नेपालद्वारा हङकङ पराजित
काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिज अन्तर्गत आज भएको खेलमा नेपाल हङकङलाई पराजित गर्दै फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ७९ रनले पराजित गर्दै एक खेल अगावै फाइनलमा पुगेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । नेपालले हङकङलाई जितका लागि दुई सय १४ रनको लक्ष्य दिएको थियो । जवाफमा हङकङले निर्धारित २० ओभरमा आठ विकेटका क्षतिमा एक सय ३४ रनमा मात्रै बनाउन सक्यो । हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए । त्यस्तै बाबर हायात २० तथा एजाज खानले २५ रन जोडे । नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले समान २-२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र प्रतिश जिसिले समान १-१ विकेट लिए । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर दुई सय १३ रन बनाएको थियो । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । कुशलले ४१ ब्लमा तीन चौका र नौ छक्काको सहयोगमा ९२ रन बनाए । त्यस्तै दिपेन्द्रले ३४ बलमा छ चौका र दुई छक्काको मद्दतमा ५७ रन बनाए । कुशल मल्ल र दीपेन्द्रले एक सय ४५ रनको साझेदारी गरेका थिए । त्यसैगरी आशिफ शेखले २० रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ११ रन बनाए । हङकङका लागि मोहमद घजन्फरले दुई विकेट लिए भने आयुष शुक्ला, हरुन अर्षद र एजाज खानले समान एक–एक विकेट लिए । अब नेपालले यही असोज ६ गते यूएईसँग खेल्नेछ ।
दशैँ मनाउन गाउँ फर्किनेको लर्को
काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँ मनाउन घर फर्किनेहरुको लर्को लागेको छ । शनिवार बिहानैबाट काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरुमा घर जानेहरुको लर्को देख्न सकिन्छ । काठमाडौंका कोटेश्वर, नयाँ बसपार्क, जडिबुटी, गोंगबु, बालाजु, कलंकी लगायतका क्षेत्रमा घर जानेहरु आफ्ना सरसामान बोकेर उभिरहेको देख्न सकिन्छ । दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रुहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् । हरेक वर्ष दशैँ, तिहार, छठ मनाउन काठमाडौं उपत्यकाबाट घर छोड्नेहरुको संख्या उल्लेख्य हुने गर्दछ ।
विद्यालयलाई सहयोग गर्न लायन्स क्लबले कन्सर्ट गर्ने, यम बरालको प्रस्तुति प्रज्ञा भवनमा
काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन चार्टडले यहि कात्तिक १८ गते ‘यम बरालः हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ को आयोजना गर्ने भएको छ । गायक यम बरालको प्रस्तुति रहने कन्सर्टले नेपाली सँगीत र संस्कृतिलाई उजागर गर्न क्लबको यो प्रयासले भूमिका निभाउने क्लवले जनाएको छ । ‘सामाजिक र साँस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरुप साँस्कृतिक कार्यक्रम गर्न लागिएको क्लवले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्लवकी अध्यक्ष कल्पना बस्नेतले बताइन् । कार्यक्रम राजधानीको प्रज्ञा भवनमा साँझ ५ बजेपछि हुनेछ । अत्याधिक चेपाङ, दलित, क्षेत्री र ब्रामण समुदायको वासस्थान रहेको धादिङको गजुरी गाउँपालिका-५ पिडामा रहेको डोल भञ्ज्याङ मा.बि. मा क्लबले सहयोग गर्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । विद्यालयमा पर्जा (चेपाङ) समुदायका १९६, तामाङ समुदायका २०० जनासहित ५४१ जना विद्यार्थीले सो विद्यालयमा अध्ययन गर्छन् । विद्यालय पृथ्वीराजमार्गको आदमघाटबाट दक्षिणतर्फ २० किलोमिटर टाढा दुर्गममा अवस्थित छ । क्लबले कार्यक्रमबाट संकलन भएको रकम सोही विद्यालयको भौतिक मर्मत संभारका लागि विद्यालयलाई हस्तान्तरण गर्ने योजना बनाइएको क्लवकी अध्यक्ष कल्पना बस्नेतले बताइन् । कार्यक्रमबाट संकलन भएको केही रकम लामो समयदेखि क्यान्सरबाट पीडित गायिका जमुना थापा र तुलसादेवी फाउण्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गर्ने योजना छ । यस कन्सर्टको मुख्य प्रायोजक ब्रमपटन इमिग्रेशन कल्सल्टेन्सी र इन्टेक अबोर्ड रहेका छन् भने सह प्रायोजकमा अल्का हस्पिटल, आर्य ट्राझल, प्यासिफिक लिंक कलेज रहेका छन् । यस कार्यक्रमको मिडिया पार्टनरमा विकासन्युज डटकम, रेडियो थाहा, सवल नेपाल लगायत रहेका छन् । को हुन् बराल ? ईलामको फिक्कलमा जन्मिएका गायक यम बराल नेपाली आधुनिक गीत संगितका मुलधारका शीर्ष गायक तथा नेपाली चलचित्रका सुप्रशिद्ध पार्श्वगायक तथा संगितकार हुन् । उनले २०४७ सालमा रेडियो नेपालमा सागर भन्दा गहिरो बोलको गीत गाएर नेपाली साङ्गितिक क्षेत्रमा प्रवेश गरेका थिए । उनले रेडियो नेपालबाट २०४९ सालमा प्रथम पुरस्कार प्राप्त गरेका थिए । बादलुको घुम्टो, मन रोएको, अब चोटहरुले निष्ठुरीले छोडेर गईहालि, तिमिलाई सम्झिदा आर्शिबाद, मन, वेद, धुन जस्ता सुमधुर गीतहरु आजका पुस्तासम्म पनि सर्वाधिक चर्चित र अनुकरणिय छन । उनले अल्लारे, आगो, मुस्कान, साथि, म तिम्रो जस्ता १०० भन्दा वढी चलचित्रमा आफ्नो स्वर दिईसकेका छन् । उनले २००० भन्दा बढी गीतहरु रेकर्ड गराई सकेका छन् । अमेरिका, युके, कोरिया, कतार, जापान, फ्रान्स लगायत युरोपका धेरै राष्ट्रहरुमा पुगि आफ्नो साङ्गितिक प्रस्तुति दिईसकेका गायक बराल गोरखा दक्षिण बाहु चौथो, नारायण गोपाल पुरस्कार, छिन्नलता पुरस्कार जस्ता प्रतिस्ठित पुरस्कारहरुबाट पुरस्कृत भईसकेका छन् । लायन्स क्लब इन्टरनेशनल समुदाय र मानवीय सेवामा विश्वव्यापी नेतृत्व लिने संस्था हो । विश्वभरका भौगोलिक क्षेत्रहरू मध्ये लायन्स क्लब अफ इन्टरनेशनल ३२५ आई अन्तरगत काठमाडौँ निर्माण गरिएको हो । जसमा शैक्षिक परामर्श, उद्योग, व्यवसाय, पत्रकारिता, राष्ट्रसेवक तथा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाद्वारा यो क्लब स्थापना गरिएको हो