सेयर बजार दोहोरो अंकले उक्लियो, सबै सूचक हरिया
काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले उकालो लागेको छ । बजार शुरु भएदेखि सामान्य उकालो लाग्दै आएको बजार अन्त्यमा नेप्से परिसूचक १२.३७ अंकले उकालो लागेर १२१९.६५ अंकमा पुगेको छ । सोमबार नेप्से परिसूचकमा सुधार देखिएपनि सेयर कारोबारमा भने गिरावट आएको छ । आइतबार ५६ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको बजारमा सोमबार भने जम्मा २४ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन १५५ कम्पनीको ८ लाख २२ हजार कित्ता सेयर बिक्री भएको छ । सो दिन प्रभु बैंकको सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस बैंकको एकैदिन ४ करोड १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २ करोड, एनआईसी एशिया बैंकको एक करोड ५५ लाख र जनता बैंक नेपालको एक करोड २१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार कारोबारमा आएका १० वटै समूहको परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूहको सूचक ८७ अंकले उकालो लागेको छ । त्यस्तै, जीवन बीमा समूह ६९, होटल ३७, माइक्रोफाइनान्स १७, विकास बैंक १३ र बैंकिङ् समूह ११ अंकले उकालो लागेका छन् । त्यस्तै, बाँकी समूहहरु सामान्य अंकले बढेका छन् । सो दिन सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६ प्रतिशत कमाएका छन् । उता सिर्जना फाइनान्स(वित्तीय संस्था)का लगानीकर्ताले सबैभन्दा बढी १.८७ प्रतिशत गुमाएका छन् ।
अनलाइन ट्रेडिङ भोलिदेखि, अर्थमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले भोलि (मंगलबार) देखि दोस्रो बजारको शेयर खरिदबिक्री प्रक्रिया अनलाइन प्रक्रियामार्फत् गर्न सकिने प्रणाली (अनलाइन ट्रेडिङ)को सुरुवात गर्दैछ । भोलि बजार खुल्ने समयमा अर्थमन्त्री युवराज खतिवडाले उक्त कारोबार प्रणालीको उद्घाटन गर्ने नेप्सेले जनाएको छ । त्यसका लागि नेप्सेले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १०:३० बजे कार्यक्रमको आयोजना गरेको छ ।
अपर तामाकोशी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले तेस्रो चरणमा सर्वसाधारण शेयरधनीका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को सोमबार अन्तिम दिन हुने भएको छ । शेयर निष्कासन भएको तेस्रो दिनसम्ममा नै निष्कासन गरिएको कुल शेयर संख्याभन्दा बढी शेयरका लागि सर्वसाधारणको आवेदन परेपछि चौथो दिनमा नै उक्त शेयर निष्कासन बन्द हुने भएको हो । उक्त शेयरका लागि आइतबार कार्यालय समयसम्म २ लाख ६ हजार आवेदकमार्फत् करिब ४ अर्ब रुपैंयाको शेयरका लागि माग आवेदन भएको थियो । हाइड्रोपावरले तेस्रो चरणका लागि १ अर्ब ५८ करोड बराबरका १ करोड ५८ लाख कित्ता शेयर खुला गरेको छ । यसअघि स्थानीयवासी र सञ्चय कोषका सञ्चयकर्तालाई उक्त शेयर वितरण गरिसकिएको छ ।