प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरीमाथि जाँचबुझ गरी बिहीबार बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।    उम्मेदवारमाथि जाँचबुझ बुधबार दिउँसो ३ बजेदेखि नै सुरु भएको हो । यो क्रम बिहीबार बेलुका ५ बजेसम्म जारी रहने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । बिहीबार मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिने उनले बताए । बिहीबार बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन कार्यक्रम रहेको छ । माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।    माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । शुक्रबार ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन अधिकृतको कार्यालयमा तीन वटा कार्यक्रम तय गरिएको जानकारी पनि उनले गराए ।    देशभरका ७७ मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा प्राप्त जानकारी अनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी १ गरी तीन हजार ४८७ को उम्मेद्वारी दर्ता भएको छ । यीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको पनि सहायक प्रवक्ता जिसीले सुनाए । सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको छ । यी उजुरीमाथि अहिले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ भइरहेको छ ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौं : सात लाख १० हजार ७०८ मतदाता, २५७ उम्मेदवार

काठमाडौं । सङ्घीय राजधानी रहेको जिल्ला काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता  कायम भएका छन् । यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । काठमाडौं, निर्वाचन क्षेत्र नं. १ मा मतदान स्थल २२, मतदान केन्द्र ५७ छ । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् । यसैगरी क्षेत्र नं. २ मा मतदान स्थल ४०, मतदान केन्द्र १००  छ । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको पनि उनले सुनाए । क्षेत्र नं. २ काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ३ मा मतदान स्थल २९ र मतदान केन्द्र ७२ रहेको छ । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् । क्षेत्र नं. ४ मा ३३ मतदान स्थल, ८८ मतदान केन्द्र रहेको छ । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन् । क्षेत्र नं. ५ मा मतदान स्थल ३१, मतदान केन्द्र ९० रहेको छ । ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् । क्षेत्र नं. ६ मा मतदान स्थल ३२, मतदान केन्द्र ७९ रहेको छ । यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ रहेको छ ।   क्षेत्र नं. ७ मा मतदान स्थल २९, मतदान केन्द्र ७८ रहेको छ । महिला ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् । क्षेत्र नं. ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ रहेको छ । महिला २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् । क्षेत्र नं. ९ मा ३४ मतदान स्थल र मतदान केन्द्र ९० रहेको छ । महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ रहेका छन् । क्षेत्र नं. १० मा मतदान स्थल ४७ र मतदान केन्द्र ९८ रहेको छ । यहाँ महिला ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ रहेका छन् ।  काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नंं. १ मा ३०, क्षेत्र नंं. २ मा २२, क्षेत्र नंं. ३ मा २४, क्षेत्र नं. ४ मा २८, क्षेत्र नंं. ५ मा २७, क्षेत्र नं. ६ मा २२, क्षेत्र नं. ७ मा २८, क्षेत्र नं. ८ मा २२, क्षेत्र नं. ९ मा २७ र क्षेत्र नं.१० मा पनि २७ उम्मेद्वार मनोनयन पत्र दर्ता गराएको पनि जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताए । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा गरी २५७ उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएको जानकारी पनि उनले दिए ।  

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ । राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि व्यवहारमा त्यो पूर्ण रूपमा रुपान्तरण भएको छैन । संविधानमा महिलालाई गरिएको व्यवस्था कार्यान्वयन नभएकाले आफूहरू मैदानमा उत्रिएको उनीहरूले बताएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँबाट चार जना महिला प्रतिस्पर्धा गर्दै छन् । तनहुँका दुवै क्षेत्रमा २८ जनाको उम्मेदवारी परेकामा चार जना मात्रै महिला उम्मेदवार छन् । तनहुँ–१ मा १६ उम्मेदवारमध्ये तीन महिला र क्षेत्र नम्बर–२ मा १२ उम्मेदवारमध्ये एक जना महिला छन् । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले क्षेत्र नम्बर १ मा आमजनता पार्टीबाट भानु नगरपालिका–१२ की चिजामाया अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट भानु नगरपालिका–८ की भगवती न्यौपाने र नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका–४ निवासी रामलक्ष्मी दुवालको उम्मेदवारी दर्ता भएको राससलाई जानकारी दिए । यसैगरी क्षेत्र नम्बर–२ मा मङ्गोल अर्गनाइजेसन पार्टीबाट ऋषिङ गाउँपालिका–६ निवासी सुष्मा आलेको उम्मेदवारी दर्ता भएको छ । ढोरपाटन (बागलुङ) बाट रासस प्रतिनिधिले जनाएअनुसार दुई वटा निर्वाचन क्षेत्र भएको बागलुङमा २३ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना मात्र महिला छन् । बागलुङ क्षेत्र नम्बर–१ बाट मङ्गोल नेशनल अर्गनाइजेशनकी गुमाकुमारी मगर र क्षेत्र नम्बर–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)की मञ्जु शर्मा चुनावमा होमिएकी छन् । पाल्पामा पनि महिला उम्मेदवार एक जना मात्र छन् । दुई वटा निर्वाचन क्षेत्र भएको पाल्पामा ३० जनाले मनोनयन दर्ता गराएकामा एक जना महिलाको मात्र उम्मेदवारी परेको हो । राष्ट्रिय जनमोर्चाले क्षेत्र नं १ बाट नरमती सिंजालीलाई उम्मेदवार बनाएको छ । यसैबीच, नेपाल महिला सङ्घकी नेत्री गङ्गा पौडेलले महिला सशक्तीकरणका निम्ति राजनीतिक दलहरू गम्भीर नभएका आरोप लगाएकी छन् । पाल्पामा एक जना महिलाको मात्र उम्मेदवारी पर्नु दल र तिनका नेताको महिलाप्रतिको दृष्टिकोण नबदलिएको उनको भनाई छ । रासस