विशेष महाधिवेशन भव्य बनाउने तयारी : काठमाडौंका होटेलमा १५ सय कोठा बुक

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लक्षित गर्दै आयोजक समूहले काठमाडौंमा व्यापक तयारी अघि बढाएको दाबी गरेको छ । आयोजकका अनुसार देशभरबाट आउने प्रतिनिधिका लागि राजधानीका विभिन्न क्षेत्रमा ठूलो संख्यामा होटल कक्ष बुकिङ गरिएको छ । ठमेल, नक्साल, सुन्धारा तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटलहरूमा करिब ३ हजार महाधिवेशन प्रतिनिधिका लागि १ हजार ५ सय कोठा बुक गरिएको नेता मनोजमणि आचार्यले जानकारी दिए । विशेष महाधिवेशन प्रतिनिधिका लागि आवास तथा खानपान व्यवस्थापन समितिका प्रमुख रमेश धमलाले क्षेत्रगत आधारमा बसोबासको संयोजन मिलाउने तयारी गरिएको जानकारी दिएका छन् । धमलाका अनुसार प्रत्येक निर्वाचन क्षेत्रलाई केन्द्रमा राखेर प्रतिनिधिहरूको व्यवस्थापन गरिनेछ । आवास, खाना र आवतजावतमा सहजता होस् भन्ने उद्देश्यले क्षेत्रगत संयोजनको मोडालिटी बनाइएको उनले बताए । महिला प्रतिनिधि, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका प्रतिनिधिका लागि छुट्टै प्राथमिकता दिइने आयोजक पक्षको भनाइ छ । आवश्यक परे स्वास्थ्य तथा सहयोगी सेवासमेत उपलब्ध गराउने तयारी गरिएको समितिले जनाएको छ । काठमाडौंमै स्थायी बसोबास भएका वा आफन्तको घरमा बस्न सक्ने प्रतिनिधिलाई त्यहीअनुसार समन्वय गर्न आग्रह गरिएको आचार्यले बताए । आयोजक समूहले प्रत्येक निर्वाचन क्षेत्रका लागि राजनीतिक फोकल पर्सन तोक्ने तयारीसमेत अघि बढाएको छ । फोकल पर्सनमार्फत प्रतिनिधिको आवागमन, बसोबास तथा सम्पर्क व्यवस्थापन सहज बनाउने लक्ष्य राखिएको नेता आचार्यले जनाए । कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना हुने जनाउँदै प्रतिनिधिहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन् । उनीहरूले पार्टीभित्र देखिएका विवाद, संगठनात्मक जटिलता तथा भावी राजनीतिक दिशाबारे खुला बहस आवश्यक रहेको तर्क गर्दै आएका छन् । तर संस्थापन पक्षले भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको दाबी गर्दै आएको छ । विधान र प्रक्रिया अनुसार अघि बढ्नुपर्ने धारणा राख्दै संस्थापन पक्षले विशेष महाधिवेशन आवश्यक नरहेको जिकिर गरेपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप चर्किएको छ ।

'एलओडी क्लब' डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं । ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को नोमिनेसनमा परेको छ । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२६  का लागि क्याम्पेनमा एलओडी पुन: परेको हो ।  डिजे म्यागमा विश्वरका सय उत्कृष्ट डिजे क्लब रहने गर्छन् । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्ने गर्छ । यस वर्ष पनि एलओडी क्लबले टप १०० क्लबको सूचीमा परेकाले भोट गर्न अपिल गरेको छ । एलओडी नेपालको वेभसाइटमा गएर डिजे टप १०० क्लबमा क्लिक गरेर भोट गर्न सकिने छ । मतदान गर्न वा गुगलको वा एप्पलको अप्सन आउँछ । डिजे म्यागको १०० क्लब आएपछि तल पट्टिको भागमा 'सबमिटमा' क्लिक गर्नुपर्छ ।  प्रयोगकर्ताले फेरि आफ्नो देशको नाम, सहर साथै नामसहित सबै उल्लेख गर्ने अप्सन प्राप्त गर्छन् । अन्त्यमा पुनः अर्को अप्सनमा क्लबको सबै चरणमा एलओडी लेख्दै काठमाडौं सहरको नाम उल्लेख गर्नुपर्नेछ । एलओडी डिजे म्याग टप १०० को छनौटका लागि नोमिनेशनमा पर्दा राष्ट्र सँगसँगै जोडिने भएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।  