१८ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी, क-कसले कति कमाए ?
काठमाडौं । मंगलबारको सेयर बजारमा विभिन्न १८ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी कमाएका छन् । सो मध्ये महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ । यी तीन वटै कम्पनीका सेयरधनीले एकैदिन १० प्रतिशत बढी कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्सको सेयर मूल्य प्रतिकित्ता ७७०, प्रुडेन्सियल इन्स्योरेन्सको ८४७ र र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य १० हजार २९७ रुपैयाँ रहेको छ । त्यस्तै, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, नयाँ नेपाल लघुवित्त विकास बैंक र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.९७, ९.९७ र ९.९६ प्रतिशत कमाएका छन् । त्यसैगरी, डिप्रोक्स डेभलपमेन्ट बैंकको ९.९४, आरएसडीसी लघुवित्त वित्तीय संस्था र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ९.९३ र यूनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)को ९.९१ प्रतिशतले सेयर मूल्य बढेको छ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको ९.८८, फष्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.८५, सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ९.८३ र नेरुडे लघुवित्त विकास बैंकको ९.५६ प्रतिशतले सेयर मूल्य बढेको छ । त्यस्तै, लघुवित्त लगानी तथा विकास बैंक, रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, वोमी माइक्रोफाइनान्स वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले अघिल्लो दिनको तुलनामा क्रमशः ९.४६, ९.३५, ९.१७ र ९.०८ प्रतिशत कमाएका छन् । कुल १६६ कम्पनीको कारोबार भएको थियो । सो मध्ये १३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने बाँकी कम्पनीको मूल्यमा वृद्धि भएको छ । सबैभन्दा बढी सहयोगी विकास बैंकको सेयर मूल्य ४.५९ प्रतिशतले घटेको छ ।
सेयर बजार ३३ अंकले बढ्दा सबैभन्दा बढी कारोबार सूर्या लाइफ इन्स्योरेन्सको, यस्तो छ कारण
काठमाडौं । लगानीकर्ताको विश्वास बढ्न थालेपछि मंगलबारको सेयर बजारमा उछाल आएका छ । मंगलबार बजार बढेर ३३.६१ अंक बढेर नेप्से परिसुचक १ हजार ३३१ मा पुगेको छ । मंगबार बजार बढ्दा सबै क्षेत्रमा हरियाली देखिएको छ । मंगलबार ९५ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३७ करोड ७२ लाख रुपैयाँ बढी हो । सोमबारको बजारमा ५७ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ ।मंगलबार व्यापार बाहेक, बैंक, वित्त, बीमा, जलविद्युत, उत्पादन र लघुवित्त समूहको सेयर मूल्य बढेको छ । कारोबार रकममा उच्च वृद्धि देखिएको सो दिनको बजारमा यस कम्पनीको मात्रै ५ करोड ९८ लाख बराबरको सेयर किनबेच भएको छ । चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएपछि लगानीकर्ता सूर्या लाइफमा झुम्मिएका हुन् । कम्पनीको करिब १००० रुपैयाँको प्रतिकित्ता सेयर १०० रुपैयाँमा आउने भएपछि सेयर लगानीकर्ताहरु यस कम्पनीमा झुम्मिएका हुन् । कम्पनीको आज हकप्रद सुरक्षित गर्ने अन्तिम दिन भएकाले सेयर कारोबार बढेको हो । कम्पनीले जारी गरिरहेको उक्त हकप्रद सेयरको म्याद भोलिदेखि बन्द हुँदैछ ।
अपडेटः नेप्से परिसूचक ३४ अंकले बढ्यो, बीमा समूहले उचाल्यो बजार
काठमाडौं । मंगलबारको सेयर बजार खुलेदेखि नै निरन्तर बढीरहेको छ । बजार खुलेको करिब साढे २ घण्टामै नेप्से परिसूचक ३४ अंकले उकालो लागेर १३३२ अंकमा पुगेको छ । आजको बजारलाई बीमा समूहले उचालेको छ । दिउँसो १ बजेर २३ मिनेट जाँदा बीमा समूह उच्च अंकले उकालो लागेको छ । सो अवधिसम्म यस समूहको परिसूचक ३३६ अंकले उकालो लागेको छ । त्यस्तै, ट्रडिङ समूह बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् । मंगलबारको बजारमा करेक्सन देखिएको छ । सो अवधिसम्म बजारमा १० भन्दा बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ ।