सिटिजन्स क्यापिटलले पुस ४ गतेदेखि सिटिजन्स सन्तुलित योजना बिक्री गर्ने
काठमाडौं । सिटिजन्स क्यापिटलले पुस ४ गतेदेखि सिटिजन्स सन्तुलित योजना निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सन्तुलित योजना बन्दमुखी योजना हो । कम्पनीले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा बिक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीको म्युचुअल फण्डमा १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । कम्पनीको इकाईमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण बिक्री नभए पुस १८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्ने छन् ।
सालपा विकास बैंकको आईपीओ बिक्री खुला, २५ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । सालपा विकास बैंकले आज मंसिर २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । बैंकले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशतका दरले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १७ लाख २३ हजार ८८० कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री खुला गरिएको बैंकले जनाएको छ । बैंकको आईपीओमा मंसिर २९ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र बिक्री नभएमा पुस १० गतेसम्म आवेदन दिन समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले सीआश्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।
बैंकबाट साढे १६ करोड रुपैयाँ ऋण, १:५ अनुपातमा हकप्रद सेयर
काठमाडौं । फुल्योर हिमालयनले बैंकबाट लिएको साढे १६ करोड रुपैयाँ ऋण अनुमोदन गर्ने भएको छ । संचालक समितिको निर्णय अनुसार कम्पनीले लक्ष्मी सनराइज बैंकबाट १३ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ३ करोड ५२ लाख रुपैयाँ ऋण नवीकरण गर्ने भएको हो । बैंकबाट लिएको उक्त ऋण कम्पनीको ३०औं वार्षिक साधारण सभाबाट पारित गर्ने गरी सञ्चालक समितिले प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर २२ गते बसेको बैठकले पुस १८ गते पूलचोक ललितपुरमा साढे २ बजे साधारण सभा डाकेको छ । अघिल्लो साधारण सभाबाट पारित १:५ दरको हकप्रद सेयर निष्कासनको निर्णय पुन पारित गर्नेछ । साथै हकप्रद सेयर नबिकेको खण्डमा बिक्री गर्न संचालक समितिलाई पूर्ण अख्तियारी ३०औँ सभाले दिनेछ । यस्तै, संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र संचालक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरिक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्नेछ ।