अनलाइन प्रणाली शुरु भएपछि सेयर बजार बढ्यो, नेप्से दोहोरो अंकले उकालो

काठमाडौं । नेप्सेले पूर्ण अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएपछि सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । सञ्चालनमा आएकै दिन नेप्से परिसूचक १०.८५ अंकले उकालो लागेर ११३१.७० अंकमा पुगेको छ । उक्त प्रणाली शुरु भएको करिब एक महिनापछि नेप्सेले पूर्ण सञ्चालनमा ल्याएको हो । यसअघि ब्रोकरले मात्र प्रयोग गरेको अनलाइन प्रणाली अब लगानीकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । त्यसकालागि लगानीकर्तालाई युजर नेम र पासवर्ड लिनु पर्ने हुन्छ । आइतबार कुल १५५ कम्पनीको २२ करोड ३७ लाख रुपैयाँ कारोबार भएको छ । सबैभन्दा बढी नेपाल बैंकको २ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २९५ रुपैयाँ रहेको छ । सो दिन दुई समूह बाहेक कारोबारमा आएका सबै समूहको सूचक हरिया भएका छन् । निर्जीवन बीमा समूह ३९.८९ अंकले उकालो लागेको छ । त्यस्तै, बैंकिङ् र विकास बैंक समूह क्रमशः १३ र १२ अंकले घटेका छन् । फाइनान्स र उत्पादनमूलक समूह क्रमशः १०.०३ र ०.२४ अंकले ओरालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेको छ ।

बुटवल पावरले १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । बुटवल पावर कम्पनी(बीपीसी) लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितीको बैठकले गरेको छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा कम्पनीकाे आगामी वार्षिक साधारणसभाले पारित गर्ने छ । कम्पनीको आगामी २६औँ वार्षिक साधारणसभा पुस २७ गते बस्दै छ । सो प्रयोजनको लागि कम्पनीको आगामी पुस ६ देखि २७ गतेसम्म बुक क्लोज हुँदै छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ८१ करोड ५ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ९९ करोड रुपैयाँ पुग्ने छ ।

आजदेखि सेयर कारोबार अनलाईनबाटै

काठमाडौं । आजदेखि सेयर कारोबार अनलाइनबाटै हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटड(नेप्से)ले अनलाइन सेयर कारोबारका लागि आवश्यक सबै प्राबिधिक तयारी सम्पन्न गरेर आजबाटै अनलाइन सेयर कारोबार आरम्भ गर्न लागेको हो । त्यसका लागि ब्रोकर र लगानी कर्ताबिच हुने सम्झौताको मस्यौदामा सहमति भैसकेको छ । यस अघि अनलाइन सेयर कारोबारमा लगानीकर्ता र ब्रोकरले गरेका गुनासाहरुको सम्बोधन गरिसकेको नेप्सेले बताएको छ । सेयर कारोबार अनलाइनबाटै सम्भव हुने भएपनि कारोबार वापतको भुक्तानी तथा नगद प्राप्तिका लागि भने चेक नै उपयोग गर्नुपर्छ ।