डिशहोममा दशैं स्पेशल शो, सुपरहिट चलचित्र छक्का पञ्जा ४ नि:शुल्क हेर्न सकिने

काठमाडौं । डिशहोममा सुपरहिट चलचित्र छक्का पञ्जा ४ नि:शुल्क हेर्न सकिने भएको छ । बर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्लुशिभ प्रदर्शन भइरहेको छ । यो चाडवाडको मौसममा डिशहोमले आफ्नो ग्राहकहरुलाई मनोरन्जन प्रदान गर्नको लागि दशैं स्पेशल शो अन्तर्गत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ । डिशहोमको सबै एक्टिभ ग्राहकहरुले विनाकुनै अतिरिक्त शुल्क प्लस मुभीमा कार्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र नि:शुल्क हेर्न सक्नेछन् । यस्तै दशै मुभि फेस्ट अन्तर्गत घटस्थापना देखि रमाईलो टिभी र प्लसमुभीमा दशैभरी नयाँ नयाँ नेपाली चलचित्र हेर्न सकिने कम्पनीले जनाएको छ । थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ । डिशहोमको यो प्रयासले सपरिवार संगै वसेर नयाँ चलचित्र हेर्नका साथै भरपुर मनोरन्जन समेत हाम्रो ग्राहकहरुले लिन सक्ने कम्पनीले विश्वास लिएको छ ।

महोत्तरीका महिला माटो बेचेर दशैं खर्चको जोहो गर्दै

महोत्तरी । दशैं सुरु भएपछि महोत्तरीका गरिब बस्तीका महिला माटो बेचेर चाडबाडको खर्च जोहोमा लागेका छन् । दसैँमा विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने स्थापित मैथिल परम्पराले अहिले गरिब बस्तीका महिला माटो बेचेर दशैं खर्चको जोहोमा लागेका हुन् । अहिले १०/२० जनासम्मको समूहमा महिला माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पहाडका रातो माटोका थुम्का खोस्रीरहेका भेटिन्छन् । दशैंमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि ग्रामीण महिला अहिले विभिन्न रङका माटो संकलनमा लागेका छन् । मधेसका अधिकांश भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दशैं, तिहार र छठअघि माटोले पोतेर रंग्याउने चलनले यी पर्वमा विभिन्न रङका माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले नगद जोहोमा प्रयोग गरेका हुन् । अहिले फरक-फरक रङका माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पाहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन् । ‘कमेरे र पहेँलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चुरे नै पुग्नुपर्छ’ सखारै १० जनाको समूहमा रातो माटो खन्न १५/१६ किलोमिटर छिचोलेर बर्दिबास-३ को चुरे थुम्को पुगेका भंगाहा नगरपालिका-३ टिकुलिया बस्तीकी हेमकली चौधरी भन्छन्, ‘यही मेहनतले आफ्नो घर पोत्न र दसैँ खर्चको नगद जोहो गर्न माटो लगिन्छ।’ रातो माटो एक बोरा (४० किलो) घर पुर्‍याउन सके आफ्नो घर पोतेर नगद आर्जन गर्न पाइने उनी बताउँछिन् । पितृपक्ष सकिएर दसैँ प्रारम्भ भइसकेको छ । गरिब बस्तीका महिलाले भने १५ दिनअघि नै माटो खन्न, ओसार्न थालिएको बताएका छन् । माटो खन्ने काममा घरका परिवारजनको सहयोगले सहज भएको औरही-७ की पारोवती ठाकुरले बताइन् । अहिले गरिब बस्तीका महिलाको माटो ठम्याउने, खन्ने  र ओसार्ने काममा व्यस्तता देखिन्छ । बस्ती नजिकैको रातु नदीको डिलमा कमेरे माटो खोस्री रहेकी भेटिनुभएकी भंगाहा-४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले भनिन्, ‘कमेरे र पहेँलो माटो त यतै ओरपर खोज्दा पाइन्छ, तर रातो माटो लिन त १५/१६ किलोमिटर छिचोलेर चुरे नै पुग्नुपर्छ।’ मधेसका खासगरी थारु, बाँतर र मुसहर बस्तीमा अहिले माटो संकलनको होड चलेको छ । यी समुदायका  महिला विभिन्न रङको माटोले घर पोत्न, कुन रङको माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् । भंगाहा-५ राजपुरका ६८ वर्षीय पुरुषोत्तम पोखरेल भन्छन्, ‘घर सरसफाइ, रङरोगन र सजावटमा थारु महिला सधैंँ उम्दा देखिन्छन् ।’ दशैंमा थारु, बाँतर र मुसहर  महिलाको साथसंगतले अन्य जाति समुदायका महिला पनि अहिले माटो संकलनमा लागेका छन् । दशैंअघि माटो जम्मा गर्नसके दसैँ मेलामा रमाउन र स-साना नानीको खानपिनको रहर पुर्‍याउन सहयोग पुग्ने गौशाला-१ रामनगरकी पवनवती महरा बताउँछिन् । मधेसका ग्रामीण बस्तीमा काठेघर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको दशैंमा घर पोत्ने चलन छ। रासस

दसैँको तेस्रो दिन, चन्द्रघण्टाको पूजा गरिँदै

काठमाडौं । बडादसैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदै छ । घटस्थापना गरेसँगै देवीका नौँ वटा रुपको पूजा गर्ने परम्परा अनुुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो । दसैँ सुरु भएदेखि नै देवीको मन्दिरमा पूजा गर्नेको आज पनि घुइँचो लागेको छ । काठमाडौँ उपत्यकाका गुहृयेश्वरी, मैतिदेवी, दक्षिणकाली, भद्रकाली, नक्साल भगवती, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, इन्द्रायणीलगायतका मन्दिरमा पूजाआज गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, दाङको अम्बिकेश्वरी, डडेल्धुराको उग्रतारा, बैतडीको त्रिपुरासुन्दरी, डोटीको शैलेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिने गरिँदै आएको छ । यसैगरी चौँथो दिन कुष्माण्डा, पाँचाैँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रिको पूजा गर्ने गरिन्छ । पार्वतीको सौन्दर्य अवतार मानिने चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता तथा निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ । चन्द्रघण्टा देवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुटघण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रमा उल्लेख छ । क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नाश गर्न र सज्जनको रक्षा गर्न उहाँ अवतरण गरेको श्रीमददेवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । नवरात्र सुरु भएदेखि नै काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । उपत्यकाका नक्शाल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङकटा, नरदेवीलगायत मन्दिर रङगीचङगी बत्तीले सजाइएका छन् ।