मेलम्चीको पानी छिट्टै आउँछः खानेपानी मन्त्री चौधरी
काठमाडाैं । खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्ची खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री चौंधरीले केही समयअघि आएको बाढी र पहिरोको कारणले बन्द भएको मेलम्चीको पानी काठमाडौंबासीलाई अस्थायी रुपमा भएपनि छिटोभन्दा छिटो खान पाउने व्यवस्था मिलाउने बताएका हुन् । चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संविधानमा शुद्ध खानेपानी र सरसफाईलाई मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै आफ्नो कार्यकाल भित्रै काठमाडौंबासीका लागि मेलम्ची खानेपानीको व्यवस्था गर्ने बताए। मन्त्री चौधरीले भने, ‘मैले एउटा उद्देश्य पक्कै लिएको छु । आज मेलम्चीको खानेपानी काठमाडौंबासीले खाईरहनु भएको थियो । तर आज बाढिपहिरोको कारणले बन्द भएको छ । संविधानमा मौलिक हकको रुपमा शुद्ध खानेपानी र सरसफाई हरेक नागरिकको अधिकार भएको कारणले काठमाडौंबासीलाई यतिमात्रै म भन्न चाहन्छु–मेरो कार्यकालमा चाँडोभन्दा चाँडो मेलम्ची खानेपानी स्थायी त होईन् तत्काल अस्थायी भएपनि तुरुन्तै आफ्नै कार्यकालमा काठमाडौंबासीलाई खुवाउँछु भन्ने प्रतिवद्धता म व्यक्त गर्न चाहन्छु । आउँदो दिनमा मेलम्चीको खानेपानी तपाईहरुले अवश्य मेरै कार्यकालमा खान पाउनु हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ त्यस अवसरमा मन्त्री चौंधरीले देश र जनताका लागि काम गर्ने सामाजिक संघ, संस्थाहरुलाई सरकारले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए । उनले चन्द्रलोक प्रतिष्ठानजस्ता सामाजिक संघ, संस्थाहरुले समाजमा योगदान पु¥याएका व्यक्ति तथा संघ, संस्थाहरुलाई सम्मान गरेर राष्ट्र र जनताको हितमा काम गरिरहेको पनि बताए ।
उद्यमशील बन्न सीप सिक्दै महिला
तनहुँ । तनहुँका विभिन्न स्थानीय तहले महिलालाई उद्यमशील बनाउन सीप प्रदान गर्न थालेको छ । घरायसी काममा व्यस्त रहने महिलालाई उद्यमी बनाउन स्थानीय तहले सीपमूलक तालिम प्रदान गरेका हुन् । यसले महिलालाई दक्ष बनाउनुका साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको छ । शुक्लागण्डकी नगरपालिका–८ ले वडाभित्रका महिलालाई रङ लगाउने तालिम सञ्चालन गरेको छ । बढ्दो शहरीकरणका कारण घरलगायतका संरचना निर्माण अत्याधिक हुन थालेपछि दक्ष जनशक्तिको माग बढेका कारण महिलालाई तालिम प्रदान गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । “दक्ष जनशक्तिको माग बढेको र अन्य कामको तुलनामा सजिलो पनि भएको हुँदा यसतर्फ महिलाको आकर्षण बढेको छ,” रेग्मीले भने, “त्यसैका लागि महिलालाई दक्ष बनाउन तालिम दिएका हौँ ।” रासस
क्यान पदाधिकारीलाई बोलाएर खेलकुदमन्त्रीले भने–खेलाडीमाथिको कारबाहीबारे पुनर्विचार गर्नुहोस्
काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरीएको कारबाहीमाथी पुनः बिचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथी पुनबिचार गर्न आग्रह गरेका हुन् । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानकालागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री अथकले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरीएको कारबाहीले गलत सन्देश प्रवाह भएको भन्दै चिन्ता समेत ब्यक्त गरे । उनले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन दिए । त्यसक्रममा मन्त्री अथकले खेलाडीहरुको बर्गिकरण प्रक्रियाका बिषयमा समेत चासो राखेका थिए । गत मंसिर २९ गते क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । उक्त निर्णयप्रति मन्त्री अथकले असन्तुष्टि जनाउँदै कारबाहीको निर्णयमाथी पुनविचार गर्न आग्रह गरेका हुन् ।