भक्तपुरका ३१ हजार ८७० बालबालिकालाई खोप लगाइँदै

भक्तपुर । भक्तपुरका नौ महिनादेखि पाँच वर्षसम्मका करिव ३१ हजार ८७० बालबालिकालाई दादुरा–रुवेला रोग विरुद्ध खोप लगाउन शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण मिजारले सोमबारदेखि खोप अभियान शुरु भएको जानकारी दिए । जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भइसकेको छ । उनले भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक गरी चार नगरपालिकामा १९८ खोप केन्द्र, प्रत्येक वडामा कम्तीमा नौ खोप केन्द्र सञ्चालन भएका र खोप केन्द्रमा दुई जनाका दरले स्वयंसेविका परिचालित रहेका जानकारी दिए । स्वास्थ्य सेवा विभाग,बालस्वास्थ्यका अनुसार सरकारले पहिलो चरणमा गत फागुन महिनाभर प्रदेश नं १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप अभियान सञ्चालन गरेको थियो । दोस्रो चरणमा सोमबारबाट शुरु भएको अभियानमा वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने भएको छ । पहिलो र दोस्रो चरणको खोप अभियानमा करिव ३० लाख बालबालिकालाई खोप दिइने लक्ष्य रहेको जनाइएको छ । दादुरा–रुवेला खोप अभियान सन् २००४ बाट शुरुआत गरिएको हो । हरेक चार–चार वर्षमा यो अभियान सञ्चालन हुँदै आएको छ । यो अभियान यसअघि सन् २००४, २००८, २०१२ र २०१६ सञ्चालन भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेअनुसार सरकारले सन् २०१९ मा नेपाललाई दादुरा–रुवेला निवारण देश बनाउने लक्ष्य लिएको थियो । तर लक्ष्य हासिल हुन नसकेपछि सन् २०२३ भित्रमा लक्ष्य पूरा गर्नका लागि अभियान सञ्चालन गरेको छ । अहिले ७३ प्रतिशत बालबालिकामा पूर्ण खोप पाएका छन् । पूर्ण खोपको लक्ष्य हासिल गर्न ९५ प्रतिशतभन्दा बढी हुनुपर्छ । प्रत्येक १० लाख जनसङ्ख्यामा पाँच जनाभन्दा कम मानिसमा दादुरा देखियो भने निवारण भएको मानिन्छ । सो खोप अभियानका लागि करिब रु ३० करोड खर्च हुने अनुमान गरेको छ । ती मध्ये नेपाल सरकार को १० करोड र अन्तर्राष्ट्रिय संस्था गाभीले रु २० करोड रहेको बताइएको छ । रासस

सिटिजन्स बैंकद्वारा आसमानलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आसमान नामक गैर सरकारी संस्थालाई एक लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सोमबार एक कार्यक्रमकाबीच आसमानलाई उक्त रुपैयाँको चेक हस्तान्तरण हो । संस्थाले उक्त आर्थिक सहयोग पिछडिएका विद्यार्थीहरुको उत्थनमा प्रयोग गर्ने जनाएको छ । सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन “आसमान” ले करिव २९ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ । यस प्रकारको सहयोगबाट महिला तथा बालबालिकाको सशक्तिकरण, सबलिकरण तथा चौतर्फी विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याँउदै आएको यस बैंकले निः स्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ । आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

