोकिएको सीमा कायम नगरेसम्म प्रस्तावित नगद लाभांश तथा बोनस सेयर वितरण रोक्का राख्न लगाउने,’ कार्यविधिमा उल्लेख छ ।