चन्द्रागिरी हिल्सको १० प्रतिशत आईपीओ पारित
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको १० प्रतिशत साधारण सेयर(आईपीओ) निश्कासन गर्ने विशेष प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न कम्पनीको नवौँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले आगामी आर्थिक वर्ष भित्रमा १० प्रतिशत सेयर सर्बसाधारणलाई बिक्री गर्ने छ । साथै, उक्त सभाले संचालक समितिका सदस्यहरुको सर्बसम्मत चयन गरेको छ ।
सिभिल लघुवित्त वित्तीय संस्थाकाे ४ प्रतिशत बोनस शेयर पारित
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको साधारण सभाले बोनश शेयर तथा नगद लाभांश पारित गरेको छ । काठमाडौंमा सम्पन्न सस्थाको सातौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ४ प्रतिशतले बोनश शेयर जारी गर्ने र ३.८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सो पश्चात कायम हुने जारी तथा चुक्ता पूँजी रु. ११ करोड ४१ लाख १४ हजारको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारितसँगै आर्थिक वर्ष ०७५/०७६ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ । सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको यस वित्तीय संस्थाको २०७५ साल मंसिर मसान्त सम्म कूल सदस्य संख्या १९ हजार ९ सय, लगानीमा रहेको कर्जा रकम रु. ६७ करोड १४ लाख छ । हाल संस्थाले ३५ वटा शाखा कार्यालयहरु मार्फत २३ जिल्लामा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
जनता बैंकका सेयरधनीले साढे ८ प्रतिशत नगद लाभांश पाउने निश्चित
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडका सेयरधनीले ८.५० प्रतिशत नगद लाभांश पाउने निश्चित भएकाे छ । बैंकको नवौँ वार्षिक साधारणसभाले समितिको प्रस्तावलाई पारित गरेसँगै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने भएका हुन् । बैंकको नवौं वार्षिक साधारणसभा आइतबार(आज) काठमाडौंको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा सम्पन्न भएको छ । उक्त सभा सञ्चालक समितिका अध्यक्ष केशवबहादुर रायमाझीको अध्यक्षतामा बसेको थियो । सभाले आर्थिक वर्ष २०७४/७५ सम्मको सञ्चित मुनाफा समेतको रकमबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको सो मात्रा अर्थात ६८ करोड ६६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न अनुमति दिएको हो । हालसम्म बैंकको निक्षेप संकलन ६८ अर्ब र कर्जा लागानी ६३ अर्ब रुपैयाँ पुगेको छ । बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ३२ करोड रुपैयाँ(एनएफआरएस बमोजिम) मुनाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, हाल बैंकको १२९ शाखा, ५० शाखा रहित बैकिङ् केन्द्र, ७९ एटीएम सञ्चालनमा रहेको छ ।