सूर्योदय लघुवित्तले ४२ प्रतिशत बोनस पछि ५० प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले ४२ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि २.२५ प्रतिशतले हुन आउने १७ लाख एक हजार नगद लाभांश पारित गर्ने संस्थाले बताएको छ । उक्त प्रस्ताव कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई आगामी पुस ७ गते हुने संस्थाको वार्षिक साधारणसभाले पारित गर्ने भएको छ । हाल संस्थाको चुक्ता पुँजी ७ करोड ५३ लाख रुपैयाँ रहेको छ । ४२.७५ प्रतिशत बोनस पछि चुक्ता पुँजी १० करोड ७९ लाख रुपैयाँ कायम हुने छ । उक्त पुँजीमा संस्थाले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ । सो मात्राको हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी १६ करोड १८ लाख रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । संस्थाले अधिकृत पुँजी बढाएर २५ करोड रुपैयाँ पुर्याउने संस्थाले जनाएको छ । साथै, कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीहरुको समूहको सेयर स्वामित्व र ४९ प्रतिशत साधारण सेयर सर्वसाधारण समूहको सेयर स्वामित्वमा हुने गरी पुँजी संरचना परिवर्तन गर्ने व्यवस्था रहेको छ । त्यस्तै, उक्त सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ ।
एभरेष्ट इन्स्योरेन्स र साल्ट ट्रेडिङका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । बिहीबारकाे बजारमा दुई कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन्। सो दिन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले ९.७९ प्रतिशत कमाएका छन् । सम्रगमा बिहीबारको बजार सामान्य अंकले अाेरालाे लागेको छ । दिनभर उतारचढाव दखिएकाे बजारमा नेप्से परिसूचक ३.३१ अंकले घटेर १२०५ अंकमा अडिएको छ । बजारमा कुल १५८ कम्पनीको २३ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो मध्ये सबैभन्दा बढी प्रभु बैंकको सेयर किनबेच भएको छ । जसको एकैदिन २ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ पुग्ने छ । सो दिन होटल समूह बाहेक बाँकी समूहको सूचक राताम्मे भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक २४ अंकले ओरालो लागेको छ । बिहीबार मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ३.८८ प्रतिशत गुमाएका छन् ।
समता माइक्रोफाइनान्सको एक लाख ८९ हजार कित्ता हकप्रद सूचिकृत
काठमाडौं । बिहीबार समता माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । संस्थाको एक लाख ८९ हजार ६०० कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ । संस्थाको चुक्ता पूँजी ५ करोड ६८ लाख रुपैयाँ रहेको छ । बिहीबार कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता १६२८ रुपैयाँ पुगेको छ ।