‘आइएमई पे’ ले फेसबुकमार्फत सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम गर्दै

काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले नयाँ वर्ष २०७७ का अवसरमा सामाजिक सन्देश सहितको सांगीतिक कार्यक्रम आयोजना गर्न लागेको छ । कार्यक्रम २०७६ सालको आन्तिम दिन अर्थात २०७६ साल चैत ३० गते आइतबार साँझ छ बजेदेखि नौ बजेसम्म कम्पनीको आधिकारिक फेसबुक पेज र यूट्युव च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ । यसपटकको नयाँ वर्ष लामो समयदेखि कायम लकडाउनको अवधिमा परेको छ । नयाँ वर्ष मनाउन बाहिर जान नपाउने अवस्थालाई ध्यान दिँदै आम सेवाग्राहीहरुको मनोरञ्जनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो । प्रत्यक्ष प्रसारणमा कलाकारहरू शिरीष दली र बर्तिका एअम राईले ‘घरमै सुरक्षित बसौँ’ भन्ने सामाजिक सन्देश सहितको साँगीतिक कार्यक्रम मार्फत नयाँ बर्ष २०७७ लाई स्वागत गर्नेछन् भने मिस नेपाल २०१७ निकिता चन्दकले केहि दर्शकहरुसँग वार्तालाप गरी सामाजिक सन्देशको प्रवर्द्धन गर्ने ग्रुपले जनाएकाे छ । कार्यक्रम माथि उल्लेखित मिति र समयमा http://www.facebook.com/imepay/ र आइएमईको यूट्युव च्यानलमा निःशुल्क उपलब्ध हुनेछ भने कार्यक्रम केटीएम लाइभले व्यवस्थापन गर्ने कम्पनीले जनाएकाे छ ।

सुदूरपश्चिमका मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न मुस्किल

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न देशमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ । सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न निकै मुस्किल भएको छ । दैनिक ज्याला मजदुरी गरी खाने परिवारलाई लकडाउनका कारण काम नपाइँदा समस्या भएको छ । मुक्त हलिया हरि दमाईले ज्याला मजदुरी गरेर ल्याएको रकमले खरिद गरिएको खाद्यान्न सकिएपछि छिमेकीसँग मागेर गुजारा चलाएको बताए । “छिमेकीको घरमा समेत भण्डारण गरिएको अन्न सकिन थालेपछि उनीहरुले समेत दिन छाडेका छन् । खाद्यान्न नपाइने अवस्था आएकाले भोकै बस्नुपर्ने भएको छ”, उनले भने । स्थानीय तह र विभिन्न दातृ निकायले राहत सामग्री बाँड्दै आए पनि मुक्त हलिया परिवारले राहत सामग्री पाउन सकेका छैनन् । “कोरोना भाइरसको सङ्क्रमण हुनबाट जोगिन घरबाट बाहिर ननिस्कन भनिएको छ”, मानध्वज लुहारले भने, “घरभित्र खानका लागि केही छैन, भोकै बस्न सकिँदैन । गाउँमा गएर मागेर ल्याउनुपरेको छ । गाउँमा समेत स्थानीय बासिन्दाले दिन नमान्दा भोकभोकै परिवारसँग बस्नुपर्ने भएको छ ।” राष्ट्रिय मुक्त हलिया महासङ्घका केन्द्रीय अध्यक्ष ईश्वर सुनार देश लकडाउन भएको १९ दिन बितिसक्दा मुक्त हलिया परिवार राहतको पर्खाइमा रहेको बताए । सरकारले राहत वितरणसम्बन्धी कार्यविधि निर्माण गरी निश्चित मापदण्डका आधारमा अतिविपन्न परिवारलाई स्थानीय तहमार्फत एकद्वार प्रणालीबाट राहत वितरणको कार्य भइरहेको छ । “राहत पाउनेमा थोरै नगण्य मात्रामा मुक्त हलिया परिवार समेटिएका छन्”, उनले भने, “अधिकांश परिवार राहत पाउनबाट वञ्चित छन् । कठिन अवस्थामा लकडाउनको प्रत्यक्ष मारमा परेका मुक्त हलिया परिवारलाई प्राथमिकतामा राखी राहत वितरण गरिनु पर्दछ ।” धेरै मुक्त हलिया परिवार भोकभोकै बसेको खबर र गुनासो आएकाले तत्काल राहतको व्यवस्था गरिनुपर्ने उनको भनाइ छ । मुक्त हलिया परिवारलाई तीनै तहका सरकार, राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला सबैलाई दैनिक उपभोग्य वस्तु र सरसफाइका सामग्री उपलब्ध गराइदिनसमेत उनले आग्रह गरे । लकडाउनको पालनासँगै राहतका लागि समन्वय गर्न जिल्लास्थित मुक्त हलिया सङ्गठन, मुक्त हलिया अगुवाहरुलाई अध्यक्ष सुनारले भने । सुदूरपश्चिम क्षेत्रमा झण्डै १६ हजार बढी मुक्त हलिया परिवारको बसोबास छ । महाकाली अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर सहयोग कञ्चनपुरको भीमदत्त नगरमा रहेको महाकाली अस्पताललाई कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी अक्सिजन ग्यास सिलिण्डर सहयोग गरिएको छ । लायन्स क्लब अफ कञ्चनपुरले अस्पताललाई २५ ग्यास सिलिण्डर सहयोग गरेको हो । लायन्स क्बलले केही दिनअघि नगरपालिकाको छलफल कार्यक्रममा कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी अस्पतालमा अक्सिजन अभाव हुन नदिन १०० थान सिलिण्डर सहयोग गर्ने प्रतिबद्धता गरेअनुरुप पहिलो चरणमा अस्पताललाई क्लबले २५ ग्यास सिलिण्डर सहयोग गरेको हो । अन्य ७५ सिलिण्डर केही दिनमै सहयोग गरिने क्लबका अध्यक्ष माधवप्रसाद जोशीले बताए । अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले क्लबको सहयोगपछि अस्पतालमा अक्सिजन ग्यासको अभाव नहुने बताए । “कोरोना महामारीमा ग्यास अभाव हुने चिन्ता थियो । अब त्यस्तो हुँदैन । शनिबार २५ सिलिण्डर सहयोग गरिएको छ, अर्को दिन बाँकी सहयोग हुनेछ”, अध्यक्ष जोशीले भने । नगरपालिकाले समेत केही महिनाअघि अस्पताललाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको थियो । डेरामा बसेका विद्यार्थीलाई विद्यालयको खाद्यान्न डेरा गरी बस्दै आएका विद्यार्थीलाई कञ्चनपुरको भीमदत्तनगरमा रहेको महेन्द्र माध्यमिक विद्यालयले खाद्यान्न वितरण गरेको छ । विद्यालयले राहत कोष स्थापना गरी डेरामा बस्दै आएका विद्यार्थीलाई खाद्यान्न वितरण गर्न शुरु गरेको हो । शनिबार नौ डेरामा बस्दै आएका विद्यार्थीलाई राहत सामग्रीका रूपमा खाद्यान्न वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रराज विष्टले बताए । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुरुप खाद्यान्न सामग्री वितरण गरिएको उनको भनाइ छ । अध्यक्ष विष्टले सरकारी राहतको मुख ताक्नुभन्दा पनि विद्यालयले आफ्नै कोषबाट राहत वितरण गरेको बताए । उनका अनुसार जनप्रतिनिधि एवं सरकारी निकायको रहोबरमा चामल, दाल, तेललगायतका खाद्यान्नका साथै सुरक्षा सामग्री वितरण गरिएको छ । रासस