भरतपुरका किसन मगरले दाजुबाट पाए दोस्रोपटक नयाँ जीवन

चितवन । चितवनका एक युवकको हकमा दाजु पनि आमाको रुपमा उदाएका छन् । पहिलोपटक आमाबाट जीवन पाएका किसन मगरले दोस्रोपटक दाजुबाट नयाँ जीवन पाए । दुवै मिर्गौला फेल भएर भौंतारिइरहेका क्षेत्रपुरका किसनलाई उनका दाजु चन्द्रबहादुर रिंजालीले मिर्गौला दिएका हुन् । चार वर्षअघि किसनको मिर्गौलामा समस्या पत्ता लागेको थियो । बिग्रेको मिर्गौला जोगाउन गरिएका प्रयासहरु असफल भएपछि उनी जीवन र मरणको दोसाँधमा पुगिसकेका थिए । यही बेला दाजु चन्द्रबहादुर भाइलाई मृत्युको मुखबाट फिर्ता ल्याउन अग्रसर भए । भाग्यले पनि साथ दिएकै मान्नुपर्छ- चन्द्रबहादुरको मिर्गौला किसनलाई ‘फिट’ भयो । प्रचलित कानुन अनुसार नातागोता बाहेकका मान्छेले चाहेर पनि मिर्गौला दान गर्न नपाउने अवस्थामा दाजुको मिर्गौला ‘फिट’ भएपछि किसनमा बाँच्ने आस पलायो । तर राजधानीको अस्पतालमा तोकिएको मितिमा प्रत्यारोपण हुन नसकेपछि उनी फेरि निराश भए । ‘त्यसपछि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएँ । त्यहाँ पनि तीन महिना त्यत्तिकै बित्यो,’ किसन भन्छन्, ‘स्वदेशमा केही सीप नलाग्ने देखेपछि भारतको एम्स अस्पतालमा प्रत्यारोपण गर्ने तयारी सुरु भयो ।’ भारत जानुअघि डायलासिस गर्ने सिलसिलामा चितवनको पुरानो मेडिकल कलेज पुगेका किसनले त्यहीँ मिर्गौला प्रत्यारोपण हुने कुरा थाहा पाएको उनले सुनाए । पुरानो मेडिकल कलेजका चिकित्सक र विशेषज्ञसँगको परामर्शपछि त्यहीँ नै प्रत्यारोपण गराएको उनको भनाइ छ । ‘सबैभन्दा पहिला पुरानो मेडिकल कलेजका डा. प्रविण जोशीलाई भेटेँ । उहाँको सल्लाहमा प्रत्यारोपण विशेषज्ञ डा. राकेश बर्माको बायोग्राफी हेरेपछि उहाँबाटै प्रत्यारोपण गराउने निष्कर्षमा पुग्यौं,’ किसनले सुनाए । दाजुको मिर्गौला सफल प्रत्यारोपणपछि किसनलाई अंगदान गर्ने मान्छे परिवारमा भए मिर्गौला प्रत्यारोपण ठूलो होइन रहेछ भन्ने लागेको छ । ‘पहिले त बाँच्ने आसै मारिसकेको थिएँ, अहिले भने दिने मान्छे घरमा छ भने मिर्गौला प्रत्यारोपण ठूलो समस्या होइन रहेछ भन्ने लाग्यो,’ उनले भने । उक्त मेडिकल कलेजका प्राध्यापक डा. राकेश बर्माको नेतृत्वमा १० जनाको टोलीले किसनको मिर्गौला प्रत्यारोपण गरेको थियो । प्रत्यारोपणपछि त्यहाँका डाक्टर र नर्सको राम्रो हेरचाहका कारण आफू चाँडै ठीक भएको किसनले सुनाए । ‘करिब १५ दिन अस्पताल बस्दा डाक्टर र नर्सले निकै राम्रोसँग उपचार गर्नुभयो, छिनछिनमा सोध्ने गर्नुभयो,’ उनले भने । भाइलाई मिर्गौला दान गरेका चन्द्रबहादुर अहिले आफू र भाइ दुवैजना तन्दुरुस्त रहेको बताउँछन् । ‘अहिले म पनि राम्रो छु, र भाइ पनि राम्रो छ, चन्द्रबहादुरले भने । कलेजका प्राध्यापक डा बर्मा मिर्गौला प्रत्यारोपणमा ठूलो टिम सहभागी हुने बताउँछन् । किसनको प्रत्यारोपणमा पनि १० जना भन्दा बढीको टिम सहभागी थियो । उक्त अस्पतालले हालसम्म चारवटा सफल मिर्गौला प्रत्यारोपण गरेको प्रा.डा. बर्माले जानकारी दिए । अंग प्रत्यारोपणमा ४० वर्षका अनुभवती प्रा.डा. बर्माले राजधानीको वीर अस्पताल र सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गरी ६५० भन्दा बढी प्रत्यारोपण गरेका गरिसकेका छन् । प्रविधि र मानवीय स्रोतका हिसाबले मिर्गौला प्रत्यारोपणमा नेपाल विदेशभन्दा कम नभएको प्रा.डा. बर्माको दाबी छ । सेवाग्राहीले विश्वास गरे पुग्छ,’ हामी सक्षम छौं । वरिष्ठ अगं प्रत्यारोपण विशेषज्ञ प्रा.डा. राकेश वर्मा, प्रत्यारोपण फिजिशियन डा. माधव घिमिरे, प्रत्यारोपण एनेस्थेसियोलोजिष्ट डा. किरण अधिकारी, वरिष्ठ एनेस्थेसियोलोजिष्ट डा. राजेश कुमार यादव, वरिष्ठ युरोलोजिष्ट डा. सुदिप राज के.सी.,डा. प्रबिण जोशी, प्रत्यारोपण फिजिशियन डा. सन्तोष गुरुङ्ग, डा. सृजु वैद्य, डा. अनुराग सिंह लगायत चिकित्सकहरुको प्रत्यारोपणमा संलग्नता रहेको थियो । नेपालमा मृगौला कसरी बचाउन सकिन्छ भन्ने सचेतना न्युन रहेको र दिनदिनै मृगौला रोगीको संख्या बढिरहेको अवस्थामा यसको भरपर्दो उपचार प्रत्यारोपण नै हो, डाइलासिस होइन । तर नेपालमा वर्षेनी डायलाइसिस गराउनेको संख्या बढ्दो छ । काठमाडौं बाहिर यस अस्पतालमा सफल मृगौला प्रत्यारोपण भएको छ र यो चौथो पटक हो । त्यसैले, अब धेरै खर्च गरेर विदेश तथा काठमाडौं जानुपर्ने बाध्यता छैन मात्र सेवाग्राहीहरुले बुझ्नु र विश्वास गर्नु जरुरी छ, वरिष्ठ प्रत्यारोपण फिजिशियन डा. माधव घिमिरेले बताए ।