नेपालले यूएईलाई हरायो, पाँच विकेटले विजयी

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) पाँच विकेटले पराजित गरेको छ । युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित रहदै ४० रन जोडे । नेपालले सुरुवाती तीन ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ललाई गुमाएको थियो । तर कप्तान पौडेल र आसिफ शेखले ९९ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्किएको थियो । यूएईका मोहम्मद जवादुल्लाहले दुई विकेट लिए भने अकिफ राजा र जहूर खानले समान एकरएक विकेट लिए । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको थियो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई-दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए । नेपालले यसअघि भएको पहिलो खेलमा युएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । त्यस्तै नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो । अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ । रासस

नेपाललाई जीतका लागि १६५ रनको लक्ष्य

काठमाडौं । जारी त्रिकोणात्मक टि-२० अन्तर्राष्टिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई जीतका लागि एक सय ६५ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो । उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५/४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई/दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एकरएक विकेट लिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

दशैंको फुर्सदमा हेर्नुपर्ने उद्यमशीलताको प्रेरणा जगाउन सहयोग पुर्याउने चलचित्रहरु

काठमाडौं । सबै मानिसहरुलाई आ–आफूलाई प्रभावित पारेका फरक–फरक चलचित्रहरु हुन्छन् । कुनै फिल्म दुःख पर्दा हेर्न मन लाग्ने हुन्छ, कुनै फिल्म खुसीको समयमा त कुनै फिल्म उत्प्रेरणाको लागि । यतिबेला हामीले धेरै नेपालीहरुले मनाउने महान चाड बिजयादशमी मनाइरहेका छौं । सरकारी, गैरसरकारी तथा निजी सम्पूर्ण क्षेत्रका उद्योग तथा व्यवसायमा एक प्रकारले छुट्टीको अवस्था छ । चाडबाडको रंगरमाइलो एवं फुर्सदको बेलामा उद्यम तथा व्यवसायमा रुची राख्नेहरुले केही चलचित्र हेरेर यो बेलामा उत्प्रेरणा लिन सकिन्छ । यहाँ केही चलचित्रको बारेमा चर्चा गर्न खोजिएको छ, जुन फिल्मले उद्यमशील सोच भएका व्यक्तिहरुलाई थप उत्प्रेरणा प्रदान गर्न सहयोग पुर्याउन सक्छन् । हामी सबैलाई थाहा छ की सफल उद्यमी तथा व्यवसायी बन्न कडा परिश्रम, दत्तचित्तता र उत्प्रेरणा चाहिन्छ । ९० प्रतिशत भन्दा धेरै स्टार्टअप उद्यम तथा व्यवसायहरु प्रतिस्पर्धा र सीमित अवसरको कारणले गर्दा असफल हुने गरेको अध्ययनले देखाएको छ । उद्यम तथा व्यवसायमा उत्कट चाहना हुनेहरुलाई कतिपय चलचित्रहरुले थप अध्ययन र ज्ञानको लागि सहयोग पुर्याउन सक्छन् । १. द सोसियल नेटवर्क ‘सोसियल नेटवर्क’ डेभिड फिन्चरद्वारा निर्देशित चलचित्र हो । सो चलचित्रले हावर्ड विश्वविद्यालयमा पढ्दा मार्क जुकरबर्गले कसरी फेसबुकलाई बनाए भन्ने विषयलाई देखाएको छ । चलचित्रमा जेसी आइजेनबर्गले मार्क जुकरबर्गको रुपमा जीवन्त तरिकाले भूमिका निभाएका छन् । मार्क जुकरबर्गलाई आर्थिक समस्या, अन्य मानिसहरुको वेवास्ता र कानुनी अड्चनका बाबजुद पनि धेरै इच्छाशक्ति भएको व्यक्तिको रुपमा चलचित्रमा हाइलाइट गरिएको छ । चलचित्रमा जुकरबर्गले दुई भाइहरुबाट मुद्दा र एकजना मिल्ने साथीबाट धोका पाएका थिए । विभिन्न चुनौतीहरुका बाबुजुद जुकरबर्गले फेसबुक स्थापना गरेका छन् । अहिले फेसबुक विश्वमा नै एउटा लोकप्रिय सामाजिक सञ्जाल बनेको छ । नयाँ उद्यमको स्थापना गरेर सफल हुन चाहने व्यक्तिलाई उत्प्रेरणा प्रदान गर्छ । चलचित्रले सफल हुनको लागि धनी हुन आवश्यक नभएको र सही विचारको आधार निर्माण गर्नुपर्ने बताएको छ । सकारात्मक नतिजाको लागि नेतृत्वमा आत्मविश्वास र अनुशासन हुनुपनर्पे शन्देश दिएको छ । २. मनीबल यदि तपाईं बेसबलको प्रेमी हुनुहुन्छ र उद्यमी हुनुहुन्छ भने यो चलचित्रले उत्प्रेरणा दिन्छ । यद्यपी चलचित्र बेसबलमा कम र ओकल्यान्ड ए का महाप्रवन्धक बिली बीनको बेसबल जित्ने दृष्टिकोणमा बढी केन्द्रित भएको छ । बीनले आफ्नो टोलीलाई बेसबल लिगमा सफलता हासिल गर्नको लागि तयार गर्न अपनाइएको अलोकप्रिय सेबरमेटिक प्रकृयाको विषयमा चलचित्रमा देखाइएको छ । उनले आफ्नो टोलीमाथि आइपरेका आर्थिक लगायतका समस्याहरुलाई छिचोल्दै अगाडि बढ्न अभ्यास नयाँ प्रयोगहरुलाई अवलम्बन गर्छन् । चलचित्रले धेरै स्टार्टअपहरुले बीनले जस्तै समस्याहरुको सामना गर्छन् र बाँच्नको लागि अनुकुलुन हुन तयार हुनुपर्छ भन्ने शन्देश दिएको छ । साथै चलचित्रले प्रत्येक उद्यमीले उद्यमको लागि विश्लेषणात्मक दृष्टिकोण अपनाउनुपर्छ भन्ने सन्देश दिएको छ । ३. द वल्फ अफ वाल स्ट्रीट चलचित्रमा सम्पूर्ण कथा वास्तविक संसारको अवस्थालाई सरलिकृत रुपमा प्रस्तुत गरिएको छ, जसले मानिसलाई अत्यन्तै धेरै प्रेरणा प्रदान गर्छ । चलचित्रमा जोर्डन बेलफोर्टको उद्यममा भएको उकाली ओरालीलाई हाइलाइट गरेर देखाइएको छ । पात्रमा भएको उर्जा र बिक्री प्रतिको मानसिकताले तपाईंलाई वास्तविक वालस्ट्रीट र भित्री इन्साइडर ट्रेडिङको बारेमा बताउँछ । साथै यसले अर्थतन्त्रलाई राम्रो र नराम्रो आकार दिन कसरी भूमिका निर्वाह गर्छ भन्ने बारेमा देखाउँछ । सफल व्यवसायीहरु सधैं नै बेच्नको लागि तयार हुनुपर्ने, साथै उद्यमी लोभी र सहानुभूति नभएको हुन नहुने विषयलाई पनि चलचित्रले देखाएको छ ।