हाम्रो आरम्भले सम्पन्न गर्यो मौन र्याली, जहाँ आफै बोल्यो प्लेकार्ड (तस्विरसहित)

काठमाडौं । हाम्रो आरम्भले ‘महिलाको लागि सेनेटरी हेरचाह’ मूल नाराका साथ एकदिने मौन र्याली सम्पन्न गरेको छ । कलेज अफ बिजनेस म्यानेजमेन्ट (सीबीएम) को सामाजिक क्लब हाम्रो आरम्भले कलेजको नेतृत्वमा उक्त र्याली आयोजना गरी सम्पन्न गरेको हो । उक्त र्याली मंसिर ११ गते डिल्लीबजारदेखि बसन्तपुरसम्म गरिएको थियो । जहाँ सीबीएम कलेजका विद्यार्थी, शिक्षक र अन्य धेरैको उपस्थिति रहेको थियोे । उपस्थित सबैले विभिन्न प्लेकार्ड बोकेर मौन र्याली गरेको देखिन्छ, जुन आफै बोलेको छ । जस्तै, दिदी बहिनीलाई उपहार के ? मेन्स्ट्रुअल कप, अबको यात्रा मेन्स्ट्रुअल कपको साथमा, अब नि सेनेटरी प्याड ?, गिभ योर सिष्टर अ मेन्स्ट्रुअल कप, परिवर्तन सम्भव छ भन्ने जस्ता प्लेकार्डहरु र्यालीमा सहभागी भएकाहरुको हातमा देख्न सकिन्छ । त्यस्तै, सेनेटरी प्याड मात्रै विकल्पको होइन भन्ने र्यालीको मूख्य उद्देश्य रहेको क्लबकी अध्यक्ष अंकिता अधिकारीले बताएकी छिन् । यसको विकल्पमा हालै मात्रै प्रयोगमा आएको सेनेटरी कपलाई लिन सकिने उनको भनाई छ । ‘सेनेटरी प्याड मात्रै नभई, उपयुक्त विकल्पको रूपमा सेनेटरी कपलाई पनि लिन सकिन्छ भन्ने बारेमा जनचेतना फैलाउन यो मौन र्यालीको आयोजना गरिएको हो,’ अध्यक्ष अधिकारीले भनिन् । त्यस्तै, नेतृत्वको भूमिका खेलेको सीबीएम कलेजका प्राचार्य एवम चार्टर एकाउन्टेन्ट सुमन न्यौपानेले विद्यार्थीको प्रस्ताव बमोजिम उक्त र्यालीको नेतृत्व गरेको बताएका छन् । विद्यार्थीले हालै मात्रै प्रयोगमा आएको सेनेटरी कपको बारेमा र्याली गरेर थोरैलाई नै भएपनि जानकारी दिऔं भन्ने प्रस्ताव गरेको न्यौपानेले जनाए । ‘र्यालीमा १०० जनालाई भेला गराई, २०० जनासम्म सन्देश पुर्याउन सके ३०० जनाले सेनेटरी कपको बारेमा शिक्षा पाउन सक्छन् भन्ने विद्याथीको प्रस्ताव थियो, र यो मौन र्याली गर्यौं, जुन प्रभावकारी बनेको छ,’ न्यौपानेले बताए । तस्विरमा यस्तो देखियो

