गौतमबुद्ध कप मङ्सिर २७ गतेदेखि शुरू, तीन टोलीले सहभागिता जनाउने

चितवन । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक वाग्मती प्रदेश क्रिकेट सङ्घले प्रतियोगितामा सहभागिता जनाउने तीन वटा टोलीको नाम सार्वजनिक गरेको हो । प्रतियोगितामा टिम वाग्मती, टिम नारायणी र टिम राप्तीले सहभागिता जनाउने सङ्घका कोषाध्यक्ष अनिल अधिकारीले जानकारी दिए । वाग्मतीको कप्तानमा राष्ट्रिय टोलीको समेत कप्तान रहेका ज्ञानेन्द्र मल्ल रहेका छन् । यस्तै नारायणीको कप्तान पूर्वराष्ट्रिय कप्तान पारस खड्का र राप्तीको कप्तानमा विनोद भण्डारी रहेका छन् । प्रतियोगिताको पहिलो खेलमा मङ्सिर २७ गते ज्ञानेन्द्र मल्लको वाग्मती र पारस खड्काको नारायणी भिड्नेछन् । दोस्रो खेलमा मङ्सिर २८ गते वाग्मती र विनोद भण्डारीको राप्ती भिड्नेछन् भने तेस्रो खेलमा राप्ती र नारायणी भिड्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल मङ्सिर ३० गते हुने अधिकारीले जानकारी दिए । कोरोना सङ्क्रमणका कारण दर्शकदीर्घा भने खाली हुने भएको छ । अधिकारीले भने, ‘खेल राष्ट्रियस्तरको टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने छ । दर्शकदीर्घा खाली हुनेछ ।’ प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्राविधिक सहयोग गर्नेछ भने वाग्मती प्रदेश खेलकूद विकास समिति र भरतपुर माहानगरपालिकाको आर्थिक सहयोग गर्नेछ । कोभिड-१९ का कारण ठप्प रहेको क्रिकेट गतिविधिलाई पुनः चलायमान गर्दै रङ्गशालाको प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको हो । रासस

धादिङमा चेपाङ किशोरीका लागि छात्रावास भवन बन्दै, लागत एक करोड १५ लाख रुपैयाँ

धादिङ । गजुरी गाउँपालिका वडा नम्बर १ हाँगेटारमा चेपाङ किशोरी छात्रावास भवन बन्ने भएको छ । साढे चार रोपनी क्षेत्रफलमा ३० किशोरी बस्न मिल्ने भवन निर्माण गर्न लागिएको हो । प्रयास नेपाल धादिङले प्लानेट इन्फान्ट एण्ड डेभलपमेन्ट, फ्रान्ससँगको साझेदारीमा निर्माण गर्न लागेको हो । साढे चार रोपनी क्षेत्रफलमा छात्रावास भवन, भान्सा तथा डाइनिङ भवन, पुस्तकालय तथा पढाइ भवन, पालेघरसहितको भवन एक करोड १५ लाख रुपैयाँको लागतमा निर्माण गरिने योजना गरिएको भवन २०७८ जेठमसान्तसम्म सम्पन्न हुने प्रयासका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए । जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आज भवन शिलान्यास गर्दै विकासका काम कुनै पनि बहानामा नरोक्न आग्रह गरे । चेपाङ किशोरीको शैक्षिक विकासका लागि किशोरी चेपाङ समुदायलाई लक्ष्य गरेर निर्माण गरिने छात्रावासबाट किशोरीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने जनाउँदै शिक्षाका माध्यमबाट सामाजिक रुपान्तरण अभियानमा सहकार्य निरन्तर रहने अपेक्षा सहयोगी साझेदार संस्थाले गरेको छ । गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले भौगोलिक विकट स्थानबाट उच्च शिक्षाका लागि आएका चेपाङ किशोरीको पढाइमा सहयोगका लागि विकास साझेदारसँगको समन्वय तथा सहकार्यमा निर्मित छात्रावासको सही प्रयोग तथा व्यवस्थापनमा आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा १६ दिने लैङ्गिक हिंसाविरुद्धको दिवसको अवसर पारेर प्रकाशित ‘लैङ्गिकतामा आधारित मुद्दामा समुदाय सशक्तीकरण सहयोगी सामग्री’ नामक पुस्तक विमोचन गरिएको थियो । रासस

ल्याण्डमार्क सामूहिक बलात्कार घटनाः मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख रुपैयाँ क्षतिपूर्ति

काठमाडौं । उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश किरण पौडेलको इजलासले आज काठमाडौं जिल्ला अदालतले गरेको फैसला सदर गर्दै उक्त फैसला सुनाएको हो । काठमाडौं जिल्ला अदालतले २०७६ कात्तिक २७ गते उक्त फैसला गरेको थियो । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा २०७५ माघ ७ गते शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलले १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गरेका थिए । उक्त घटनामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले २०७६ कात्तिक २१ गते मुख्य अभियुक्त रामेछापका शैलेश कार्कीलाई पाँच वर्ष दुई महिना कैद हुने र पीडित युवतीलाई सात लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । उक्त घटनामा संलग्न तीनजना अभियुक्तलाई जनही १४ महिनाको कैद गर्ने फैसला सुनाइएको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध २०७७ साल भदौ २५ गते उच्च अदालतमा पुनरावेदन दर्ता भएको थियो । सोही मुद्दाको सुनुवाइपछि उच्च अदालतले जिल्लाकै सदर गर्ने फैसला गरेको हो । रासस