ताप्लेजुङको मेरिङदेनमा आगलागी, १५ लाखको क्षति
ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार आगालागी हुँदा दुई वटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा १५ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घर नजिकै रहेका दुई वटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सात वटा घर जलेका उक्त कार्यालयले जनाएको छ ।
रामेछापमा आगलागी हुँदा करोडौंको क्षति
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका–९ मा बिहीबार भएको अगालागीबाट एक करोड ८६ लाख ३१ रुपैयाँबराबरको क्षति भएको छ । आगलागीबाट पूर्णबहादुर नेवार, धनमाया श्रेष्ठ, रमेश श्रेष्ठ, उत्तरकुमारी श्रेष्ठ, सीताराम नेवार, मीनबहादुर नेवार, मानकुमारी नेवार, बमबहादुर श्रेष्ठका घर जलेर पूर्णरूपमा क्षति भएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुुुसार शुक्रबार स्थलगत रुपमा अनुगमन गरी क्षति विवरण संकलन गरिएको हो । आगलागीले कच्ची घरसहित लत्ताकपडा, अन्नपात, भाँडावर्तन, नगद र सुनका गहनालगायत क्षति भएको प्रहरीले जनाएको छ । बिहीबार सामुदायिक वनमा लागेको डढेलो बस्ती छिरेपछि आगलागीमा परी १२ घर जलेको थियो ।
इलाममा किवी उत्पादन बढ्यो
इलाम । सन्दकपुर गाउँपालिका–३ का तारामणि सापकोटाले ४० रोपनी क्षेत्रमा किवीखेती गर्दै आएका छन् । किसान खतिवडाले सुरुमा लगानी धेरै भए पनि दिगो फाइदा लिन सकिने र बजार अभाव नहुने भएकाले किवीखेतीमा लागेको बताए । ‘किवीमा लगानी गर्दा फाइदा हुने बुझेपछि घरमै विरुवा उत्पादन गरी किवीखेती सुरु गरेको हुँ,’ उनले भने । सोही वडाका अर्का किसान देवेन्द्र सुवेदीले अलैँची उत्पादन हुने पाँच रोपनी क्षेत्रमा किवीखेती गरेका छन् । ‘अलैँचीको विकल्पका रुपमा किवीखेती विस्तार गरेको छु,’ उनले भने, ‘अलैँचीमा विभिन्न रोग लाग्ने र मूल्यमा उतारचढाव हुन थालेपछि विकल्पमा किवीखेती गरेको हुँ ।’ किवी प्रतिकिलो १ सयदेखि २ सय ५० रुपैयाँसम्म बिक्री हुने गरेको सन्दकपुर गाउँपालिका–५ जमुनाका किसान युवराज भट्टराईले बताए । ‘यहाँ उत्पादन गरिएको किवी बेच्नका लागि बजारको समस्या छैन । व्यापारीहरूले बगानबाटै ग्रेडिङ गरी प्रतिकिलो ७० देखि १ सय रुपैयाँसम्ममा खरिद गर्दछन्,’ उनले भने ‘बजार पुर्याउन सकियो भने प्रतिकिलो २ सय ५० रुपैयाँसम्ममा सजिलै बिक्री हुन्छ ।’ जिल्लामा किवी खेती गरिरहेका सापकोटा र सुवेदी प्रतिनिधि पात्र मात्र हुन् । किवी खेतीमा उनीहरू जस्तै किसानहरुको आकर्षण बढेपछि किवी उत्पादन बढेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष ३२ दशमलव पाँच प्रतिशतले किवी उत्पादन बढेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख रामजुगल यादवले जानकारी दिए । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार सात सय ७८ दशमलव आठ मेट्रिक टन किवी उत्पादन भएको छ । यस वर्ष आठ सय ९० हेक्टर क्षेत्रमा किवी खेती गरिएको छ । अघिल्लो आव ०७९÷८० मा सात सय असी हेक्टर क्षेत्रमा किवी खेती गरिएकोमा दुई हजार आठ सय ५२ मेट्रिक टन किवी उत्पादन भएको थियो । किसानले करेसाबारीमा समेत किवी खेती गर्न थालेपछि उत्पादन वृद्धि भएको हो । गत आवमा उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ६५ थियो । चालु आवमा बढेर प्रतिहेक्टर चार दशमलव २५ पुगेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा छ । एक बोटमा दुई सय किलोसम्म उत्पादन हुने किवी मकैबारी, चियाबारी र अलैँचीसमेत मासेर रोप्न थालिएको छ । रोपेको ३ वर्षदेखि उत्पादन दिने किवीले लगातार ५० वर्षसम्म उत्पादन दिने किसानको भनाइ छ । जिल्लाको इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाको माथिल्लो क्षेत्रमा व्यावसायिक किवी खेती हुँदै आएको छ ।