‘गाउँ छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन’

कञ्जगाउँ लालझाडी । विसं २०७९ असार २५ को साँझ । सिमसिम पानी त परिरहेकै थियो । थप ठूलो पानी पार्ने सङ्केत आकाशमा थिएन । गाउँ नजिकको दोदा नदीमा बेग उर्लिएको थिएन । आकाश र नदी हेरेर केही ढुक्क भएर कञ्ज गाउँवासी सुत्ने तरखरमा थिए, निदाउन भने भ्याएका रहेनछन् । वर्षाका समय । एक्कासी गाउँको माथिल्लो भेगमा घोप्टे वर्षा भएपछि तटीय भेगमा दोदा नदी उर्लेर आयो । एकाएक भेल गाउँमै पस्नै लाग्यो । सर्वत्र अन्धकार । लालझाडी–२ का वडाध्यक्ष आशाराम रानाले तत्क्षणलाई सम्झँदै भने, 'मध्यरातमा हाहाकार मच्चियो । हेर्दाहेर्दै नदीको भेल गाउँमै पस्न लाग्यो । गाउँलेले आशा मार्न थाले । बालबच्चा बोकेर जाने ठाउँ पनि भएन ।'   पछिल्ला दिन कञ्जगाउँ लगभग टाकुराजस्तै भएको छ । हिउँदमा नदी छ र ? भन्ने अवस्था हुन्छ । विशाल बगरमात्र देखिन्छ । उनले बगर देखाउँदै भने, 'हेर्नुस् त न नदी नै भन्न नसक्ने अवस्था छ र ? बगरमात्र छ । बगर छ, पानी छैन । लाग्छ यस्तो अकल्पनीय अवस्था आउँछ भनेर पत्याउन गाह्रो छ । गाउँलेले तत्काल बाढी आइहाल्यो भने कटान रोक्न आफ्ना घरमा राखेका बाँस प्रयोग गरेँ । रातका समयमा जसोतसो गाउँले मिलेर नदीको बेगलाई जैविक र परम्परागत सीप प्रयोग गरेर गाउँ पस्नबाट रोके । धान र उखुबाली डुबायो । रोक्न नभ्याएको भए अहिले कञ्चगाउँ रहँदैनथ्यो ।'   आपत्कालीन अवस्थामा नदीको भेल गाउँमा पस्न नदिन र कटान रोक्न सिङ्गो बाँस र बाँसको पात प्रयोग गरिँदोरहेछ । यसका लागि सामग्री पूर्वअवस्थामा राखिँदोरहेछ । लालझाडी–१ का वडाध्यक्ष प्यारेलाल रानाका अनुसार दोदा नदीको सतह बर्सेनि बढिरहेको छ । वर्षात्मा बगेर आएका माटो र बालुवाले नदीको सतह निरन्तर माथि आइरहेको छ । सतह कति बढ्यो भन्ने एकिन नाप हालसम्म कुनै निकायबाट गरिएको रहेनछ । नदीले निरन्तर धार परिवर्तन गरिरहेको छ । उनले भने, 'नदीले आफ्नो बहाव बर्सेनि परिवर्तन गरिरहेको छ । कटान र डुबानले नसताएको वर्ष हुन्न । नदीले कति कटान गरेर लग्यो, अन्नबाली कति डुबानमा परेँ, जङ्गली जनावरले कति बाली सखाप पारे कुनै हिसाबकिताब छैन । यस्तो पीडा कति सुनाउनु । हाम्रो काम त पीडा सुन्ने र सुनाउनेमात्र भएको छ । छाडेर जाऔँ कहाँ जाने, बसौँ बस्न सक्ने अवस्था रहेन ।' नसर्ने रोग उच्च : सचेतना जगाउँदै रेडक्रस   बर्सेनि बाढी, कटान तथा जङ्गली जनवारबाट कहर भोगिरहेका कञ्चनपुरको अति दुर्गम भेग लालझाडीवासी पछिल्ला वर्ष नसर्ने रोगले प्रभावित बन्न थालेका छन् । विपद्को सधैँ उच्च जोखिममा रहेको यो गाउँपालिका नसर्ने रोग वृद्धिको ‘ग्राफ’ निरन्तर बढ्दो छ । यहाँको नसर्ने रोग (रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास) को बारेमा ‘डिएचआइएस–२’ भन्छ, 'आव २०७८/७९ मा रक्तचाप २५७, मधुमेह १२४, रक्तनली तथा श्वासप्रश्वास १२२ जनामा थियो । आव २०८१/८२ यो सङ्ख्या लगभग दोब्बर भएको छ । अर्थात् क्रमशः ६००, २५० र २५२ जनामा ती रोगको समस्या छ ।' यो सङ्ख्या चालु आवमा झन् बढ्ने आकलन छ ।  