अपर तामाकोशीसँगै घट्यो आइतबारको सेयर बजार, दिनभरि अपरमा के के भयो ?
काठमाडौं । आइतबार अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्यमा गिरावट आएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार शुरु भएदेखि निरन्तर बढिरहेको अपरको सेयर मूल्य आइतबार ६.१० प्रतिशतले घटेको छ । गत पुस २९ गतेदेखि कारोबार शुरु भएको उक्त कम्पनीको मूल्य ५ दिनसम्म निरन्तर उच्च मूल्यमा कारोबार भएको थियो । तर आज छैटौँ दिनको उक्त मूल्य वृद्धि थामिएको छ । अघिल्लो कारोबार अर्थात गत बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३११ रुपैयाँ थियो भने आइतबार कम्पनीको सेयर प्रतिकित्ता ३२६ रुपैयाँदेखि कारोबार शुरु भएको थियो । कारोबार शुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य उच्च अंकले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको थियो । सो समयमा कम्पनीको ३ लाख ११ हजार कित्ता सेयर किनबेच भएको थियो । बजारमा उच्च कारोबार भएपछि त्यसपछिको बजारमा सर्किट ब्रेक लाग्यो । बजारमा सर्किट ब्रेकसँगै सिस्टममा केही समस्या आएको थियो र त्यसको करिब १५ मिनेटमै सेयर कारोबार खुल्यो । सर्किट ब्रेक लागेपछि खुलेको बजारमा भने अपरको मूल्य वृद्धिले गति लिन सकेन र त्यसपछि निरन्तर घट्न थाल्यो । अन्ततः बजार बन्द हुँदा अपर तामाकोशीको सेयर मूल्य ६.११ प्रतिशतले घटेर प्रतिकित्ता २९२ रुपैयाँमा सिमित रहेको छ । कम्पनीको मूल्यमा गिरावट आएता पनि सो दिन सबैभन्दा बढी कारोबार भएको छ । जसको एकैदिन २३ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अपर तामाकोशीको मूल्य घटेसँगै आइतबारको बजार समग्रमा ८.६० अंकले घटेर ११७९.१७ अंकमा झरेको छ । बजारमा कुल १४३ कम्पनीको ३६ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
शेयर बजार सामान्य अङ्कले घट्यो, २८ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.२ विन्दुले घटेर एक हजार १८७.७७ विन्दुमा झरेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत झिनो अङ्कले मात्रै घटेको छ । उक्त परिसूचक ०.५ विन्दुले घटेर २५१.०१ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ कित्ता शेयर २८ करोड ७७ लाख ५० हजार ३२१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका ११ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ । त्यसमा जलविद्युत् ४०.४१, अन्य २.४८ र लघुवित्त ९.२६ विन्दुले बढेका छन् । यस्तै बैंकिङ २.८१, व्यापार ३.१३, होटल २.७२, विकास बैंक ०.७२, वित्त ०.१२, उत्पादन ४.२४, निर्जीवन बीमा ६२.३६ र जीवन बीमा ४५.२७ विन्दुले घटेको छ । घटेको बजारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, छिमेक लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, साना किसान विकास बैंकका शेयरधनीले बढी कमाएका छन् । यस्तै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, काबेली विकास बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्यारेन्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले बढी गुमाएका छन् ।
बजार ७ अंकले घट्दा अपर तामाकोशीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । बुधबारको सेयर बजार ७.५७ अंकले ओरालो लागेको छ । मंगलबार दोहोरो अंकले बढेको बजार बुधबार भने ०.६३ प्रतिशतले घटेर ११८७ अंकमा झरेको छ । सो दिनको परिसूचकमा तीब्र उतारचढाव देखिएको छ । परिसूचकमा उतारचढाव देखिएतापनि सेयर कारोबारमा भने केही सुधार देखिएको छ । दिनभरको कारोबारमा कुल १६९ कम्पनीको ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । तीब्र उतारचढाव देखिएको बजारमा पनि अपर तामाकोशी हाइड्रो पावरको सेयर मूल्य ९.६९ प्रतिशतले बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य २५ रुपैयाँले बढेर प्रतिकित्ता २८३ रुपैयाँ पुगेको छ । अघिल्लो दिनको कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ रहेको थियो । आइतबारदेखि नेप्सेमा कारोबार शुरु गरेको यस कम्पनीको सेयर उच्च मूल्यमा बिक्री भइरहेको छ । उक्त दिनदेखि बुधबारसम्म कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढीरहेको छ । प्रतिकित्ता ७४.८९ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सो दिन मै उच्चतम मूल्य प्रतिकित्ता २२४ रुपैयाँमा किनबेच भएको थियो । बुधबारको दिनसम्म कम्पनीका लगानीकर्ताले प्रतिकित्ता १८३ रुपैयाँ नाफा कमाइ सकेका छन् । बजारमा हाइड्रोपावर, उत्पादनमूलक र ट्रेडिङ समूह बाहेक बाँकी समूह ओरालो लागेका छन् । हाइड्रोपावर, उत्पादनमूलक र ट्रेडिङ समूह क्रमशः २२, २ र १ अंकले उकालो लागेका छन् ।