माक्सकाे लागत ८ रुपैयाँ, बिक्री ७ रुपैयाँमा, उपभाेक्ताकाे हातमा सित्तैमा
काठमाडौं । कोरोना संक्रमणको महामारी र लकडाउनसँगै अधिकांश विजनेश म्यानहरुको दैनिकी तनावमा तर फुर्सदमा बितिरहेको छ । तर व्यवसायी दीपक मलहोत्राको दैनिक फरक छ । ‘मलाई एकछिन पनि फूसर्द छैन र सयम बितेको पत्तै हुँदैन’ विकासन्युजसँगको कुराकानीमा पहिलो वाक्य हो उनको । घर–फ्याक्ट्री आवतजावत नियमित छ उनको । पछिल्लो समय उनी माक्स उत्पादन र वितरण कार्यमा व्यस्त छन् । ‘बधाई छ तपाईलाई संकटको बेलामा पनि राम्रो व्यवसाय थाल्नु भयो । नाफा पनि राम्रो भएको होला’ विकासन्युज प्रतिनिधिले उनको तारिफ गरे । तर दीपकले आधा स्वीकार गरे, आधा अस्वीकार । ‘बधाई दिनुभयो । धन्यवाद । तर नाफा लिएर व्यापार गरिरहेको छैन । घाटा खाएर समाज सेवा गरिरहेको छु’ उनले जवाफ दिए । किन र कसरी ? प्रश्न स्वभाविक भयो । ‘हामीले शुरुमा निःशुल्क वितरण गर्ने प्रयोजनको लागि निम्बस ग्रुपबाट प्रति माक्स ७ रुपैयाँमा किनेर वितरण थालेको थियौं । पछि भारतबाट हामीले माक्स बनाउने मेसिन ल्यायौ । शुरूमा त्यसकाे पनि लागत प्रति माक्स ७ रुपैयाँ आयो । हामीले लागत मूल्यमा नै बेच्ने निर्णय गर्यौ’–उनले भने । ‘माक्स मेसिनले बनाउँछ । त्यसको लागत ५ रुपैयाँ २५ पैसा पर्छ । माक्सको इलास्टिकको जोडिको ७५ पैसा पर्छ । इलास्टिक मान्छेले सीउनु पर्छ । प्रतिमाक्स सिलाउने खर्च शुरूमा १ रुपैयाँ मात्र थियाे । हामीले ७ रुपैयाँ मूल्य तय गर्यौं’ उनले प्रष्ट्याउदै भने–तर पछि कामदारले १ रुपैयाँमा काम मानेनन् । माक्समा इलास्टिक लगाउने मान्छे नै नपाएपछि प्रतिपिस २ रुपैयाँ दिएर काम लगाएको छु । अहिले लागत प्रतिपिस ८ रुपैयाँ परेको छ । तर घाटा नै खाएर भएपनि ७ रुपैयाँमा बेचिरहेको छु ।’ घाटा कहिलेसम्म खाने त ? प्रश्न फेरी उठ्यो । ‘आईएमएस ग्रुपले संस्थागत सामाजिक उत्तरदाहित्व सम्झेर काम गरिरहेकाे छ । यो हाम्रो नियमित विजनेश पनि होइन । जब बजारमा सर्बसाधारणले सहज रुपमा र सरल मुल्यमा माक्स पाउन थाल्छन्, हामी उत्पादन बन्द गछौं’ उनले भने । अहिले माक्स उत्पादन गरिरहेको मेसिन एक गार्मेन्ट व्यवसायीसँगको साझेदारीमा राखिएको उनले बताए । अवस्था सामान्य भएपछि उक्त उद्योगले कपडा उत्पादन थाल्ने उनको भनाई छ । उक्त उद्योग लगाउन र ५ टन कच्चा पदार्थ किन्दा करिब १ करोड रुपैयाँ लगानी भएको उनले बताए । उनकाे कम्पनीले हाल दैनिक ५० हजार पिस माक्स उत्पादन गरिरहेकाे छ । माक्स बनाउन प्रयोग हुने फेब्रिक बाँकी भएपनि त्यसको इलास्टिक (कानमा बाँध्ने डोरी) सकिन लागेकोले उत्पादन नै राेकिने हाे कि भन्ने उनकाे चिन्ता छ उपभोक्तालाई सित्तैमा ८ रुपैयाँ लागत, ७ रुपैयाँमा बिक्री, उपभोक्तालाई सित्तैमा । सुन्दा अपत्यारिलो लाग्छ तर दीपककाे माक्स उत्पादन र बिक्री चक्र यसरी नै चलिरहेकाे देखिन्छ । प्रतिपिस ८ रूपैयाँ लागत भएकाे माक्स आफूले प्रति पिस ७ रुपैयाँ बेचिरहेकाे र उपभाेग गर्नेले सित्तैमा पाईरहेको उनले बताए । ‘हामीले ७ रुपैयाँमा बेचेको माक्स बजारमा बिक्री भईरहेको छैन’ उनले प्रष्ट्याउदै भने –‘सरकारी अस्पताल, स्वास्थ्य सेवा विभाग, प्रहरीलाई गरी करिव १ लाख पिस सित्तैमा वितरण गर्यौ । बाँकी सबै निजी अस्पताल, बैंक, नगरपालिका, गाउँपालिका वा सामाजिक संस्थालाई बेचिरहेका छौं । अस्पताल र बैंकहरुले आफ्ना कर्मचारी निःशुल्क वितरण गरेका छन् । नगरपालिका, गाउँपालिकाले आफ्ना कर्मचारीलाई र स्थानीयलाई निःशुल्क वितरण गर्न लगेका छन् । र, अरू माक्स सामाजिक कार्य गर्ने संस्थाहरुले लगेका छन् ।’ आईएमएसमा माक्स किन्न अडर गर्ने संघ संस्थाको चाप उच्च छ । कारण पनि उनले खुलाए । ‘एउटा संस्थाले हजार पिस माक्स सित्तैमा बाँढ्दा उसको खर्च ७ हजार रुपैयाँ मात्र हो । थोरै खर्च गरेर धेरै जनालाई सहयोग गर्न पाएकोमा संघ संस्थाका प्रतिनिधिले माक्स वितरणालाई प्राथमिकता दिएका छन् । ‘हामीसँग किनेर उपभोक्तालाई बेच्छु भन्नेलाई हामी बेच्दैनौ । फ्रिमा बाँड्नेको माग हुँदासम्म मात्र उत्पादन गर्छौं’ उनले भने । अहिले दैनिक १० लाख माक्स उत्पादन गरे पनि बिक्ने उनले बताए । तर आफूहरुले दैनिक ५० हजार पिस मात्र उत्पादत तथा बिक्री वितरण गरिरहेको उनको भनाई छ । कम्पनीको उत्पादन क्षमता दैनिक ७० हजार पिस भए पनि हाल दैनिक ५० हजार पिस मात्र उत्पादन हुने गरेकाे उनले बताए । उत्पादन कार्यमा आइएमएस ग्रुपले लगानी गरेको छ भने वितरणको काममा नेपाल चेम्बर अफ कमर्शले समन्वय गरेको उनले बताए । अनलाईन बिक्रेता सस्तो डिलसँग सामान किनेर सेलपेबाट भुक्तानी गर्नेलाई १० वटासम्म माक्स सित्तैमा दिइने पनि उनले बताए । लकडाउन तपाईलाई लागेको रहेनछ, लेखकले विट मार्दै भने । छैन । उनले दैनिकी पुरै सुनाए । ‘विहान उठेर एक्सरसाइज गर्छु । नुवाइधुवाई गर्छु । हलुका ब्रेकफाष्ट लिन्छु त्यसपछि दिउँसो के के गर्ने प्लान बनाउँछु । खाना खाएर सबैभन्दा पहिला ललितपुरस्थित लुभुमा रहेको फ्याक्ट्रीमा जान्छु । संक्रमणको जोखिम नहोस भनेर अहिले ड्राइभर राखेकाे छैन, आफै ड्राइभ गर्छु । एक टिप सामान लिएर अफिसमा झर्छु । दिनभर अफिसको काम गर्छु । साँझ घर फर्कन्छु ।’
सहज बनाइँदै लकडाउन, उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने
काठमाडौं । सरकारले लकडाउनलाई सहज बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार अब अत्यावश्यक सेवाका लागि उद्योग सञ्चालन गर्न सकिने छ भने अन्य उद्योगहरुले कामदारलाई स्वास्थ्य सुविधासहित काम गराउन सक्नेछन् । तर उनीहरु ओहोर दोहोर गर्न पाउने छैनन् । कम्पनीभित्रै बस्नुपर्नेछ । अर्थ तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले ढुवानीको साधनलाई अझ सहज गर्ने र नियमित रुपमा आयात भएका र दैनिक आपूर्ति हुने वस्तुहरुको लेखाजोखा राख्ने बताए । उनले मुलुकभित्र अति आवश्यक उद्योग सञ्चालन गर्ने निर्णय भएको बताए । अन्य उद्योगहरुले पनि भित्र कामदारलाई सुरक्षित राखेर, स्वास्थ्यका मापदण्ड पूरा गरेर सञ्चालन गर्न सक्ने उनकाे भनाइ छ। तर,आवागमन रोकेर भित्रै राखेर सञ्चालन गर्न दिने भन्ने निर्णय भएकाे उनले बताए । उनले तामाकोशी, मेलम्चीलगायतका ठूला आयोजनामा पनि भित्रै कामदार राखेर काम सुचारु गर्न सकिने पनि बताए । अब लकडाउन सहज भएर राष्ट्रिय गाैरवका आयाेजनाहरूमा नियमित रूपमा काम गर्न सकिने छ ।
महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गर्ने श्रमिकलाई दियो चार लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री
काठमाडौं । महालक्ष्मी विकास बैंकले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका श्रमिकहरुलाई राहत स्वरुप चार लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको छ । विकास बैंकले देशैभरी गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरिखाने श्रमिकलाई राहत पुग्ने उद्देश्यले उक्त सामाग्री महानागरीय प्रहरी कार्यालय रानीपोखरीलाई हस्तान्तरण गरेको हाे । उक्त खाद्यान्न चैत १९ गते बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेललाई हस्तान्तरण गरेका थिए । बैंकले प्रदान गरेको उक्त सहयोगले यस असहज परिस्थितिमा श्रमीकहरुलाई जीवनयापन गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) का कारण सरकारले गत चैत ११ गतेदेखि देशैभरी लकडाउन भइरहेको छ । साथै, बैंकले यस विषम परिश्थितिमा सम्पुर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।