नेप्से १७ अंकले घट्दा ४५ करोडको सेयर किनबेच, सबैभन्दा बढी नेपाल बैंकको
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । साताको पहिलो दिनको बजार पनि खुलेपछि निरन्तर ओरालो लागेर बन्द भएको छ । आइतबारको बजार १७.७३ अंकले घटेर ११३०.६३ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने केही दिन अघिदेखि केही सुधार भइरहेको देखिएको छ । पछिल्लो समय कारोबार रकम घटेर २०/२५ करोडको सेयर किनबेच हुने बजारमा अहिले दोब्बर कारोबार भइरहेको छ । आइतबारको बजारमा कुल १५६ कम्पनीको ४५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन सबैभन्दा बढी नेपाल बैंक लिमिटेको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड १९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता २९२ रुपैयाँ रहेको छ । त्यसपछि एनएमबि बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा कारोबारमा आएका ट्रेडिङ समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूह १३९ र जीवन बीमा समूह १०५ अंकले ओरालो लागेका छन् । त्यस्तै, होटल ३३, माइक्रोफाइनान्स २८, जलविद्युत १६, बैंकिङ् १५ र विकास बैंक ११ अंकले घटेका छन् भने बाँकी समूह सामान्य अंकले घटेका छन् । ट्रेडिङ समूह भने २.९६ अंकले घटेको छ । बजारमा सबैभन्दा बढी विजया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.४९ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६५२ रुपैयाँ रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्सका लगानीकर्ताले आइतबार ७.७९ प्रतिशत गुमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ४३३ रुपैयाँ रहेको छ ।
आइतबार तीन कम्पनीको सेयर मूल्य समायोजन, क-कसको भयो ?
काठमाडौं । आइतबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा एकैदिन नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको हो । यी तीन कम्पनीको बोनस सेयर पछि सेयरको मूल्य समायोजन भएको हो । नेशनल माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १४१३.४७ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३८६.७४ रुपैयाँ रहेको थियो । त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको २० प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि यस संस्थाको मूल्य प्रतिकित्ता १४२.६४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १८८.३२ रुपैयाँ थियो । २२.०६ प्रतिशत बोनस पछि नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७९१.४९ रुपैयाँ रहेको छ । कम्पनीको आधार मूल्य प्रतिकित्ता २५५४.७४ रुपैयाँ थियो ।
जोशी हाइड्रोपावरको आईपीओ आजदेखि, कति भर्ने ? किन नभर्ने?
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइतबारदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) अावेदन खुला भएको छ । हाइड्रोपावरले १६ करोड ९० लाख ४७ हजार बराबरका १६ लाख ९० हजार ४ सय ७० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । उक्त आईपीओका छिटोमा बुधबार र ढिलोमा पुस १५ गते निष्कासन बन्द हुनेछ । उक्त शेयर आवेदकले न्यूनतम ५० कित्ता देखि अधिकतम ८ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । जोशी हाइड्रोपावरको अवस्था जोशी हाइड्रोपावर क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले गरेको रेटिङमा ‘इक्रा रेटिङ आईपीओ ग्रेड ५’ प्राप्त कम्पनी हो । यो ग्रेडिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा पनि कमजोर रहेको देखाउँछ । इलाम जिल्लामा पूवा खोलामा ३ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको उक्त कम्पनीले यसअघि स्थानीयवासीका लागि निष्कासन गरेको शेयरमध्ये करिब ३३ प्रतिशत शेयरका लागि मात्र आवेदन परेको थियो । आवेदन नपरेका शेयर समेत सर्वसाधारणका लागि खुला गरिएको छ । आयोजनाले हालसम्म प्रति मेगावाट १८ करोड रुपैंया लागत अनुमान गरेको छ । यही लागतमा निर्माण सम्पन्न भए यो लागत औसत लागत बराबर नै हुनेछ । आईपीओ निष्कासनबाट प्राप्त हुने रकममध्ये १२ करोड रुपैंया ऋण तिर्न र बाँकी अन्य दायित्वहरु भुक्तानी गर्न प्रयोग हुनेछ । निर्माणको चरणमा रहेको यो हाइड्रोपावर यो वर्षसम्म घाटामा रहे पनि आगामी वर्षदेखि नाफामा जाने प्रक्षेपण गरिएको छ । नाफामा गए पछि आगामी २ वर्ष क्रमशः ५.१२ र ६.०४ रुपैंया प्रतिशेयर आम्दानीको प्रक्षेपण गरिएको छ । उक्त कम्पनीले लगानी फिर्ता गर्ने समय ११ वर्ष र त्यसको ब्याजदर अनुमान गरी डिस्काउन्टसहितको शेयर फिर्ता गर्ने समय ३० वर्ष छ । ३० वर्षपछि आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था छ । बिक्ला सबै शेयर ? तुलनात्मक रुपमा कम शेयर भए पनि कमजोर प्रतिफलका कारण उक्त कम्पनीको शेयरमा लगानीकर्ताकाे अाकर्षण कम हुन सक्छ । यद्यपि २९ करोड रुपैंया हाराहारीमा लागत भएको आँखुखोला हाइड्रोपावरको शेयरमा समेत निष्कासनभन्दा बढी माग भएको अवस्थामा यो हाइड्रोपावरको सबै कित्ता शेयरका लागि अावेदन पर्न सक्छ । कति भर्ने ? कुनै पनि कम्पनीको शेयरका लागि आवेदन गर्ने वा नगर्ने भन्ने निर्णय कम्पनीको प्रतिफलको अवस्था तथा बजारमा निष्कासन भएका अन्य कम्पनीको प्रतिफलको अवस्था विचार गरेर निर्णय गर्ने विषय हो । त्यसबाहेक लगानीकर्ताको लगानी विविधिकरणमा पनि यो निर्णय निर्भर हुन्छ । एकातिर इक्राको रेटिङले यो कम्पनी कमजोर रहेको देखाउँछ भने अर्काेतर्फ लगानी फिर्ता अवधि ३० वर्ष रहेको कम्पनीकाे विवरण पत्रमा उल्लेख छ । ३० वर्षपछि आयोजना सरकार मातहत जाने भएकोले पनि लगानीकर्ताको आकर्षण यसमा नहुन सक्छ । तर सेयर बजारमा केही वृद्धि भएकाे अवस्थामा अहिले लगानी गर्नेले राम्रा लाभ लिने सम्भावना हुन्छ । कम्पनी शेयरका लागि आवेदकले आवेदन गर्ने सबै वा अधिकांश शेयर पर्ने सम्भावना छ त्यसैले आवेदकले आफ्नो पोर्टफोलियो अनुसार आवेदन गर्न सक्नेछन् ।