क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिङ पक्राउ

काठमाडौं । प्रहरीले क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङलाई पक्राउ गरेको छ । चिङलाई ठगीसम्बन्धी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।      उनले भने, 'क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरी ठगी गरेको आरोपमा प्रहरीले यसअघि क्यासिनोबाट चार भारतीय र दुई नेपालीलाई पक्राउ गरेको थियो,  सोही विषयको अनुसन्धानका लागि चिङलाई पक्राउ गरिएको हो ।'      अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामा ‘क्यासिनो इभेन्ट’का नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीले जनाएको छ ।    

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् ।     सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी र राजनीतिक पार्टीहरूको तदारुकताका कारण निर्वाचन सुनिश्चित भएको बताए ।      उनले प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचनको माहोल बनेको उल्लेख गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धताका साथ अघि बढेको सरकारलाई सहयोग गर्न सबैसँग अनुरोध गरे ।      सञ्चारमन्त्री खरेलले जनतालाई सुसूचित गर्ने जिम्मेवारीमा रहेको आमसञ्चार क्षेत्रमाथि प्रश्न उठिरहेको चर्चा गर्दै सकारात्मक सोचका साथ अझ निष्पक्ष, सिर्जनशील, विश्वसनीय र तथ्यमा आधारित वस्तुनिष्ट समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारकर्मीसँग अनुरोध गरे ।  

रवि-बालेन लक्षित शंकरको टिप्पणी : नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच भएको सातबुँदे सहमतिलाई नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको दोस्रो चरणको तयारी भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले भाद्र २३ र २४ गतेका घटनालाई भूराजनीतिक द्वन्द्वसँग जोड्दै त्यसलाई षड्यन्त्रको पहिलो चरणका रूपमा व्याख्या गरेका छन् । 'भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो,' उनले लेखेका छन्, 'अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदैछ।' उनले यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक रहेको औँल्याएका छन् । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ छ । पोखरेलले भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरिएको दाबी गर्दै त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरिएको बताएका छन् । त्यतिबेलाका विध्वंसकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने विषय क्रमशः सार्वजनिक हुँदै गएको उनको भनाइ छ । रवि लामिछाने र बालेन शाहबीच सातबुँदे राजनीतिक सहमति भएपछि पोखरेलको यस्तो अभिव्यक्ति आएको हो ।