सेयर बजार १३ अंकले बढ्यो, उन्नति माइक्रो फाइनान्सका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

काठमाडौं । तिहार पछि लगातार ओरालो लागेको बजार मंगलबार भने दोहोरो अंकले उकालो लागेको छ । साे दिनकाे कारोबार शुरु भए देखिनै सेयर बजार उकालो लागिरहेको थियो । समग्रमा मंगलबारकाे बजार बन्द हुँदा नेप्से परिसूचक १३.९७ अंकले उकालो लागेर १२०७ अंकमा पुगेको छ । बजारमा परिसूचकमा सुधार आएतापनि कारोबार रकममा भने खासै सुधार देखिएको छैन । तर सोमबारको तुलनामा मंगलबारको कारोबार रकम ४ करोड रुपैयाँले बढेको छ । मंगलबारको बजारमा कुल १५० कम्पनीको १७ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार जम्मा १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । सोमबारको जस्तै मंगलबार पनि प्रभु बैंकको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको एकैदिन एक करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दोहोरो अंकले बढेको मंगलबारको बजारमा उन्नति माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । एकैदिन कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । ४२ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ताहरु यस संस्थाको सेयरमा आर्कषित भएका हुन् । जस कारण संस्थाको सेयर मूल्य एकैदिन १५७ रुपैयाँले बढेर प्रतिकित्ता १७३२ रुपैयाँ पुगेको छ । सो दिन फाइनान्स समूह बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ७७ अंकले उकालो लागेको छ । अनलाइन प्रणाली शुरु भएपछि नेप्सेको साइटमा प्रविधिक समस्या देखिइरहेको छ । उक्त प्रणाली शुरु भएको चौथो दिन(आज) पनि साइटमा बेलाबेलामा समस्या देखिएको थियो ।

लाभांश घोषणा सँगै उन्नति माइक्रो फाइनान्सको सेयर मूल्य बढ्यो, बेच्नेको भन्दा किन्नेको चाप

काठमाडौं । मंगलबार उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य बढेको छ । संस्थाले ४२.६३ प्रतिशत लाभांश दिने भएपछि माइक्रोफाइनान्सकाे सेयर मूल्य एक्कासी उकालो लागेको हो । संस्थाले आफ्ना सेयरधनीलाई ४०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बोनस घोषणा सँगै बजारमा संस्थाको सेयर बेच्नेको भन्दा किन्नेको चाप देखिएको छ । यस अवधिसम्म संस्थाको ४६२९ कित्ता सेयर किन्ने लगानीकर्ताको घुईचो देखिएको छ । उक्त प्रस्ताव हालै बसेको सञ्चालक समितिको १२२औँ बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नु पर्ने छ । हाल संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ रहेको छ । ४०.५० प्रतिशत बोनस पश्चात ७ करोड ७२ लाख रुपैयाँ पुग्ने छ । संस्थाले लाभांश सार्वजनिक गरेपछि संस्थाको सेयर मूल्य उकालो लागेको छ । सोमबार प्रतिकित्ता १५७५ रुपैयाँ रहेको संस्थाको सेयर मूल्य मंगलबार करिब साढे एक घण्टामै प्रतिकित्ता ३१ रुपैयाँले बढेर प्रतिकित्ता १६०६ रुपैयाँ पुगेको छ ।  

विभिन्न २१ कम्पनीले ३ अर्ब १२ करोडको आर्इपीओ बिक्री गर्दै

काठमाडौं । विभिन्न २१ कम्पनीको तीन अर्ब १२ करोड ४१ लाख रुपैयाँ मूल्य बराबरको साधारण सेयर (आर्इपीओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले सेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक लगानी कम्पनीसँग सम्बन्धित छन् । ती मध्ये जोशी हाइड्रोपावरले साधारण सेयर बिक्रीको अनुमति पाइसकेको छ । बोर्डमा आवेदन दिएका जलविद्युतसँग आवद्ध कम्पनीमा सिइडिबी हाइड्रो फण्डले २२ करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । सयपत्री हाइड्रोपावरले ३ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । शुभम् पावरले पाँच करोड ८० लाख रुपैयाँ, रुरु जलविद्युत् परियोजनाले ४ करोड ७ लाख रुपैयाँ र माउन्टेन हाइड्रोले १८ करोड १६ लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री गर्नेछ । त्यस्तै बोर्डमा आवेदन दिएको पाँचथर पावर कम्पनीले १९ करोड २५ लाख रुपैयाँ तथा ग्रीनलाइफ हाइइड्रोपावरले १८ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । मैलुङखोला जलविद्युत् कम्पनी आवेदन स्वीकृतिको प्रक्रियामा रहेको छ । सो कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ, युनिभर्सल पावर कम्पनीले ९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ, शिवश्री हाइड्रोपावरले १४ करोड ७६ लाख ४० लाख रुपैयाँ र घलेम्दी हाइड्रोपावरले १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । बोर्डमा आवेदन दिएको गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले दुई करोड, लघिङ बुद्ध पावरले नौ करोड ७८ लाख रुपैयाँ र युनियन हाइडेल कम्पनीले पाँच करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको तयारी गरेको छ । साधारण सेयर बिक्रीका लागि आवेदन दिनेमा आशा लघुवित्त वित्तीय संस्थासमेत छ । सो संस्थाले रु ६ करोड बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । यस्तै जनसेवी लघुवित्त वित्तीय संस्थाको रु चार करोड २० लाख र स्पर्श लघुवित्त वित्तीय संस्थाको दुई करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्री स्वीकृतिको चरणमा छ । अनुमतिको प्रक्रियामा रहेको मर्चेन्ट बैंकमा सिबिआइएल क्यापिटल लिमिटेड पनि छ । सो कम्पनीले ३ करोड रुपैयाँ बराबरको साधारण शेयर बिक्रीको तयारी गरेको छ । त्यस्तै स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाको एक करोड ८० लाख रुपैयाँ बराबरको साधारण सेयर बिक्रीका लागि स्वीकृतिको चरणमा छ । बोर्डले चालु आवको हालसम्म एक अर्ब ६१ करोड ४९ लाख ९० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार विभिन्न चार कम्पनीले साधारण शेयर बिक्रीका लागि अनुमति लिएका छन् । अनुमति लिएकामध्ये कालिका पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर बिक्री गरिसकेको छ । यस्तै चौतारी लघुवित्त वित्तीय संस्थाले पाँच करोड ४० लाख रुपैयाँ र हिमालयन ऊर्जा विकास कम्पनीले स्थानीयवासीलाई ९ लाख ९० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी मध्यभोटेकोशी जलविद्युत् कम्पनीले कात्तिक २८ गतेदेखि एक अर्ब ४४ करोड बराबरको साधारण शेयर बिक्री गर्दैछ । रासस