बैंकिङ व्याजदर वृद्धिको असर नेप्सेमा, सेयर बजार पुनः करेक्सनको बाटोमा

काठमाडौं । साताको दुई दिन निरन्तर दोहोरो अंकले बढेको बजार मंगलबार दोहोरो अंकले घटेर पुनः करेक्सनको बाटोतर्फ लागेको छ । मंगलबारकाे नेप्से परिसूचक १४.६१ अंकले घटेर ११६८.१७ अंकमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले बढाएको निक्षेप व्याजदरका कारण सेयर बजार घटेको जानकारहरु बताउँछन् । बैंकहरुले मासिक व्याज भुक्तानीमा वार्षिक १३.५ प्रतिशतसम्म व्याज दिने भएका छन् । उक्त आकर्षक व्याज पाउने लोभमा लगानीकर्ताहरु सेयर बजारमा भन्दा बैंकतिर आकर्षित भएका देखिन्छ । यसले गर्दा मंगलबारकाे सेयर बजारमा गिरावट देखिएकाे हाे । बजार दोहोरो अंकले घट्दा निर्जीवन बीमा समूह उच्च अंकले ओरालो छ । यो समूह एकैदिन १९२ अंकले घटेको छ । जीवन बीमा ४९, विकास बैंक २०, माइक्रोफाइनान्स १८, हाइड्रोपावर १६ र बैंकिङ् समूह १५ अंकले राताम्मे भएका छन् । सो दिन उत्पादनमूलक र अन्य समूह क्रमशः ९ र ५ अंकले हरिया देखिएका छन् । मंगलबार नेप्से परिसूचकमा गिरावट भएपनि सेयर कारोबारमा भने सुधार भएको छ । दिनभर १५९ कम्पनीको ५३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ११ करोड रुपैयाँ बढी हो । सोमबारको बजारमा ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

चिलिमे जलविद्युतले पुस २७ गते बोलायो वार्षिक साधारणसभा

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीको आगामी पुस २७ गते २२औँ वार्षिक साधारणसभा हुने भएको छ । सो प्रयोजनको लागि कम्पनीले पुस १९ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्न लागेको छ । कम्पनीको वार्षिक साधारणसभा उक्त दिन बिहानको ११ बजे काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसियल क्लबमा बस्दै छ । सभाले सञ्चालक समितिको २५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने छ । समितिको बैठकले चुक्ता पुँजीकाे २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी साे मात्राकाे लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ लाख रुपैयाँ रहेको छ ।

आँधिखोला लघुवित्तले ४० कराेडकाे आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणहरुमा ४० कराेड रूपैयाँ बराबरकाे साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ४० लाख कित्ता आईपीओ जारी गर्न लागेकाे हाे । लघुवित्तले सो मात्राको सेयर निष्काशनको लागि एनआईबिएलएस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा आँधिखोला लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोलराज के.सी. र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । हाल आँधिखोला लघुवित्तको अधिकृत पुँजी १५ करोड रुपैयाँ, जारी पुँजी १० करोड रुपैयाँ र चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारी गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पुँजी १० करोड रुपैयाँ हुनेछ । स्याङजामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै १९ वटा शाखा कार्यालय मार्फत् १२,२४६ विपन्न वर्गका महिला तथा पुरुष समूहहरुलाई करिब ४९ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी, संस्थाले बचत संकलन १४ करोड ४५ लाख रुपैयाँ गरी करिव ८० लाख रुपैयाँ नाफा गरेको छ ।