पछिल्लो जनगणनाअनुसार छ वडा रहेको यस गाउँपालिकामा ३० वर्षमाथिको जनसङ्ख्या वडा नं १ मा एक हजार ८८, २ मा ८११, ३ मा ८८३, ४ मा एक हजार १७९,  ५ मा ७२१ र वडा नं ६ मा ७३७ गरी पाँच हजार ४११ छ । प्राथमिक स्वास्थ्य सेवा तहमा नसर्ने रोगको व्यवस्थापन गर्न विश्व स्वास्थ्य सङ्गठनले ‘पेन डी’ कार्यान्वयनमा स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयलाई सहयोग गरिराखेको भए पनि विपद्का अवस्थामा यो प्रभावकारी छैनन् । यस्तो अवस्थामा उपचार रोकिने, सेवन गरिराखेका औषधि रोकिने र विस्थापितसमेत हुनुपर्ने अवस्था रहेको ‘रेजिलिएयन्स एन्सिडी परियोजनाका’ स्वास्थ्य कार्यक्रमका सहसंयोजक अनिल महर्जनले बताए ।  नेपालमा अकालमै हुने मृत्युदर र अपाङ्गताको प्रमुख कारक नसर्ने रोग बन्दै गएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१९ मा ७१ प्रतिशत मृत्युको कारकका रूपमा देखिएको नसर्ने रोग सन् २०४० सम्ममा ७९ पुग्ने प्रक्षेपण छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले ‘रेजिलिएयन्स नसर्ने रोग उपचार सेवा’ परियोजना गाउँपालिकामा कार्यान्वयनमा आएपछि नसर्ने रोगका बारेमा धेरै जानकारी प्राप्त भएको बताए । विपद्का समयमा नसर्ने रोगका लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तताको सुनिश्चितका लागि ‘पेन डी प्याकेज’ लाई आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरिने जानकारी दिए । उनका अनुसार गाउँपालिकाका सबै वडा बाढी र डुबानको उच्च जोखिममा छन् । विशेषगरी पालिकाका कञ्ज, डुगा, कस्वाकञ्च, विनवारी विचवा, सिकलपटी, वैजनाथ टोल, अन्नपूर्ण टोल, विनयवारी विचवा, विछुवा टोल, देउवाटोल, चानदेव, सिकलपाटी मुक्त, कञ्ज, कश्वा, विछुवा टोल, गाउँपालिका भवन, स्वास्थ्य संस्थालगायत डुबानका जोखिममा रहन्छन् ।  लालझाडी गाउँपालिकामा नोभो निर्डिस्क फाउन्डेसनको आर्थिक सहयोग तथा डेनिस रेडक्रस, क्यानडियन रेडक्रस तथा आरहुस विश्वविद्यालयको सहकार्यमा ‘रेजिलिएयन्स नसर्ने रोग उपचार सेवा’ परियोजना अप्रिल २०२४ देखि मे २०२६ सम्म सञ्चालनमा छ ।  रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली तथा श्वासप्रश्वास रोग पछिल्लो समय जनस्वास्थ्यको प्रमुख जोखिम देखिएकाले विपद्का समयमा नसर्ने रोग लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तरताका लगि ‘पेन डि प्याकेज’ ल्याइएको हो । ‘रेजिलिएयन्स नसर्ने रोग उपचार सेवा’ परियोजनाका संयोजक प्रमोद अधिकारी भने , 'विपद्का अवस्थामा नसर्ने रोग लागेका व्यक्तिहरूमा नछुटाई स्वास्थ्य क्षेत्र र विपद् प्रतिकार्य प्रणालीबीचको अन्तरलाई कम गर्नु ‘रिजिलियन्स एनसिडी’ परियोजनाको मुख्य ध्येय रहेको छ । विपद्मा नसर्ने रोगका बिरामीलाई प्राथमिकता दिन सकेमा आकस्मिक जटिलता र मृत्यु जोखिम कम हुन्छ । बिरामीको मानसिक तनाव कम हुन्छ । मधुमेह, उच्च रक्तचाप, मुटुरोगजस्ता रोग बिग्रनबाट मानिसलाई जोगाउन सकिन्छ । नीतिगत रूपमा काम गरेमा नियमित औषधि पाउन र उपचार निरन्तरतामा समेत सहयोग हुन्छ ।' लालझाडी–२ शङ्खरपुरस्थित शङ्खरपुर स्वास्थ्यचौकीमा भेटिएका ७३ वर्षीय रामभजन राना रक्तचापको औषधि लिन महिला स्वयंसेविकालाई लिएर आउनुभएको रहेछ । लालझाडी–२ बागवाढी टोलकी महिला स्वयंसेविका राममति रानाले भने, 'गाउँमा रक्तचाप, मधुमेह, क्यान्सर, मुटु तथा रक्तनली र श्वासप्रश्वासका बिरामी भएर औषधि खानेहरू वृद्धि भइराखेको छ ।' ७३ वर्षीय रामभजनले वर्षात्का समयमा औषधि पाउनसमेत समस्या हुने गरेको गुनासो गरे । उनले भने, 'कहिलेकाहीँ त औषधि किनेर खानुपर्छ ।' सरकारले रक्तचाप, मधुमेहका औषधि निःशुल्क वितरण गर्दै आएको छ ।  लालझाडी गाउँपालिका, स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत खगेन्द्र चौधरीले गाउँपालिका स्वास्थ्यका दृष्टिकोणले जोखिम रहेको जानकारी दिए । उनले भने, 'सरुवा रोगभन्दा नसर्ने रोगको समस्या बढ्दो छ ।' गाउँपालिकाले नसर्ने रोगको स्क्रिनिङसमेत थालनी गरेको छ । लालझाडी गाउँपालिका विपद् शाखा प्रमुख हेमराज उपाध्याय बाढी र डुबानको उच्च जोखिम क्षेत्रमा गाउँपालिकाका अधिकांश वडा रहेको जानकारी दिँदै दोदा नदी नियन्त्रणमा ध्यान दिन सुझाव दिए । उनले भने, 'समुदायमा विपद् प्रतिकार्य क्षमता वृद्धि भएको छ, तर यतिले पुग्दैन ।' उनका अनुसार गाउँपालिकाभित्र चार स्थानमा पूर्वसूचना प्रदान गर्न ‘साइरन’ राखिएका छन् । शङ्करपुर स्वास्थ्यचौकीका सिनियर अहेव यज्ञबहादुर धामीले विपद्का समयमा नसर्ने रोगका लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तता सुनिश्चितताका लागि प्रयास जारी रहेको जानकारी दिँदै कतिपय समयमा स्वास्थ्य संस्था आफैँ डुबानमा पर्ने बताए । उनले भने, 'पेन डी प्याकेज त राम्रो छ, कार्यान्वयन गर्न समस्या छ ।' ‘रेजिलिएयन्स नसर्ने रोग उपचार सेवा’ परियोजनाका  विनायक पौडेलले नेपाल रेडक्रसले विपद्का समयमा नसर्ने रोगका लागेका व्यक्तिहरूको उपचार सेवा निरन्तताको सुनिश्चितताका लागि यहाँ विभिन्न गतिविधि सञ्चालन गर्न गाउँपालिकालाई सहजीकरण गरिराखेको जानकारी दिए । रासस

प्रहरीले रोजेको त्रिवर्षीय रणनीतिमा एआई, प्रमाणसहितको अनुसन्धान प्राथमिकतामा

