सेतो मच्छिन्द्रनाथ रथयात्रा स्थगित

काठमाडौं । सेतो मच्छिन्द्रनाथ रथयात्रा स्थगित गरिएको छ । शुक्रबार बसको समितिको बैठकले रथयात्रा स्थगित गरेको बताइएको हो । विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण रथयात्रा स्थगित गर्नु परेको सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिले बताएको छ । चैत्र १९ देखि बैशाख १ गते सम्म सेतो मच्छिन्द्रनाथको रथयात्रा भव्यतापूर्वक उल्लासमय बाताबरणमा सम्पन्न गर्नका लागि सबै आवश्यक तयारीका कामहरु भइरहेको बताएपनि बिचमै कोरोना कारण रथयात्रा स्थगित गर्नु परेका विज्ञप्तीमार्फत जनाएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिको संयोजक एवम् काठमाडौं महानगरपालिका २५ वडाका अध्यक्ष निलकाजि शाक्यको अध्यक्षतामा गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी, गुठी संस्थान काठमाडौं शाखाका प्रमुख हरीबहादुर सुवेदी, मच्छिन्द्रनाथका पुजारीहरु, विभिन्न क्लब संघसंस्था र सरोकारवालाहरुको उपस्थितिमा छलफल गरी यस वर्ष आवश्यक र अनिवार्य विधि विधान मुताबिकका पुजा मात्र गर्ने र रथयात्रा नगर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

स्वावलम्बन लघुवित्तद्वारा दलित समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय सिरहाले ग्राहक सदस्य तथा न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ । शाखा कार्यालयबाट सिरहा नगरपालिका वडा नं.६ बसविट्टा स्थित श्री आधारभूत बिद्यालयका १०० जना न्यून आय भएको स्थानीय दलित समुदायका छात्रछात्रालाई स्कूल झोला, कापी र कलम वितरण गरेको हो । कार्यक्रमका प्रमुख आतिथि सिरहा नगरपालिका वडा नं.६ का अध्यक्ष विजय कुमार यादवले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको दलित छात्रछात्रालाई विभिन्न शैक्षिक सामग्री वितरण गरेकोमा आभार व्यक्त गरेका छन् । वित्तीय संस्थाले विपन्न महिलाहरुलाई कर्जा तथा बचतको माध्यमबाट आर्थिक उन्नतीमा टेवा पुर्याएको बताए । संस्थाले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४९ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु.१ अर्ब साथै जारी तथा चुक्ता पुँजी ७९ करोड २३ लाख रूपैयाँ रहेको छ ।

राति निन्द्रा नलागेर तनावमा हुुनुहुन्छ? छिनभरमै निदाउन अपनाउनुस् यस्ता उपाय

काठमाडौं । हिजोआज हर मान्छेको दैनिकी व्यस्त छ  । व्यस्तसँगै कतिपयमा तनाव पनि उतिकै  हुन्छ। जसले गर्दा मानिसहरुमा अनिन्द्राको समस्या देखा पर्ने  हुन्छ । यहाँ जोकोहीलाई  पनि भोलिको चिन्ता छ । जसले गर्दा हामीलाई दैनिक रुपमा अल्छी, अनिन्द्रा र थकानले सताइरहेको हुन्छ । दिनभरी चलायमान भएको शरीर रातमा आराम गरेर भोलिपल्ट फेरि सक्रिय हुन्छ, यसको लागि मानिस निदाउन जरुरी छ । एक स्वस्थ मानिस हुनलाई कम्तिमा ६ देखि ८ घण्टा निदाउनु पर्छ। शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । निन्द्राले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । तर कतिपय मानिसलाई निन्द्रा नलाग्ने समस्या हुन्छ। सुत्ने समयमा निन्द्रा नपर्नु, निन्द्रा परेपनि राति बिउँझनु र फेरि सुत्न नसक्नु, बिहान अति चाँडै आँखा खुल्नु अनिन्द्राको लक्षण हुन्। हुन त उमेरले ३० नाघेपछि अनिन्द्राको समस्या हुन्छ भन्ने डाक्टरहरु बताउँछन्। अनिन्द्रा भयानक समस्या हो, जो अनेक रोगको कारण बन्छ । खासगरी अनिन्द्राको कारण मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुनछ । अनिन्द्राका कारण शरीरमा कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जसले शरीरमा चिनीको मात्रा बढाउने काम गर्छ । त्यसैले राम्रोसँग निद्रा नपर्ने व्यक्ति मधुमेहको जोखिममा हुन्छन् । अनिद्राका कारण उच्च रक्तचापको समस्या पनि हुन सक्छ । अनिद्राको समस्या निरन्तर रहे मुटुसम्बन्धि रोगको खतरा पनि बढेर जान्छ । अनिद्राका कारण सम्झने शक्तिमा पनि कमी आउनुका साथै मानसिक अस्थिरतासमेत निम्त्याउँछ । अनिद्राले गर्दा बिहान उठ्दा स्फूर्तिको अनुभूति नहुने, दिनमा निद्रा लाग्ने, काममा मन नजानेलगायत समस्या हुन्छ । अनिद्रा र यसबाट उत्पन्न हुन सक्ने सबैखाले शारीरिक तथा मानसिक समस्याबाट बच्नका लागि व्यवस्थित जीवनशैली अवलम्बन गर्नुपर्छ । कसरी पाउने आनन्दको निन्द्रा ? – आनन्दको निन्द्राका लागि लागि शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने जस्ता कामहरु गर्नुहोस् । – बिहान चाँडै उठ्ने र मर्निङवाकमा निस्कने गर्नुहोस् । – सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् । – गहिरो निन्द्रका लागि ओछ्यान आरामदायक हुनुपर्छ । मध्यम श्रेणीको मुलायम बिछ्यौनामा सुत्नुपर्छ । धेरै मुलायम बिछ्यौनामा कम्मर एवं ढाँड दुख्ने समस्या हुनसक्छ । धेरै मुलायम र धेरै कडा बिछ्यौना मेरुदण्डका लागि पनि उपयोगी हुँदैन । – सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ । – संभव भएसम्म खुट्टाको भागलाई थोरै उँचो बनाउनुहोस् । – सुत्नासाथ निन्द्रा लाग्दैन भने केही पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् । – मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्‍याउनुहोस् । – धेरै शारीरिक मिहिनेत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो । –सुत्ने कोठामा टेलिभिजन, कम्प्युटर, मोबाइल आदि नराख्नुहोस् । – सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक–पटक पिसाब लाग्ने भएकाले निन्द्रा बिथोलिन्छ । – सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौं । (अंग्रेजी साईटको सहयोगमा)