आमाको मृत्यु भएको भनी पास लिएपछि…

काठमाडाैं । आफूलाई जन्म दिने बुबाआमाको विषयमा हत्तपत्त जो कोहीले झुठो बोल्दैनन् । त्यही बुबाआमालाई ढाल बनाएर झुटा विवरण पेश गरी फाइदा लिने मानिस पनि समाजमा नभएका होइनन् । यस्तै एउटा घटना ललितपुरमा भएको छ । आमा मृत्यु भएको बहाना बनाएर लकडाउनको पास लिई गाडीमा यात्रु ओसारेको फेला परेको छ । लकडाउनको समयमा झुठो विवरण पेश गरी सवारी पास बनाएर प्रयोग गरेको पाइएपछि ललितपुरबाट तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा घर भई ललितपुर महानगरपालिका-३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारायण चौधरी, सोही नगरपालिका घर भएका ३० वर्षीय जितेन्द्रप्रसाद चौधरी र सोही नगरपालिका-५ का ४६ वर्षीय नरेश चौधरी रहेका छन् । शुभ नारायणले आफ्नो आमाको मृत्यु भएकाले काजक्रिया गर्न जान भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा झुठो विवरण पेश गरी सवारी पास लिएको खुलेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले चैत २४ र २५ गतेका लागि ३-०८-००५ ख ९१९८ नम्बरको बसको पास लिएर ३० जना यात्रु बोकी सप्तरीतर्फ जान लागेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सरकारले कोभिड-१९ को सङ्क्रमण रोक्न यही चैत ११ गतेदेखि अत्याश्यक काम बाहेक बाहिर ननिस्किन जारी गरेको आदेश आजदेखि तेस्रो हप्तामा प्रवेश गरेको छ । यो अवधिमा मानिसको आवतजातलाई रोक्दै अत्यावश्यक कामका लागि मात्र जिल्ला प्रशासन कार्यालय र सम्बन्धित मन्त्रालयबाट पासको व्यवस्था मिलाइएको थियो । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले विभिन्न बहाना तथा नक्कली विवरण बनाएर पास लिने तथा नक्कली पास नै बनाएर हिँड्ने गरेको पाइएको र त्यसलाई आजदेखि थप कडाइका साथ अनुगमन थालेको जानकारी दिए। उपत्यकामा नौ हजार ५०० प्रहरी परिचालन गरिएको जानकारी दिँदै उहाँले लकडाउन उल्लङ्घन गर्ने दुईदेखि तीन हजारलाई दैनिक कारवाही गरिरहेको समेत बताउनुभयो । प्रहरीले उपत्यकामा आजमात्रै लकडाउन उल्लङ्घन गर्ने एक हजार ६०० लाई कारवाही गरिसकेको छ । आजसम्म २५ हजार बढीलाई कारवाही गरिएको पोखरेलले बताए । रासस

लकडाउनले समस्यामा परेकालाई पिएलओ लुव्रिकेन्टसले वितरण गर्याे राहत

काठमाडाैं । पिएलओ लुव्रिकेन्टसले लकडाउनले समस्यामा परेकालाई राहत वितरण गरेकाे छ । लुव्रिकेन्टसले कोरोना भाइरस (कोभिड-१९) अहिलेको विषम परिस्थितिमा मोरङको सुन्दरहरैचामा समस्यामा परेका विपन्न परिवालाई राहत हस्तान्तरण गरेको हाे । राहत स्वरुप १० हजार के.जी चामल, २ हजार के.जी दाल र २ हजार के.जी. प्याकेड नुन नगरपालिका एकद्वार प्रणालीबाट वितरण गर्ने नगरको निर्णय अनुसार नगरपालिकाका मेयर शिव प्रसाद ढकाल , उपमेयर घनमाया तामाङ र यश बिपत व्यवस्थापनका संयाेजक केदारप्रसाद गुरागाइलाई हस्तान्तरण गरिएको हो । उक्त राहत पुर्वान्चल ल्युब आयल प्रालिको तर्फबाट सुन्दरर्हरैचा नगरपालिका भरी बसोबास गर्ने गरिब तथा विपन्न परिवारलाई खाद्यान्न अभाव नहोस् भन्ने उद्देश्यले वितरण गरिएकाे हाे ।

गण्डकी प्रदेशको कोरोना कोषमा ८९ लाख रुपैयाँ जम्मा, कसले कति गरे ? (सूचीसहित)

काठमाडौं । गण्डकी प्रदेशको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा चैत २४ गते(आज) सम्ममा कूल ८९ लाख ३ हजार ७ सय १२ रुपैयाँ जम्मा भएको छ । उक्त कोषमा गत चैत १४ गतेदेखि आजसम्म(अर्थात ८ दिनमा) सो मात्राको रकम जम्मा भएको हो । सो कोषमा विभिन्न बैंक तथा वित्तीय संस्था, अन्य संघ संस्था गरी कुल २५ वटा संस्थाले रकम जम्मा गरेका गण्डकी प्रदेश सरकारले जनाएको छ । गण्डकी प्रदेश सरकारद्वारा संचालन भएको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषको खाता राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय पृथ्वीचोकमा रहेकाे काेषकाे खाता नम्बरः ३०२०००१८८३०१ मा उक्त रकम जम्मा भएको हो । कसले कति गरे ?