काठमाडौं । नेपाल प्रहरीले तीन वर्षीय रणनीतिक योजनामा प्रविधियुक्त र कृत्रिम बौद्धिकता एआईलाई प्राथमिकता बनाउने भएको छ । प्रविधियुक्त प्रमाणमुखी अनुसन्धानलाई आधार बनाएर काम गर्नेगरी रणनीति सार्वजनिक भएको हो ।  मंगलबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा नेपाल प्रहरी रणनीतिक योजना २०८३/८५ सार्वजनिक गर्दै प्रविधियुक्त, प्रमाणमुखी र सूचनामा आधारित अनुसन्धानलाई अगाडि बढाउने रणनीति लिइएको छ ।  प्रहरीले एआईको सहयोग लिएर संगठनको क्षमता कार्यक्षमता बढाउने जनाएको छ । सेवा प्रवाहमा प्रभावकारीता बढाइ नागरिकको पहुँचमा अभिवृद्धि गर्ने रणनीति लिएको छ । अनुसन्धानात्मक क्षमताको विकासद्वारा अपराध अनुसन्धानको प्रभावकारिता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । जनसहभागिता र नागरिकसँग प्रत्यक्ष रूपमा समन्वय गर्ने प्रहरीले जनाएको छ । नागरिकसँगको समन्वयलाई प्रवर्द्धन गर्दै समुदायमा प्रहरीलाई अपनत्व महसुस गराउने उल्लेख गरिएको छ । प्रहरीसँग साझेदारी र समस्या केन्द्रित प्रहरी सेवाको माध्यमबाट अपराध रोकथाम तथा नियन्त्रण गरिने बताइएको छ । प्रहरीलाई शान्ति सुरक्षा तथा विपद व्यवस्थापनमा विशिष्टीकृत क्षमता अभिवृद्धि गर्ने रणनीति लिएको छ । समाजलाई शान्ति सुरक्षा प्रदान गर्न प्रहरीको क्षमता बढाएर शान्ति सुव्यवस्था कायम र जनधनको सुरक्षा रणनीति बनाएको छ । प्रहरीको उपयुक्त संगठन संरचना बनाइने पनि रणनीतिमा उल्लेख छ । नीतिगत रुपमा प्रहरीले स्पष्ट अडान लिने कार्यक्षेत्रमा कुशलता प्रदर्शन गरिने २०८३र८५ को रणनीतिले लिएको छ ।  विशिष्टीकृत, दक्ष र उच्च मनोबलयुक्त प्रहरी जनशक्तिको विकास गर्ने रणनीतिमा बताइएको छ । प्रहरीका भौतिक पूर्वाधार, स्रोत साधन तथा सहायक सेवाहरूको सुदृढीकरण गरेर प्रहरी कर्मचारीको कार्यक्षमता बढाएर सेवाको प्रभावकारीता बढाउने भएको छ । रणनीतिक योजनाको कार्यान्वयन र अनुगमनको पाटोलाई समेत प्रभावकारी बनाउने भएको छ । विगतको योजना कार्यान्वयनमा देखिएका समस्या तथा कमजोरीहरूको पूर्वानुमान गरी सम्भावित चुनौतीहरूको निराकरण गर्ने उपायसमेत पेश गरेको छ । प्रहरीले प्रभावकारी कार्यान्वयनको गर्न वार्षिक कार्ययोजनाहरू निर्माण बनाउने भएको छ । प्रहरी महानिरीक्षकले इलाका प्रहरी कार्यालयसम्मको कार्यालय प्रमुखहरूले आ-आफ्नो सुपरिवेक्षकसँग गर्ने कार्यसम्पादन सम्झौताको सम्पन्न गर्ने रणनीतिमा उल्लेख छ ।  त्रिवर्षीय रणनीतिमा प्रविधिलाई फोकस गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले बताए । प्रविधिसँगै कार्यक्षमताको विकास गर्ने लक्ष्यसहित रणनीति ल्याइएको उनले बताए । ‘प्रहरीले सधैँभरि परम्परावादी कार्य गरेर मात्र अगाडि बढ्न सक्दैन,’ उनले भने,  ‘कार्य सम्पन्न गर्न सहज होस भनेर एआईलाई प्राथमिकतामा राखिएको छ ।’ रणनीतिमा साइबर अपराध नियन्त्रण गर्नका लागि प्रहरीले प्रविधिलाई फोकस गरिएको काफ्ले बताउँछन् । डिजिटल फरेन्सिक ल्याबको विकास गर्नुपर्ने अवस्था रहेको उनले बताए । विभिन्न प्रविधिलाई खुला गराउनका लागि पनि नेपालमा उच्च स्तरका प्रविधि नभएको उनले जानकारी दिए । जेनजी आन्दोलनका केही प्रविधिलाई खुला गराउन भारतको डिजिटल फरेन्सिक ल्याबमा लगिएको काफ्लेले खुलाए । प्रहरी कार्यालयदेखि कार्यशैलीसमेत प्रविधिमैत्री बनाइने उनले बताए । प्रविधिबाट हुने अपराधलाई न्यूनीकरण गर्दै लैजानका लागि प्रविधिको विकास गर्नुपर्ने उनको भनाइ छ । प्रहरीसमक्ष बजेट पर्याप्त नहुँदा रणनीतिक योजना पुरा गर्न नसकिने जस्ता चुनौती सामना गर्नुपर्ने देखिएको उनले खुलाए । आवश्यक जनशक्तिको पनि व्यवस्थापन तथा विस्तार कार्य क्षमता वृद्धि गर्नुपर्ने उनको भनाइ छ । भौतिक संरचनाको निर्माणदेखि पुराना भवनलाई मजबुत बनाउने रणनीतिमा राखिएको उनले बताए । प्रहरीले धेरै पुराना संरचानामा बसेर सेवा प्रवाह गरिरहेको उनले प्रस्ट पारे । ‘सरकारी क्षेत्रबाट नागरिकसँग सबैभन्दा नजिक रहेर प्रहरीले मात्र काम गरेको छ,’ काफ्लेले अगाडि भने, ‘नागरिकको तहबाट प्रहरीलाई नैतिक समर्थनसमेत छ । प्रहरीले अहिले ल्याएको रणनीति नागरिकको सुरक्षाकै निम्ति हो ।’ डीएनए परीक्षण गर्न लाग्ने समय घटाइ थप प्रविधिको विकास गर्ने उनले सुनाए । प्रविधिको अभाव हुँदा प्रवक्ता काफ्लेले कतिपय अनुसन्धानको काम प्रहरीले गर्न नसकिरहेको सुनाए ।  उनका अनुसार त्रिवर्षीय रणनीतिमा प्रहरीले प्रविधिलाई प्राथमिकतामा राखेको छ । बजेट व्यवस्थापन र जनशक्तिलाई मुख्य चुनौतीको रुपमा लिएको छ । अपराध न्यूनीकरणमा तथा सभ्य समाज बनाउने रणनीतिलाई चासोको राखिएको काफ्लेले बताए । 

कक्षा १२ को प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा थप २ जना पक्राउ

काठमाडौं । कक्षा १२ को परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र र उत्तर सार्वजनिक गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीका अनुसार राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को परीक्षाको प्रश्नपत्र परीक्षा सुरु हुनुअघि नै बाहिरिएको विषयमा अनुसन्धानका क्रममा थप दुई जनालाई पक्राउ गरिएको हो । प्रहरीले प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा ‘क्लास १२ म्यानेजमेन्ट ओन्ली’ नामक व्हाट्सएप ग्रुप तथा फेसबुक म्यासेन्जरमार्फत उत्तरसहित प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा गोरखाको भीमसेन थापा गाउँपालिका–५ स्थायी घर भएका २९ वर्षीय सन्तोष बन्जारा र गण्डकी गाउँपालिका–३ स्थायी घर भएका २० वर्षीय अचिन अधिकारी रहेका छन् । उनीहरूलाई काठमाडौंको रत्नपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ । यस अघि पनि २ जना आरोपी पक्राउ गरिएको छ ।