सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनी सचिव सुदर्शन आचार्यले जानकारी दिए ।  उनका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशतका दरले ७० करोड १६ लाख ३७ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरिएको हो ।  कम्पनीले प्रस्ताव गरिएको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव आचार्यले बताए । 

७ प्रतिशत लाभांश बाँड्ने नेशनलको घोषणा, २ जना स्वतन्त्र सञ्चालक

काठमाडौं । नेशनल क्यापिटलले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले चुक्ता पुँजी २० करोड रुपैयाँको ७ प्रतिशतका दरले १ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २० गते बिहान साढे १० बजे प्रथम (आर्थिक वर्ष २०८०/८१) र दोस्रो (आर्थिक वर्ष २०८१/८२) वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ र आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।  यस्तै, सञ्चालकहरूको बैठक भत्ता निर्धारण, २ जना स्वतन्त्र सञ्चालक रहने सञ्चालक समिति गठन र नियमावली संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ ।

शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न, १२.५० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको १०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा १०औँ साधारण सभा सम्पन्न भएको हो । सभाले सेयरधनीलाई कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यससँगै अब कम्पनीले सेयरधनीहरुलाई २.५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएको हो । बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी बढेर ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ पुग्नेछ । पुँजीमा भएको वृद्धि आगामी वर्षका लागि उत्पादन तथा व्यवसाय विस्तार योजनामा उपयोगी हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ ।