कोरोना कहरः भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा
न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा बढी भेन्टिलेटरको खोजीमा निस्किएका छन्, तर कतिपय चिकित्सकहरु यो श्वासप्रश्वासमा सहजीकरण गर्ने उपकरणको प्रयोग गर्न त्यति उत्सुक देखिन छाडेका छन् । कारणः केही ठूला अस्पतालहरुले भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित बिरामीहरुको मृत्युदर बढी देखिएको जनाएका छन्, र कतिपय चिकित्सकहरुले केही निश्चित किसिमका बिरामीलाई यी मेसिनले हानि पुर्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् । आफूहरुसँग विकसित उपचार पद्धति उपलब्ध भएपनि अमेरिकी चिकित्सकहरू भाइरसको सही उपचार पद्धति खुट्याउन प्रयत्नरत छन् । उनीहरू बिरामीहरुको लगातारको मृत्यु र आधारभूत स्वास्थ्य सामग्रीको अभावबीच मानिसका कथा र यथार्थपरक तथ्यांकमा निर्भर रहेका छन् । मेकानिकल भेन्टिलेटरहरूले बिरामीको फोक्सोमा खराबी आएपछि अक्सिजन दिन सहयोग गर्दछ । मेशिनको प्रयोग गर्दा बिरामीलाई बेहोस बनाउनु र घाँटीमा ट्युब छिराउनु पर्दछ । यस्ता बिरामीहरूको कुनै पनि बेला मृत्यु हुनु सामान्य हुन्छ, र श्वासप्रश्वासमा गरिएको यो सहयोगको यस्तो बेलामा केही अर्थ हुँदैन । सामान्यतया भन्नुपर्दा, विज्ञहरुका अनुसार श्वासप्रश्वासका ४० देखि ५० प्रतिशत गम्भीर बिरामीको भेन्टिलेटरमै मृत्यु हुन्छ । तर न्यूयोर्क शहरमा यिनै भेन्टिलेटरमा राखिएका ८० प्रतिशत वा सोभन्दा बढी कोरोनाभाइरस बिरामीहरूको मृत्यु भएको छ । अमेरिकन लङ एसोसिएसनका प्रमुख मेडिकल अधिकृत डा अल्बर्ट रिज्जोले अमेरिकामै सामान्यभन्दा बढी मृत्युदर रिपोर्ट गरिएको बताए । यस्तै रिपोर्टहरू चीन र बेलायतबाट पनि आएका छन् । एउटा बेलायती रिपोर्टमा यो संख्या ६६ प्रतिशत देखिएको छ । चिनियाँ शहर वुहानमा गरिएको एउटा सानो अध्ययनमा भेन्टिलेटरमा राखिएका बिरामीमध्ये ८६ प्रतिशतको मृत्यु भएको थियो । यद्यपी यसको कारण स्पष्ट भइसकेको छैन । यो रोगबाट संक्रमित हुनुअघि बिरामीको अवस्थामाथि पनि विचार गरिनु आवश्यक हुन्छ । कतिपय विज्ञहरुको भनाईमा बिरामीलाई कुन अवस्थामा भेन्टिलेटरमा राख्ने भन्ने सही समय पहिचान आवश्यक रहन्छ । तर धेरैजसो स्वास्थ्यकर्मीहरु भेन्टिलेटरको प्रयोग गर्दा बिरामीहरुको स्वास्थ्य अरु बिग्रन्छ वा यसले हानिकारक प्रतिरक्षा प्रणाली निर्माण गर्दछ भन्नेमा खासै जानकार छैनन् । त्यो अनुमान हो । तर विज्ञहरू भन्छन्, भेन्टिलेटरहरू बिरामीका लागि समयक्रममा हानिकारक हुन सक्दछन्, किनकि मेसिनको सहयोगमा उच्च–दबाबको अक्सिजनलाई बिरामीको फोक्सोमा रहेको सानो हावाको थैलीमा जबरजस्ती छिराइन्छ । टोरन्टो जनरल अस्पतालका श्वासरोग उपचारका विशेषज्ञ डा एडी फानले भन्नुहुन्छ, “मेकानिकल भेन्टिलेसन त्यति राम्रो होइन भन्ने हामी सबैलाई थाहा छ । पछिल्ला केही दशकमा पत्ता लागेको कुरा के हो भने मेडिकल भेन्टिलेटरले फोक्सोलाई बिगार्न सक्दछ – त्यसैले हामीले यसको प्रयोग गर्नुअघि विशेष सावधानी अपनाउनु पर्दछ ।” डा फानले भन्नुभयो, मेसिनबाट दिइएको दबाबको मात्रा र श्वासप्रश्वासको संख्यालाई सीमित गरेर खतराहरूलाई कम गर्न सकिन्छ । तर केही चिकित्सकहरुले बिरामीहरूलाई सकेसम्म लामो समय भेन्टिलेटरमा नराखिएको बताएका छन् । र त्यसको सट्टा अन्य प्रविधिहरूको प्रयोगमा जोड दिइएको छ । न्यूयोर्क शहरमा केही हप्ताअघि निकै बिरामी परेका कोरोनाभाइरसका बिरामीहरूलाई नियमित रूपमा सास फेर्न अप्ठ्यारो भएपछि भेन्टिलेटरमा राखिएको थियो, म्यानहट्टन अस्पतालमा काम गर्ने आपतकालीन चिकित्सक डा जोसेफ हब्बुसेले बताए । तर धेरैजसो अवस्थामा फिजिसियन चिकित्सकहरूले अन्य उपायहरू अपनाउन खोजेको पाइएको छ । तीमध्ये एउटा हो, बिरामीलाई विभिन्न तरिकामा राख्न र सुताउन । अर्को तरिका हो, नाकबाट ट्युब वा अन्य उपकरण घुसाएर बिरामीहरूलाई स्वाभाविक रुपमा बढी अक्सिजन दिए । केही डाक्टरहरूले फोक्सोको कम क्षतिग्रस्त भागहरूमा रक्त प्रवाह र अक्सिजन पु–याउन नाइट्रिक अक्साइड प्रयोग गरिरहेका छन् । “यदि हामीले उनीहरूलाई यिनै विधिबाट आराम दिलाउन सक्यौं भने यसको नतिजा पनि राम्रो हुनेछ,” ह्याबाउसले भने । भान्डर्बिल्ट विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा विलियम श्याफ्नरले भन्नुभयो, “कोरोनाभाइरसका बिरामीहरूलाई अन्य प्रकारका बिरामीहरूको तुलनामा लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्छ भन्ने भनाई छ ।” विज्ञहरू भन्छन्– ब्याक्टेरियल निमोनियाका बिरामीहरूलाई, उदाहरणका लागि, पनि भेन्टिलेटरमा एक वा दुई दिन भन्दा बढी राख्नु हुँदैन । तर कोरोनाभाइरसका बिरामीलाई भेन्टिलेटरमा “सात दिन, १० दिन, १५ दिन” राखिएको छ र उनीहरुकै मृत्यु भइरहेको छ,” न्यूयोर्क राज्यका गभर्नर एन्ड्र्यू कुमोले बुधबार आयोजित ब्रिफिङका क्रममा बताए । भेन्टिलेटरहरू छोटो समयमा आपूर्ति हुन निकै कठिन हुन्छ । विज्ञहरूले कोरोना पीडितको संख्या बढ्दै जाँदा चिकित्सकमाथि कसलाई भेन्टिलेटरमा राख्ने र कसलाई नराख्ने भन्नेमा द्विविधा उत्पन्न हुने बताउँछन् । न्यूयोर्क राज्य स्वास्थ्य आयुक्त डा होवार्ड जुकरले बुधबार अधिकारीहरूले उपचारका लागि भर्ना हुने हरेक बिरामीका लागि अन्य सम्भाव्य उपचार विधिका बारेमा खोज गरिरहेको बताए। तर उनले भने, “यो सबै प्रयोगात्मक नै हुनेछ ।” “भेन्टिलेटर उपचारात्मक होइन । बिरामीको शरीरको पुनः सुधार हुँदासम्मका लागि यो सहयोगी उपाय मात्र हो,” फ्लोरिडाको मियामी स्वास्थ्य प्रणाली विश्वविद्यालयका फोक्सो विशेषज्ञ डा रोजर अल्भारेजले बताए । नाइट्रिक अक्साइडको प्रयोग गरेर बिरामीलाई सकेसम्म कम भेन्टिलेटरमा राख्न सकिने पद्धतिका बारेमा उनले निकै सफलता हासिल गरे । ज्याचारी शेमटोबले आफ्ना ४५ वर्षीय श्रीमानलाई कोरोना संक्रमण भएपछि भेन्टिलेटरमा राख्नुपर्छ भन्दा आफूलाई निकै डर लागेको बताए। “भेन्टिलेटरमा राख्नु भनेको कहिल्यै पनि भेन्टिलेटर हटाउनु होइन भन्ने मलाई लागिरहन्छ ।” रासस/एपी
यात्रु घर पठाउने गाडीको व्यवस्था सरकारले नै गर्ने, कुन-कुन रूटमा चल्छन् ?
