डिशहोम फाइबर नेटको ‘क्याच द बिग अफर’ सार्वजनिक
काठमाडौं । डिशहोम फाइबरनेटले ‘क्याच द बिग अफर’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत, ग्राहकहरूले अब पत्याउन गाह्रो हुने मूल्यमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीको भनाई छ । डिशहोमले इन्टरनेट ल्यान्डस्केपलाई पुनः परिभाषित गर्ने साहसी कदम सुरु गरेको जनाएको छ । नयाँ योजनाअनुसार सय एमबीपीएस इन्टरनेट प्याकेज मात्र सात हजार ५२२ रूपैयाँमा ग्राहकहरूले १२ महिनाको लागि प्राप्त गर्न सक्छन्, जबकि दुई सय एमबीपीएस प्याकेजको मूल्य मात्र सात हजार ७८८ उही अवधिको लागि रहेको छ भने अझ छिटो गति खोज्नेहरूले मात्र नौ हजार ९१२ रूपैयाँमा १२ महिना कै लागि तीन सय एमबीपीएस प्याकेज रोज्न सक्छन् । यती मात्र नभएर डिशहोम फाइबरनेटले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ-जी राउटर पनि प्रदान गर्दैछ । यो अफरको घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्स बीचको उद्घाटन खेल सँगै कम्पनीले गरेको हो । बजेट अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवाहरूमा क्रान्तिकारी परिवर्तन गर्ने आफूहरु सफल भएको भन्दै डिशहोमले यो गज्जबको अफर प्राप्त गर्न, इच्छुक व्यक्तिहरूले आफ्नो नजिकको डिशहोम फाईबरनेट डिलरकहाँ गएर वा ०१–५९७०३६५ मा सम्पर्क गरेर प्रक्रिया अघि बढाउन सक्छन् । डिशहोम फाइबरनेटको खेल–परिवर्तन गर्ने प्याकेजहरू आएसँगै, आईएसपी उद्योगमा मूल्य युद्धको युग समाप्त भएको सन्केत देखाएको, जसले सबैका लागि उच्च गति इन्टरनेट पहुँचको नयाँ युगको सुरुवात गरेको कम्पनीको भनाई छ ।
ललितपुरमा दुई जनाको हत्या, १८ जना प्रहरी नियन्त्रणमा
पाटन । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुई जनाको हत्या भएको छ । राति ९ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए । ‘राति ११ बजे पाटन अस्पतालमा घाइतेलाई ल्याएपछि प्रहरीलाई जानकारी भयो । तत्कालै घटनास्थलमा खटिएर केही व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम भइरहेको छ । घटनाको कारण खुल्न सकेको छैन,’ उनले भने । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले बताए । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।
अधिक दोहनले जुम्ला जलाधार क्षेत्र उच्च जोखिममा
जुम्ला । प्राकृतिक स्रोतको अधिक दोहानका कारण जुम्ला जिल्लाको जलाधार क्षेत्र उच्च जोखिममा परेको छ । पछिल्लो समय यहाँका स्थानीय तहले जथाभाबी सडक निर्माणदेखि नदीबाट बालुवा र गिट्टी निकाल्दा जलाधार क्षेत्रमा असर परेको हो । भू-तथा जलाधार व्यवस्थापन कार्यालयले जिल्लाका आठवटै स्थानीय तहसँग जलाधार क्षेत्रलाई व्यवस्थित गर्ने आगामी वर्षको जलाधार तथा उपजलाधारको वार्षिक कार्यक्रमका लागि सुझाव मागेको कार्यालय प्रमुख हिमालय साउदले जानकारी दिए । प्रदेश सरकारले ल्याउने आगामी वर्षको नीति तथा कार्यक्रममा जलाधार क्षेत्रमा गरिने दिगोपन कार्यक्रमलाई कार्यान्वयन गर्न स्थानीय सरकारको सुझाव संकलन गर्न जिल्लास्थित सबै सरोकारवालासँग जलाधार तथा उपजलाधारसम्बन्धी छलफल कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख साउदले बताए । प्रथम पञ्चवर्षीय योजनामा भू तथा जलाधार व्यवस्थापन र कर्णाली ‘बेसिन’को रणनीतिक तथा जिल्लागत रूपमा प्रस्ताव गरिएका उपजलाधार क्षेत्रसहित आगामी वर्षको वार्षिक कार्यक्रमका लागि सुझाव संकलन यहाँका सरोकारवालासँग मागेको कार्यालय प्रमुख साउदले भने, ‘भू–उपयोग विकास, उपजलाधार योजना तर्जुमा, उपजलाधार प्राथमिकीकरण, ‘सेडिमेन्ट’ व्यवस्थापन र प्राकृतिक प्रकोप रोकथाममा भू तथा जलाधार संरक्षण कार्यक्रममा कार्यालयले प्राथमिकताका साथ काम गरेको छ ।’ सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले स्थानीय तहले जलाधार क्षेत्रमा स्थानीय तहले गर्न कार्यक्रमका लागि कार्यालयसँग सहकार्य गरेर काम गरिने बताए । आवश्यक प्राविधिक सहयोग जलाधार कार्यालयले गर्नुपर्ने तथा जिल्लाका उच्च जोखिम र कम जोखिम भएका क्षेत्रको पहिचान गरेर काम गर्नुपर्नेमा उनले जोड दिएका छन् । भू– तथा जलाधार व्यवस्थापन कार्यालयका अनुसार पालिकाले स्वीकृत गरेका जलाधारका योजनालाई प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्न सकेको छैन । आवश्यकताअनुसार योजना छनोटमा कार्यालयको ध्यान जान जरुरी रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद धितालले बताए । स्थानीय तहले जलाधार क्षेत्रमा देखिने गरी काम गर्न आवश्यक छ । नदीमा जथाभाबीरूपमा बालुवा, गिट्टी निकाल्ने काम भइरहेकाले त्यो रोकिनुपर्ने तथा नदी र वातावरण संरक्षणमा स्थानीय तहको भूमिका महत्त्वपूर्ण हुने जिल्ला समन्वय समिति प्रमुख गौरिनन्द आचार्य बताउँछन् । जनताको प्रत्यक्ष सहभागितामा योजना छनोट गरी काम गर्न तीनवटै सरकारलाई जिल्लाका राजनीतिक दलले सुझाव दिएका उनले बताए । स्थानीय तहले पनि आवश्यक बजेट जलाधार कार्यक्रमका लागि विनियोजन गरेको तथा योजनालाई कार्यान्वयन गर्ने स्थानीय तह र जलाधार कार्यालयबीच एकआपसमा समन्वयबाट काम गर्न आवश्यक रहेको तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर थापाले बताए । भू– तथा जलाधार व्यवस्थापन कार्यालयले गत शुक्रबार जिल्लाका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय अधिकृतसहित यहाँका राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवालासँग जलाधार तथा उपजलाधार क्षेत्र संरक्षण सम्बन्धमा छलफल गरेको थियो । रासस