तारागाउँ रिजेन्सी होटलले ५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ ।  मंसिर २२ गते बसेको होटलको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई करबाहेक ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनीका अनुसार आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सो दरमा सेयरधनीहरुलाई लाभांश वितरण गरिनेछ ।    

४ कम्पनीमा सकारात्मक सर्किट, न्यादी  ग्रुपको सबैभन्दा धेरै कारोबार

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ अंकले घटेर २६०६ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४७ कम्पनीको मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादी ग्रुपको भएको छ । न्यादीको ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, सागर डिस्टीलरीको २३ करोड, पियोर इनर्जीको ९ करोड ७६ लाख, राधी विद्युत कम्पनीको ९ करोड ९ लाख र झपा इनर्जीको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अपर स्याङ्गे हाइड्रो, स्वत्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । सोमबारको कारोबारमा जलविद्युत् ०.१२, जीवन बीमा ०.५०, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.०५ तथा व्यापार ०.४१ प्रतिशतले बढेका छन्  । बैंकिङ ०.६७, विकास बैंक ०.११, फाइनान्स ०.५७, होटल तथा पर्यटन ०.२३, लगानी ०.१६, माइक्रोफाइनान्स ०.२९ तथा अन्य ०.२१ प्रतिशतले घटेका छन् ।

रिलायन्स स्पिनिङ्गको आईपीओ बिक्री खुला, सेयर मूल्य प्रतिकित्ता ८२०.८० रुपैयाँ

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले आज मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । सर्वसाधारण लगानीकर्ताहरुलाई छुट्याएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिक्रीमा राखेको हो । बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही निर्देशिकाको दफा (१४) मा भएको व्यवस्था बमोजिम कट अफ मूल्यमा १० प्रतिशत छुट दिँदा हुन आउने प्रतिकित्ता ८२०.८० रुपैयाँ सेयर मूल्य सर्वसाधारण लगानीकर्ताहरुका लागि तोकिएको छ ।  कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम् ५० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । यदि लगानीकर्ताले न्यूनतम् सेयरका लागि आवेदन दिने हो भने कम्तीमा ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्नेछ । यदि अधिकतम सेयरका लागि आवेदन दिने हो भने १ करोड ६४ लाख १४ हजार रुपैयाँ जोहो गर्नुपर्ने देखिन्छ ।  कम्पनीको आईपीओमा लगानीकर्ताहरुले मंसिर २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभएमा पुस ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।   कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङले सञ्चालन गरिरहेको मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।