कुहिएको चामल राहतमा, स्थानियवासीले गरे फिर्ता

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को रामग्राम नगरपालिकाले राहतस्वरुप कुहिएको चामल बाँडेको भन्दै स्थानीयवासीले नगरपालिकालाई नै फिर्ता गरेका छन् । राहत चामल गुणस्तरहीन भएको गुनासो आएपछि नगरपालिकाले तत्कालका लागि राहत वितरण रोक्न सवै वडा कार्यालयलाई निर्देशन दिएको छ । नगरपालिकाले राहत भन्दै दिएको चामल कुहिएकाले वडाध्यक्षलाई फिर्ता दिइएको रामग्राम–६ का सोहन केवटले बताए । “हामीले खानै नसक्ने सडेको चामल दिइएको छ, तौलमा पनि कम छ, सोयाबिनमा पनि कीरा परेको छ, हामीले कसरी खाने ?”, उनले भने । नगरपालिकाले पहिलो चरणमा दश किलोको दरले चामल वितरण गरेको थियो । त्यसमा पनि आधादेखि एक किलोसम्म तौलमा कमी भेटिएको स्थानीयवासीको गुनासो छ । नगरपालिकाले राहतका नाममा मजदुर वर्गको स्वास्थ्यमाथि खेलबाड गरेको आरोप स्थानीयवासी सुरेन्द्र कोहाँरले लगाए । राहतस्वरुप वितरण गरिएको चामल, स्वायबिन लगायत गुणस्तरहीन भेटिएपछि राहत पाएका रामग्राम–३,६ र ११ का अधिकांशले वडाध्यक्ष तथा नगरपालिकामा लगेर फिर्ता गरेका हुन् । नगरपालिकाले राहत वितरणमा गम्भीर त्रुटि गरेको आरोप समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले भने । अहिलेको अवस्थामा सङ्कटको बेला फाइदा उठाउन खोज्ने जो कोहीलाई पनि कारवाही गर्नुपर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले माग गरे । नगरपालिकाले लकडाउनका कारण प्रभावित बनेका नगरका दुई हजार ३ सय अतिविपन्न तथा मजदूर वर्गलाई बिहीबारदेखि पहिलो चरणको राहत वितरण थालेको हो । पहिलो चरणमा प्रतिपरिवार दश किलो चामल, एकएक किलो दाल र नुन, आधा किलो सोयाविन र दुई साबुनको दरले राहत वितरण गरिएको हो । नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले चामलको गुणस्तरमा गुनासो आएकाले आवश्यक जाँचबुझ अघि बढाइएको बताए । “यसमा त्रुटि भएको भए नैतिक रुपमा नगरपालिकाका तर्फबाट म जिम्मेवारी लिन्छु, यसलाई सुधार गर्ने प्रक्रिया हामी अगाडि बढाउँछौं, बाँडेको सबै चामल शुक्रबार नगरपालिकामा झिकाएर गुणस्तर जाँच गर्छौं र गुणस्तर चामल वितरण गर्छौं ।” रासस