स्वाभिमान लघुवित्तको आईपीओमा ३२ गुणा बढी आवेदन, जनसेवीमा कति ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा ३२.६६ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६० करोड ६१ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । मंगलबार साँझ पाँच बजेसम्ममा कुल ३ लाख २७ हजार ७४७ जना आवेदकले कुल ६० लाख ६१ हजार ७७० कित्ताको लागि आवेदन दिएको क्यापिटलले जनाएको छ । स्वाभिमानले कूल एक करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको एक लाख ९८ हजार ६१० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । सो मध्ये कर्मचारीलाई ३ हजार ९३ कित्ता र म्युचुअल फण्डलाई ९ हजार ९३० कित्ता छुट्याएको थियो । त्यसमा बाँकी रहेको एक लाख ८५ हजार ५८७ कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । त्यस्तै, जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओमा माग भन्दा १४.१९ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनबि क्यापिटलका अनुसार संस्थाको आईपीओमा कुल ६१ करोड ४२ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । मंगलबार साँझ पाँच बजेसम्ममा कुल ३ लाख ३५ हजार ६२१ जना आवेदकले कुल ६१ लाख ४२ हजार ६४० कित्ताको लागि आवेदन दिएको क्यापिटलले जनाएको छ । त्यस्तै, जनसेवीले कूल ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ३०० कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो । सो मध्ये कर्मचारीलाई ७ हजार १४५ कित्ता र म्युचुअल फण्डलाई २३ हजार १६५ कित्ता छुट्याई बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । सेयरमा मागभन्दा बढी आवेदन परेपछि यी दुबै संस्थाले मंगलबार नै सेयर बिक्री बन्द गरेका हुन् । दुबै संस्थाले गत वैशाख २७ गते शुक्रबारदेखि वैशाख ३१ गते सो मात्राको सेयर बिक्री खुला गरेका थिए । उक्त सेयरमा न्युनतम १० कित्ता सेयर भर्न पाउने व्यवस्था रहेको थियो ।

बजारमा एक अर्ब बढीको कारोबार, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत

काठमाडौं । मंगलबारको बजारमा एक अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल १७० कम्पनीको ३१ लाख ६६ हजार कित्ता सेयर सो मात्रामा किनबेच भएको हो । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३१४ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम् सिमेन्टको ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिनको नेप्से परिसूचक दोहोरो अर्थात १४.१२ अंकले बढेर १३१५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०८ प्रतिशत बढी हो । त्यस्तै, मंगलबारको बजारमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सोही कम्पनीका प्रमोटर सेयरधनीले एकैदिन ९.९९ प्रतिशत कमाएका छन् । त्यसैगरी, शिवम् सिमेन्ट कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ ।

मिर्मिरे, नागबेली र किसान लघुवित्त एक आपसमा गाभिए, आजैदेखि कारोबार रोक्का

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएका छन् । यी तीन संस्था एक आपसमा गाभिने सम्बन्धि वैशाख ३० गते साँझ एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जमा जाने प्रयोजनको लागि यी तीनवटै संस्थाहरुको वैशाख ३१ गते(आज)देखि नै  सम्पूर्ण धितोपत्र कारोबार रोक्का हुने भएको छ । साथै, एक आपसमा गाभ्ने र गाभिने प्रकृया सम्पन्न नभएसम्म उल्लेखित संस्थाहरुको बुक क्लोज हुने जनाइएको छ । हाल मिर्मिरे लघुवित्तको चुक्ता पुँजी १० करोड ३८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, नागबेलीको १५ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।