एकदिने रक्तदान क्याम्पमा १६३ जनाले दिए रक्तदान

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको युवा रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पसले आयोजना गरेको ‘बृहत रक्तदान कार्यक्रम’ मा १६३ जनाले रक्तदान गरेका छन् । ‘रक्तदान जीवनदान’को मूल मन्त्रलाई शिरोपर गर्दै वाईआरसी एनसीसीले उक्त एकदिने कार्यक्रमको आयोजना गरेको हो । वाईआरसी एनसीसीले मंसिर १० गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म एनसीसीको प्राङ्गणमा उक्त कार्यक्रमको आयोजना गरेको थियो । वि.स. २०४९ सालमा स्थापित यु रे स नेपाल कमर्श क्याम्पसले स्थापित कालदेखि नै हरेक ३-३ महिनाको अन्तरालमा निरन्तर रुपमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । योभन्दा अगाडिको जस्तै शुक्रबारको कार्यक्रममा पनि क्याम्पसका विभिन्न विद्यार्थी सङ्गठन र विभिन्न संकायमा अध्ययनरत दाजुभाइ तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति थियो । प्री प्लानसँगै टीममा काम गर्ने भएर पनि हरेक कार्यक्रम सफल हुने गरेको युवा रेडक्रस सर्कल नेपाल कमर्श क्याम्पसका अध्यक्ष कुशल बस्नेतले बताए । ‘हामी व्यवस्थापनको विद्यार्थी, हरेक कुरा प्रि प्लान गरेर टिममा काम गर्छौं, त्यसैले पनि हाम्रो हरेक कार्यक्रम सफल रुपमा सम्पन्न हुने गर्छ,’ उनले भने । त्यस्तै, आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दै अध्यक्ष बस्नेतले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।

एउटै गाउँपालिकाले १ करोड बराबरको ग्यासचुल्हो वितरण गर्दै, वन बचाउने रणनीति

काठमाडौं । दार्चुलाको अपि हिमाल गाउँपालिकाले १३ सय घरधुरीलाई निःशुल्क ग्यास र चुल्हो वितरण गरेको छ । गाउँपालिकाले शनिबारबाट ग्यासको सिलिन्डर र चुल्हो वितरण गर्न थालेको हो । गाउँपालिकाले पालिकालाई प्रदूषण मुक्त बनाउनको लागि ग्यास र चुल्हो वितरणको कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालले बताए । उनका अनुसार ग्यास र चुल्हो गाउँपालिकाको प्रत्येक वडाबाट वितरण हुँदैछ । पालिकाले नै १३ सय वटा ग्यासको सिलिन्डर र चुल्हो खरिद गरी निःशुल्क वितरण गरेको हो । पालिकाले ९५ लाख रुपैयाँमा ग्यास खरिद गर्ने टेन्डर गरेको थियो । धुँवाले गर्दा जनताको स्वास्थ्यमा असर पुर्याउने र दाउराको उपयोगलाई कम गर्न ग्यास वितरण गरेको अध्यक्ष मन्यालले बताए । उनका अनुसार पालिकाको धेरै ठाउँमा सडक पुगेको छैन । ‘सडक नभएको स्थानमा ग्यास सकियो भने बोकेर लानु पर्छ, उक्त समस्याको समाधान गर्नको लागि छिट्टै नै सडक निर्माणको कार्य अगाडि बढाइने छ,’ उनले भने । हाल पालिकाको कुनै पनि वडामा बिजुलीको पहुँच पुगेको छैन । केही ठाउँमा राष्ट्रिय प्रसारण लाइनको काम हुँदैछ । तर, केही ठाउँमा विरोध र विवादका कारण उक्त काम पनि रोकिएको पनि मन्यालले जानकारी दिए । ग्यास र चुल्हो वितरण गर्दा स्थानीय पनि खुसी भएको मान्यालले बताए । सिलिण्डर र चुल्हो वितरण कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाको ९५ लाख बजेटमा टेण्डरमार्फत कम्पनी छनोट गरेर कम्पनीले नै खरिद गरेको र गाउँपालिकाले निःशुल्क ग्यास सिलिण्डर र चुल्हो वितरण गरेको गाउँपालिकामा कार्यरत कर्मचारी पानसिह धामीले बताए । ‘गाउँपालिकामा दाउरा खोज्न निकै समस्या छ, गाउँपालिकाले ग्यास सिलिण्डर वितरण गरेपछि वन संरक्षण हुनुका साथै दाउरा र धुँवाको झन्झट हट्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने । अपिहिमाल गाउँपालिकाले स्वच्छ अपि, धुँवामुक्त अपि कार्यक्रम अन्तर्गत गाउँपालिकाभरीका १३ सय घरधुरीलाई ग्यास सिलिण्डरसहित चुल्हो वितरण गरेको उनको भनाई छ । चालु आर्थिक बर्ष २०७८/०७९ को कार्यक्रम अन्तरगत गाउँपालिका अन्तरगत छ वटै वडाका सबै परिवारलाई ग्यास सिलिण्डर र चुल्हो वितरण हो ।