बुधबार सनराइज बैंकको १ करोड ६ लाख कित्ता शेयर नेप्सेमा सूचिकरण
काठमाडौं । सनराइज बैंक लिमिटेडको पौष ३ गते सम्पन्न दशौ बार्षिक साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम शेयरधनीहरुलाई वितरण गरिएको १५ प्रतिशतका दरले हुने १ करोड ६ लाख ३३ हजार ७६८ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको चैत २८ गतेको निर्णयानुसार सूचिकरण भएको छ । उक्त बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी ८ अर्ब १५ करोड भन्दा बढी भएको बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको बाणिज्य बैंकहरुलाई न्यूनतम चुक्ता पूँजी रु. ८ अर्ब पुर्याउन निर्देशन भए अनुसार बैंकले गत आब २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिमको समय सिमा भित्र तोके बमोजिमको चुक्ता पूँजी पुर्याउन सक्षम भएको बताएको छ ।
प्रिमियर इन्सोरेन्सले ६ करोड ९५ लाख बोनस शेयर जारी गर्यो, अब चुक्ता पूँजी ५८ करोड ४० लाख पुग्ने
काठमाडौं । सोमबार प्रिमियर इन्स्योरेनस कम्पनीको २४ औं वार्षिक साधारण सभा नक्साल व्याङ्क्वेट, नक्सालको सभा कक्षमा सम्पन्न भएको छ । कम्पनीको गएको आर्थिक वर्ष २०७३/७४ मा कुल बीमा शुल्क १ अर्ब ३४ करोड ८८ लाख २१ हजार रुपैयाँ आर्जन गरि खुद मुनाफा रु १५ करोड ५८ लाख आर्जन गरेको जनाएको छ । उक्त मुनाफाबाट बीमा कोषमा रु ७ करोड ७९ लाख सारी बाँकी रकम तथा गत आर्थिक वर्षसम्मको वितरण नभएको जगेडा समावेश गरि हाल हकप्रद शेयर जारी पश्चात कामय चुक्ता पूँजीको १३.५२ प्रतिशतका दरले रु ६ करोड ९५ लाख रकम बराबरको बोन शेयर जारी गरेको छ । साथै बोनश शेयरको कर प्रयोजनको लागि ३६ लाख ५९हजार ७४९ रुपैयाँ नगद लाभांशको व्यवस्था साधारण सभाबाट पारित भएको कम्पनीले जानकारी गराएको छ । कम्पनीको अनुसार सो जारी बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु ५८ करोड ४० लाख पुग्नेछ । साथै कम्पनीले चालु आर्थिक वर्ष २०७४/७५ मा हालसम्म १ अर्ब १० करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीको भनाइ छ ।
आईएमई जनरल इन्स्योरेन्सले ८० प्रतिशत हकप्रद जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले सेयरधनीको लागि ८० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ४३ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले हालै धितोपत्र बोर्डमा निवेदन दिएर ४३ करोड २० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो । बोर्डको अनुमति पाए पश्चात इन्स्योरेन्सले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ रहेको छ । ८० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ९७ करोड २० लाख रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७४० रुपैयाँमा कारोबार भएको छ ।