२० प्रतिशत लाभांश दिने भएपछि नेरुडे लघुवित्तको सेयर मूल्य बढ्यो
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २०.७९ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले सेयरधनीलाई १५ प्रतिशत बोनस र कर सहित ५.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । लाभांश घोषणा गरेसँगै मंगलबार संस्थाको सेयर मूल्य बढेको छ । सोमबार प्रतिकित्ता ४९० रुपैयाँ रहेको संस्थाको सेयर मूल्य मंगलबार बढेर प्रतिकित्ता ४९४ रुपैयाँ पुगेको छ । संस्थाको आगामी वार्षिक साधारणसभा पुस २० गते बस्दै छ । सो प्रयोजनको लागि पुस ५ गतेदेखि २० गतेसम्म संस्थाको बुक क्लोज हुने छ । हाल संस्थाको चुक्ता पुँजी ३४ करोड ५७ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर पछि संस्थाको चुक्ता पुँजी ३९ करोड ७६ लाख रुपैयाँ पुग्ने छ ।
दुई दिन लगातार दोहोरो अंकले बढेको सेयर बजार फेरि किन घट्यो ?
काठमाडौं । यस साताको शुरुदेखि लगातार दुई दिन दोहोरो अंकले बढेको सेयर बजार मंगलबार पुन ओरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ३.०८ अंकले घटेर ११४१.१० अंकमा झरेको छ । पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा आएपछि उकालो लागिरहेको बजारमा मंगलबार भने नेप्से परिसूचक र कारोबार रकम दुबैमा गिरावट आएको छ । सो दिन १६४ कम्पनीको सेयर ३८ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बैंककाे सेयर काराेबार भएकाे छ । जसकाे एकैदिन १३ कराेड ४८ लाख रूपैयाँ बराबरकाे सेयर किनबेच भएकाे छ । बजारमा अधिकांश समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह २८ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा २५, होटल १४, माइक्रोफाइनान्स १० अंकले ओरालो लागेका छन् । उत्पादनमूलक, फाइनान्स र अन्य समूह क्रमशः १३, ०.१७ र ०.६२ अंकले राताम्मे भएका छन् । सबैभन्दा बढी मन्जुश्री फाइनान्सका लगानीकर्ताले ७.२५ प्रतिशत गुमाएका छन् । फाइनान्सले प्रस्तावित ९ प्रतिशत नगद लाभांश घटाएर २.१ प्रतिशतमा पुर्याएपछि संस्थाको सेयर मूल्य घटेको छ । जसबाट सेयरधनीहरु निराश भएका सेयर मूल्यले संकेत गरेको छ । मंगलबार यस संस्थाको सेयर मूल्य ७.२५ प्रतिशतले घटेर प्रतिकित्ता ११५ रुपैयाँमा झरेको छ ।
मञ्जुश्री फाइनान्सले नगद लाभांश दर घटायो, अब कति दिन्छ ?
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले प्रस्तावित नगद लाभांश दर ६.१ प्रतिशतले घटाएको छ । दर घटाएपछि फाइनान्सले सेयरधनीलाई कर समेत २.९ प्रतिशत मात्र नगद लाभाश दिने भएको छ । यस अघि संस्थाले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो । उक्त प्रस्तावलाई घटाएर संस्थाले हाल कायम चुक्ता पुँजीको २.९ प्रतिशत नगद लाभांश दिने नयाँ प्रस्ताव राखेको छ । हाल संस्थाको चुक्ता पुँजी ८० करोड ४० लाख रुपैयाँ रहेको छ । संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नु पर्ने हुन्छ । संस्थाको आगामी साधारणसभा आगामी पुस १६ गते बस्दै छ । सो प्रयोजनको लागि पुस ३ गते संस्थाको बुक क्लोज हुने छ ।