प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशको समग्र सुरक्षा अवस्थाबारे छलफल गरेकी छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उनले गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग वर्तमान सुरक्षा अवस्थाको मूल्याङ्कन गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा हालको सुरक्षा अवस्था र सम्भावित चुनौतीबारे विस्तृत समीक्षा गरिएको थियो । बैठक झण्डै दुई घण्टासम्म चल्यो । सुरक्षा निकायका प्रमुखहरूले आ–आफ्नो क्षेत्रको सुरक्षा अवस्था र जोखिमबारे जानकारी दिँदै आगामी दिनमा आवश्यक कदम चाल्न सुझाव दिएका थिए । प्रधानमन्त्री कार्कीले बैठकपछि सुरक्षामा कुनै कमजोरी नहोस् भनेर तत्काल आवश्यक निर्देशन दिएकी बताइएको छ ।
छठ मनाउन काठमाडौं महानगरले तोक्यो ८ स्थान
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र छठ पर्व मनाउन ८ स्थान तोकेको छ । काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएका हुन् । उनकाअनुसार महानगरले कमलपोखरी, गौरीघाट, बोक्सीदह, वागमती दोभन, टंकेश्वर, बल्खु कुमारी क्लव अगाडी, कुलेश्वर भलिबल ग्राउण्ड र रामघाट छठ मनाउनको लागि तोकिएको छ । यी ठाउँहरुमा महानगरले सरसफाईको कार्य थालनी गरेको पाण्डले जानकारी दिए । उनकाअनुसार ३ सय भन्दा बढी सरसफाइकर्मीहरु खटिएका छन् । काठमाडौं महानगरले छठ पर्व मनाउनको लागि कुनै कमी नहुने गरी व्यवस्थित रुपमा तयारी गरिएको उनले जानकारी दिए । उनले छठ पर्वको नाममा ताल पोखरीमा पैसा उठाउन नपाउने बताए । कसैले कुनै प्रकारका शुल्क लिन खोजेमा जानकारी गराउन पनि आग्रह गरे । उनले छठ पर्व मनाउन तोकिएको ठाउँमा सवारी पार्किङ नगर्न पनि आग्रह गर्नुभयो । यसवर्ष कात्तिक १० गते छठ पर्व मनाइँदैछ । छठ पर्व नदी किनारामा गएर सूर्यको पूजाआराधाना गरेर मनाइन्छ ।
रुकुम पश्चिम जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या आठ पुग्यो
काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । शुक्रबार साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठविसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको जिल्ला अस्पताल सल्लेमा पु¥याएको बेला मृत्यु भएको हो । मृत्यु हुनेमा आठविसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीया कमला वली, सोही स्थानका १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बुढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, आठविसकोट नगरपालिका १ कि १५ वर्षीया कल्पना नेपाल र २८ वर्षीया सविता विक रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी १० जना घाइते भएका छन् । घाइते हुनेमा आठविसकोट नगरपालिका–२ कि १७ वर्षीया सिर्जना बुढा, १५ वर्षीया सपना नेपाल, १८ वर्षीया जुना बुढा, १७ वर्षीया संगिता बुढा र १९ वर्षीया शान्ति बुढा रहेका छन् । त्यस्तै अन्य घाइते हुनेमा १७ वर्षीया अञ्जना ऐरी, २० वर्षीया महिमा ओली, १७ वर्षीया मनिषा थापा, १५ वर्षीया सविता विक र गाडी चालक ३४ वर्षीय टोपजङ्ग बुढा रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिए। नौ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ भने १८ वर्षीया जुना बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ । जिप सडकदेखि ७०० मिटर तल खसेको थियो । ओभर लोड र साँघुरो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।