अध्यक्ष नेपालले गरे माओवादी केन्द्रसँग एकताको सैद्धान्तिक आधार प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग सम्भावित पार्टी एकताको सैद्धान्तिक आधार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका छन् । बुधबारदेखि सुकेधारामा सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै नेपालले वाम एकता र समाजवादी क्रान्तिको आवश्यकता भएको बताएका छन् । उनका अनुसार क्रान्ति पूरा गर्न समान विचार, सिद्धान्त र कार्यदिशा भएका कम्युनिष्ट घटकबीच एकता अपरिहार्य छ । नेपालले भने, 'एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य र संगठनात्मक सिद्धान्तमा समानता हुनुपर्छ । यी विषयमा सहमति बिना एकता सम्भव छैन ।' प्रतिवेदनमा समाजवादी मोर्चा वाम एकताको तयारीको चरण भएको उल्लेख गरिएको छ । उनले माओवादीको मार्गदर्शक सिद्धान्त माओवाद नभई माक्र्सवाद–लेनिनवाद हुनुपर्ने धारणा समेत राखेका छन् । नेपालले नेपाली क्रान्तिको जनवादी चरण पूरा भइसकेको र देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको सैद्धान्तिक व्याख्या पनि अध्यक्ष नेपालले गरेका छन् । उनका अनुसार, हाल नेपाली समाजमा आम जनता र दलाल–नोकरशाही पुँजीपति वर्गबीचको अन्तरविरोध नै प्रमुख अन्तरविरोध हो ।  नेपालका अनुसार माओवादीसँग नेकपा एसका सबै निती, विचार र कार्यक्रम मिल्छन् । यहि आधारमा हामी एकताको चरणमा प्रवेश गरेका हौँ । अध्यक्ष नेपालले भने, 'कम्युनिष्ट एकता आजको आवश्यकता हो । समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्ति चाहिन्छ, र त्यो शक्ति क्रान्तिकारी कम्युनिष्टहरूबीचको एकताबाटै निर्माण हुन्छ ।' तर, उनले पार्टी एकता भावनात्मक रूपमा नभई स्पष्ट सैद्धान्तिक आधारमा हुनुपर्नेमा जोड दिए । उनका अनुसार, पार्टी एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यनीति जस्ता मूलभूत विषयमा समानता अनिवार्य छ । उनले थपे, यी विषयहरूमा समान धारणा र सहमति बनेपछि एकता गर्न ढिलाइ गर्नुहुँदैन । समान विचार, सिद्धान्त, कार्यक्रम र रणनीतिक लक्ष्य भएका कम्युनिष्ट घटकसँग एकताको पहल हामीले नै गर्नुपर्छ । नेपालले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (...) हुनुपर्ने, नेपाली क्रान्ति जनवादी चरण पार गरी समाजवादी चरणमा प्रवेश गरेको मान्नुपर्ने, र माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार्नुपर्ने धारणा दोहोर्यााए । साथै, उनले साम्राज्यवाद, प्रभुत्ववाद र नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिनुपर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार, यी सैद्धान्तिक अवधारणाहरूमा समानता बिना एकता हुन सक्दैन, तर समान धारणा भएका शक्तिसँग एकताको सम्भावना देखिए हामी कहिल्यै नकारात्मक हुने छैनौं ।  

एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा

काठमाडौं । एनसेलले गएको १० दिनमा देशका विभिन्न स्थानहरुमा २० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ । यसका साथै ती स्थानका ग्राहकहरुले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । आफ्नो सेवाको निरन्तर विस्तार र गुणस्तर सुधार अभियान अन्तर्गत एनसेलले मधेस, बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तहमा आफ्नो फोरजी सेवा थप टावरहरुका साथ सुधार गरेको छ । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै एनसेलले चाडपर्वका बेलामा पनि आफ्नो नयाँ टावरको कार्यहरुलाई तिब्रता दिदै गत १० दिनमा यी २० वटा नयाँ टावरहरु सञ्चालनमा ल्याएको हो । नयाँ टावरहरुको सञ्चालनले ती क्षेत्रका ग्राहकहरूलाई अझ सुधारिएको नेटवर्क र फोरजीको गतिमा पहुँच सुनिश्चित गरेको छ । एनसेलले मधेस प्रदेशमा १३ नयाँ टावरहरु सञ्चालनमा ल्याएको छ र ती स्थानहरु बाराको परवानीपुर, पर्साको पकहाँ मैनपुर, पोखरिया र वीरगञ्ज, सप्तरीको बलान बिहुल, धनुषाको जनकपुर, कटैया, कमला र विदेह, सर्लाहीको कौडेना र मोतीपुर, र रौतहटको यमुनामाई र माधव नारायणमा गरी १३ वटा नयाँ टावर सञ्चालनमा ल्याएको छ ।  कोशी प्रदेशमा सुनसरीको इनरुवा, बर्जु, हरिनगर र  गढीमा चार र मोरङको ववियाविर्ता र मजारेमा दुई गरी ६ वटा नयाँ टावर सञ्चालनमा आएका छन् । बागमती प्रदेशको हेटौडा (मकवानपुर)मा एक टावर जडान गरी सञ्चालनमा ल्याइएको छ । 'हामी नेपालको डिजिटल कनेक्टिभिटी विस्तार गर्ने हाम्रो प्रतिबद्धताको अनुरूप हाम्रो फोरजी नेटवर्कलाई विस्तार र सुदृढ बनाइरहेका छौं । एनसेलले १० दिनभित्रै २० वटा नयाँ टावर सञ्चालनमा ल्याउँदै आधुनिक मोबाइल ब्रडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवामा अझ व्यापक पहुँच सुनिश्चित गरेको छ । साथै, आगामी दुई दिनभित्र हामी थप १० वटा नयाँ टावर सञ्चालनमा ल्याउने योजनामा छौं, जसले हाम्रा ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्नेछ । यो विस्तार तथा सुधारले फोरजी नेटवर्कलाई अझ सुदृढ बनाउने र देशभरका आम ग्राहकहरुलाई भरपर्दो मोबाइल सेवामा पहुँच सुधार गर्ने हाम्रो निरन्तरको प्रतिबद्धतालाई प्रष्ट पारेको छ,' एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने । नयाँ टावरका लागि उपकरण आयातमा बन्देजका बेलामा पनि एनसेलले देशका विभिन्न भागमा आफ्ना पुराना उपकरणहरुका प्रयोग गर्दै यो वर्ष ४० भन्दा बढि नयाँ टावर जडान तथा सञ्चालन गरेर सेवा विस्तार र सुधार गरेको थियो ।  फोरजी सेवा विस्तार र सुधार योजना अनुसार, एनसेलले अबको दुई महिनाभित्र देशका सबै प्रदेश समेटिने गरी थप १७० भन्दा बढी नयाँ टावरहरु जडानका लागि काम गरिरहेको छ । यी टावररुको जडान र सञ्चालनले सेवा पहुँच र गुणस्तरलाई थप सुदृढ बनाउने एनसेलले जनाएको छ ।  आधुनिक प्रविधि र नेटवर्कमार्फत विश्वस्तरीय सेवा र ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धता बमोजिम, एनसेलले ग्राहकहरूलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा पहुँच सुनिश्चित गर्दै जेठ २०७४ बाट फोरजी सेवा सुरु गरेको थियो । यो सेवा ७७ वटै जिल्लामा विस्तार विस्तार भईसकेको छ र कुल जनसंख्याको ९५ प्रतिशत भन्दा बढि जनतामाझ यो सेवा पुगेको छ ।

सरकारले माघ ११ लाई गर्‍यो राष्ट्रिय सभा सदस्यको निर्वाचन मिति घोषणा

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलका अनुसार आगामी माघ ११ गते आइतबारका लागी निर्वाचन मिति तोक्ने निर्णय गरेको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागी प्रदेशसभाका सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । छ वर्ष पहिलेको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुन २१ बाट सकिनेछ । राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाई सदस्यको कार्यकाल सकिन्छ । ति मध्ये १९ जनाको कार्यकाल फागुन २१ मा सकिँदैछ । कार्यकाल सकिन लागेका मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि फागुन २१ मा निर्वाचन हुनेछ ।