छनौटमा सय क्लबको छनौटमा पर्न सफल भएमा क्लब व्यवसायीहरूले पनि राष्ट्रको नाम चिनाउन सक्ने रहेछन् भनेर प्रमाणित गर्न सकिने उनको भनाइ छ । विश्वका उत्कृष्ट क्लबहरूमध्ये एलओडी ४४ औँ स्थानमा रहेको छ । सन् २०१९ मा स्थापना भएको एलओडीले साउन्ड, अत्याधुनिक लाइटिङ र सांगीतिक वातावरणको उच्चतम माहोल बनाएको श्रेष्ठले बताए । उनका अनुसार साउन्ड र लाइट सिस्टमलाई स्तरोन्नति गर्दै पाहुनाहरूका लागि अझ सहज र सुरक्षित वातावरण बनाएको  छ ।   'एलओडी क्लब केवल एउटा नाइटक्लब मात्र होइन, यो नेपाली संस्कृति, प्रतिभा र राष्ट्रिय गौरवको प्रतीक पनि बनेको छ,' उनले भने, 'नेपाली संस्कृति र परम्परालाई समर्पित विशेष कार्यक्रमहरू मार्फत क्लबले नेपाली पहिचानलाई विश्वमञ्चमा प्रवर्द्धन गर्दै आएको छ । जसले राष्ट्रिय एकता र गर्वको भावना अझ बलियो बनाएको छ ।'  एलओडी क्लब विदेशी र स्वदेशी पर्यटक दुवैका लागि ठमेलको एउटा गन्तव्य बनिसकेको उनले बताए । एलओडी क्लब सन् २०२२ मा ५२,२०२३ मा ४९, २०२४ मा ५० र २०२५ मा ४४ औँ स्थानमा परिसकेको छ । एलओडी क्लबले केही वर्षमै आफ्नो उत्कृष्ट स्थान बनाएर विश्वस्तरीय पहिचान बनाइसकेको क्लबका निर्देशक श्रेष्ठले बताए ।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ ।      एमालेका काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौं जिल्लाका १० वटै निर्वाचन क्षेत्रका लागि आकाङ्क्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए ।      अध्यक्ष निरौलाले निर्वाचन क्षेत्रीय कमिटीबाट आएका नामसहित जिल्ला कमिटीले ती उम्मेदवारका नाममा सुझाव दिँदै राजधानी प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिएको बताए ।    एमालेले निर्वाचनका लागि यही पुस २४ गतेभित्र प्रदेश कमिटीमा नाम पठाउन जिल्ला कमिटीलाई निर्देशन दिइसकेको छ । एमाले काठमाडौंले क्षेत्र नं २ र ८ बाहेक सबै निर्वाचन क्षेत्रमा एकजना भन्दाबढी उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र नं २ मा मणिराज फुँयाल र क्षेत्र नंं ८ मा राजेश शाक्यको एकल नाम सिफारिस गरेको छ ।      निरौलाका अनुसार काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेलले चाहेको खण्डमा उनलाई नै उम्मेदवार बनाउने र नचाहेको खण्डमा अन्यलाई पनि उम्मेदवार बनाउन नाम सिफारिस गरिएको छ । उनले काठमाडौं क्षेत्र नं १ मा मोहन रेग्मी, शर्मिला कार्की र सरोज ढकालसहित आठजना, काठमाडौं क्षेत्र नंं ३ मा रामेश्वर फुँयाल, कृष्ण राईसहित ६ जना, क्षेत्र नं ४ मा सचिव डा राजन भट्टराईसहित १३ जनाको नाम सिफारिस गरिएको बताए ।  त्यसैगरी काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा एमालेका नेता ईश्वर पोखरेलसहित आठजना, क्षेत्र नं ६ मा केन्द्रीय सदस्य अमनकुमार मास्के, प्रकाश अधिकारीसहित १२ जना, क्षेत्र नं ७ मा केन्द्रीय उपाध्यक्ष रघुजी पन्तसहित ११ जना, क्षेत्र नं ९ मा केन्द्रीय सदस्यद्धय कृष्णगोपाल श्रेष्ठ र डा अजयक्रान्ति शाक्यसहित सात जना र क्षेत्र नं १० मा केन्द्रीय सदस्य विनोद श्रेष्ठसहित सात जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।