द्वारिका काफ्लेको नेतृत्वमा फोटो पत्रकार क्लबको नयाँ कार्यसमिति चयन

काठमाडौं । फोटो पत्रकारहरूको छाता संगठन पिजे क्लब, नेपालमा नयाँ नेतृत्व आएको छ । आइतबार सम्पन्न संस्थाको १३औं वार्षिक साधारणसभाले द्वारिका काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँपत्रिकाका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कबिन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भएका छन् । यसै गरी सदस्यहरूमा संन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार निर्विरोध चयन भएका छन् । नेपालका विभिन्न छापा सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लब, नेपालको निर्वाचन अधिवेशनका रूपमा समेत सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

नेपाली लघुचलचित्र ‘पाउलो’ भारतको चलचित्र महोत्सवको नोमिनेशनमा

काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) भारतको  सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल (आईसीएफसी) को नोमिनेशनमा परेको छ । यो फेस्टिभल अप्रिल १५ देखि २१ सम्म भारतको लखनउमा आयोजना हुदैछ  । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ‘पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । काठमाडौंमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन् । पाउलोको अफिसियल पार्टनरको रुपमा मालिका मिडिया, साइलेन्ट एक्ट रहेको छ । लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ, यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको निर्माण टीमले बताएको छ । यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । लघुचलचित्र ‘पाउलो’ मा पनि एउटा जीवन्त कथा र समाजको यथार्थ चित्रण रहेको छ । जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतीहरु पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । जुत्ताको कथा रहेको ‘पाउलो’ लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ । ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रुपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रुपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन् । उनले यसअघि निर्माण गरेका लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘द स्कुल वाल’ विभिन्न अन्तरास्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विभिन्न देशहरुमा प्रदर्शनसमेत भईसकेको छ । एक सटमा खिचिएको ’घुर्रा’ले नेपालमा केहि समयअघि आयोजना भएको नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा  उत्कृष्ट लघुचलचित्रको अवार्ड समेत प्राप्त गरेको थियोे ।

काठमाडौंका १८ वटा सम्पदा संरचनाको सम्पूर्ण जानकारी अब क्युआर कोडबाटै लिन सकिने

काठमाडौँ । काठमाडौं महानगरपालिकाको वडा नं. २३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्युआर (क्वीक रेस्पोन्स) कोड राखेको छ । सांस्कृतिक सम्पदाहरुको अरुलाई चिनाउँदा गलत रुपमा चिनाएपछि प्राचीन, पुरातात्विक तथा ऐतिहासिक तथ्यमा तोडमोड हुने भएकोले यो खतराबाट सम्पदाहरुलाई जोगाउन क्युआर कोडको प्रयोग थालिएको हो । बुधबार कुमारी घरको प्रवेश द्वारसँगै राखिएको कोड स्क्यान गर्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले उद्घाटन गरेकी हुन् । जनजीवनमा कुमारी घर भनेर चिनिने यस संरचनालाई नेपाल भाषीहरु कुमारी छेँ, कुमारी वहाः भन्छन् । यसको मौलिक नाम राजकीर्ति मनोरम विहार हो । यसलाई राजलक्ष्मी बिहारका नामले पनि चिनिन्छ । क्युआर कोड स्क्यान गरेपछि यसको स्थापना कहिले भयो, यससँगै सम्बन्धित प्राचीन अवस्था, परिवर्तित अवस्था र अहिलेको अवस्था (भौतिक अवस्था तथा अभौतिक चलन), यससँग सम्बन्धित पर्वपूजा, कुमारी प्रतिस्थापन विधि, कुमारीको वाह्य आगमन, कुमारीको दर्शन कहिले र कसरी हुन्छ, जस्ता विषयसँग सम्बन्धित जानकारी पढ्न र सुन्न सकिन्छ । कुमारी घरको जस्तै सबै सम्पदाका क्युआर कोडमा यस्तै विवरण छन् । वडा २३ ले सम्वर्द्धनसँगको सहकार्यमा सम्पदाको चिनारीलाई प्रविधि हेर्न, बुझ्न र जान्न सक्ने बनाएको हो । क्युआरमा भएका विवरणलाई अहिले नेपाली र अंग्रेजी टेक्स्टमा पढ्न र आवाजमा सुन्न सक्ने बनाएको छ ।