स्विजरल्यान्डलाई ६-१ ले हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । कतारको लुसइल रङ्शालामा आज भएको प्रि(क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६(१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो । पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । स्वीट्जरल्याण्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।
सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता सुरु, विजेताले एक लाख १६ हजार रुपैयाँ पाउने
काठमाडौं । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । नेपाल गल्फर एसोसियनले आयोजना गरेको उक्त प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा हुँदैछ । प्रतियोगितामा नेपालका नम्बर एक शुक्रबहादुर राई, भुवन नगरकोटी, संजय लामा, धन थापा, रामे थापा लगायतले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले १ लाख १६ हजार, उपविजेताले ७४ हजार र तेस्रोले ६३ हजार पाउनेछन् । यस्तै, शीर्ष २१ मा पर्ने खेलाडीले पनि नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
ब्राजिल विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि (क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४ (१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४(० ले अग्रता लियो । खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४(१ गोलअन्तरले आफ्नो पक्षमा पार्यो । यसअघि आजै राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा पराजित गर्दै क्वाटरफाइनलमा पुगेको छ । ब्राजिलले क्वाटरफाइनलमा क्रोएसियासँग खेल्नेछ ।