युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय गुरूङ रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनले भने, 'पक्राउ परेकामध्ये इन्द्र र आइतेले युके पठाइदिने भन्दै सात जना पीडितबाट १३ लाख रुपैयाँ र विजयले युके पठाइदिने भन्दै एक जना पीडितबाट पाँच लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो ।' पक्राउ परेकामध्ये इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं तथा विजयलाई वैदशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता आचार्यले बताए ।
मन्त्रिपरिषद् बैठक : जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराइने
काठमाडौं । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । जेनजी सहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न सो अनुदान उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । त्यसैगरी बैठकले घनश्याम पराजुलीलाई उपमहालेखापरीक्षक पदमा बढुवा गरेको छ । राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा पनि गरिएको छ । समस्याग्रस्त सहकारी संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धि कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरिएको पनि मन्त्री खरेलले बताए । मन्त्री परिषद् बैठकले नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारी पत्र, नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धि आदेश, २०८२ वन तेस्रो संशोधन नियमावली २०८२ पनि बैठकले स्वीकृत गरेको मन्त्री खरेलले बताए । उनले भने, ‘राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ । समस्याग्रस्त सहकारी संस्थाको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धि कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा श्री कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय भएको छ ।’ सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धि आदेश, २०८२ वन तेस्रो संशोधन नियमावली, २०८२ पनि स्वीकृत गरेको छ ।
उपत्यकासहित देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्रीमा झर्यो
काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री घटेर सोमबार तीन दशमलव पाँच डिग्रीमा झरेको छ । यही पुस १९ गते काठमाडौंको तापक्रम ४.५ डिग्री रहेकोमा आज बिहान ९ बजे तापक्रम ३.५ डिग्रीमा झरेको छ । हिजो यहाँको तापक्रम ४ डिग्री रहेको थियो । मौसमविद् विनु महर्जनले यो तापक्रम यो वर्षकै कम भएको र तापक्रम यो जनवरी महिनामा क्रमशः घट्दो नै हुने बताए । काठमाडौंसँगै देशका धेरै ठाउँमा तापक्रम घटेको पनि उनले बताए। पुस महिना लागेपछि नै देशभर तापक्रम घट्दो क्रममा रहेकामा सोमबार थप घटेको हो । पुसको पहिलो हप्ताभन्दा दोस्रो र तेस्रो हप्तामा तापक्रम क्रमशः घटेको छ । यही पुस ८ गते काठमाडौंको तापक्रम ४.९ रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्रीमा झरेको थियो । पुस १७ गते तापक्रम घटेर ४.६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो । विभागमा सोमबार अभिलेख गरिएको तापक्रमको विवरण अनुसार देशभरमा सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस ६.३ डिग्री रहेको छ । पुस १९ मा जुम्लामा माइनस ४.९ डिग्री रहेको थियो । दुई दिनको अभिलेख तुलना गर्दा डडेलधुरामा २.७ बाट २.१ डग्रीमा झरेको छ । दिपायलमा ६ बाट आज ४.४ मा झरेको छ । वीरेन्द्रनगरमा ५ बाट ३.८ मा, घोराहीमा ८ बाट ५.७ मा पोखरामा ८.५ बाट ७.९ मा, ओखल्ढुङ्गानमा ४.९ बाट ४.३ मा झरेको छ । भने ताप्लेजुङमा, सिमरा र धनकुटामा थोरैमात्रै बढेको छ । देशमा अधिकतम तापक्रम भने २२ डिग्रीभन्दा तल नै रहेको छ । जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने जनाएको छ । धेरै ठाउँमा दिउँसोबाट खुल्दै जाने जनाइएको छ । हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको छ भने ठाउँठाउँमा खोलाहरु समेत जमेको छ ।