काठमाडौं । सरकारले काठमाडौंमा रहेकाहरुलाई घर आफ्नो जिल्लामा जाने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोली र पर्सी उपत्यका बाहिर जान दिने निर्णय गरेको हो । स्रोतका अनुसार लकडाउनको कारण काठमाडौंमै रहेका नागरिकहरुलाई सरकारले स्कटिङ गरेर घर पठाउने छ । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । अब सरकारले उनीहरुको सहजका लागि दुई दिन गाडी उपलब्ध गराउने भएको छ । विभिन्न जिल्लामा जानका लागि सरकारले नै गाडीको व्यवस्था गर्ने स्रोतले बतायो । लकडाउन अझै लम्बिने अवस्था आयो भने दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार लामो दुरीको रुटमा सरक्षाकर्मीले स्कटिङ गरेर लैजानेछ भने छोटो दुरीको हकमा कसरी लैजाने भने गृहमन्त्रालयले तयारी गरिरहेको छ । घर जान चाहनेलाई स्थानीय तहसँग समन्वय गरी पठाउन लागिएको स्रोतले जानकारी दिएको छ । स्राेतका अनुसार उपत्यका बाहिरका सबै जिल्लामा केही सीमित गाडीहरूकाे व्यवस्था गरी घर पठाइने बताएकाे छ । हालसम्म गाडी कुन-कुन जिल्ला पठाइने हाे वा कुन-कुन रूटमा गाडी चलाइने हाे भन्ने यकिन खुलेकाे छैन । तर, यात्रुकाे संख्या हेरेर गाडी पठाउन सकिने बुझिएकाे छ ।
भारतमा अलपत्र परेकाको पीडा: रोगले भन्दा भोकले मरिन्छ की भन्ने डर , दुताबासको फोन नै उठ्दैन
भीमदत्तनगर । कोभिड—१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन् । उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नगरपालिका–४ का जगदीश भण्डारीले आफूहरु २२ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिए । “एउटा सानो कोठामा १२÷१५ जना खादिएर बसेका छौँ ।” उनले भने, “साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ ।” होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोख्दै उनले भने, “नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन गर्याै, “दूतावासको फोन उठ्दैन ।” त्यसैगरी मुम्बैमै अलपत्र परेका मेलौली नगरपालिका–३ का सन्दीप चन्दले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिए । “हुलिएर बसेका छौं । बाहिर कोरोनाको संत्रास धेरै छ ।” उनले भने, “अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन ।” कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताए । “यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ ।” उनले भने, “हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौं ।” त्यसैगरी मुम्बैको पवईमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । बैतडीकै नरेन्द्र चन्दले मुम्बैमा धेरै नेपाली अलपत्र रहेको जानकारी दिए । “एक्कासी लकडाउन भयो, नेपाल टाढा भएकाले फर्किन सकेनौं।” उनले भने, “यहाँ रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने डर छ ।” भारतमै भए पनि क्वारेन्टाइनमा राख्न प्रबन्ध मिलाइदिन भारतीय सरकारसित आवश्यक समन्वय गरिदिन आग्रह गरे । “नेपाल–भारत सीमानामा त दुवै देशका नागरिकलाई व्यवस्थापन गरिएको भन्ने सुन्छौं ।” चन्दले भने, “हामी यहाँ रहरले होइन बाध्यताले मजदुरी गर्न आएका हौं ।” सुदूरपश्चिममेली नागरिकको सदियौंदेखिको रोजगारीको प्रमुख गन्तव्य हो, भारत । लकडाउनअघि र पछिको समयमा सुदूरपश्चिमका नाकाबाट एक लाख ४३ हजार नागरिक भारतबाट फर्किएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टको भनाइ छ । नेपाल–भारत सीमामा करिब एक हजार ५ सयको हाराहारीमा नेपाली क्वारेन्टाइन बसेका छन् । कञ्चनपुरमा भने सिमावर्ती भारतीय बजार बनवासा र टनकपुरमा गरी २३५ जना नेपाली क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिए । “हाम्रो भारतीय पक्षसित सधैं सम्र्पक र समन्वय हुँदैन ।” उनले भने, “त्यहाँ आश्रित नेपालीलाई राम्रै व्यवस्थापनमा राखिएको छ । र त्यहाँ रहेकाबाट कुनै गुनासो पनि आएको छैन ।” सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले सीमा सुचारु भएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पछि छलफल हुनसक्ने बताए । “सीमा क्षेत्रमा आवागमन रोक्न यहाँका खुलानाका समेत सशस्त्र प्रहरी थप परिचान भएको छ ।” उनले भने, “जो जहाँ छौँ, त्यही सुरक्षित बसौं भन्ने सोच राख्नुपर्छ ।” बझाङमा लकडाउन उल्लङघन गरी धार्मिक मेला सञ्चालन भएपछि नियन्त्रणमा लिइएका चार वडाध्यक्षसहित नौ लाई प्रहरीले थप छानविन र कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बझाङ पठाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षण गणेश वमले नियन्त्रणमा लिइएका वडाध्यक्षसहित नौ जनालाई सङ्क्रमण रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मेला सञ्चालनमा आरोपमा नियन्त्रणमा लिइएका वडाध्यक्षसहितको छानविन भइरहेको जानकारी दिए । रासस