नेपालमा कोरोना देखिएसँगै सरकारी कार्यालय बन्द गरिँदै, कर्मचारीलाई तयारी अवस्थामा राखिने
काठमाडौं । नेपालमा कोरोना भाइरस देखिएसँगै सरकारले अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका अन्य सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु पनि बन्द गर्ने भएको छ । अत्यावश्यक सेवा प्रवाह गर्ने बाहेकका काम नहुनेभन्दा पनि सेवाग्राही कार्यालय पुग्ने भएकाले कर्मचारीलाई कार्यालय नगइ घरमा तयारी अवस्थामा राख्न लागिएको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठक अहिले सिंहदरवारमा बसिरहेको छ । सो बैठकले कर्मचारीलाई घरमै तयारी अवस्थामा बस्ने तर कार्यालय आउन नपर्ने गरी निर्देशन दिने तयारी छ । तर, कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको भने बिदा हुने छैन । कोरोनाको त्रास बढदै जाँदा सार्वजनिक स्थलमा सर्वसाधारणको आवागमन नरोकिएको कारण कार्यालय बन्द गरेर सरकारले आवागमन रोक्न लागेको हो । सडक लगायत सार्वजनिक स्थलमा आवागमन रोक्न प्रहरीले घर बाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङ समेत गर्ने भएको छ ।
जिल्लाका अस्पतालमा मास्क र ग्लोभ्स छैन, डाक्टर भन्छन्: कसरी गर्ने उपचार ?
काठमाडाैं । सम्भावित कोरोना सङ्क्रमितको उपचारका लागि आइसोलेशन वार्ड तयार पारेका अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीले सुरक्षाको प्रत्याभूतिको माग गरेका छन् । शङ्कास्पद बिरामी अस्पताल आएमा उपचार गर्न विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसारको सुरक्षाको व्यवस्था नभए अस्पतालले आइसोलेशन वार्ड तयार पारे उपचारमा स्वास्थ्यकर्मी नखटिने चिकित्सकहरुले बताएका छन् । पहिला सुरक्षा गर्न सके मात्रै सङ्क्रमित बिरामीको उपचार गर्न सकिने बताउँदै चिकित्सकहरुले सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार सुरक्षाका लागि सबै व्यवस्था गर्नुपर्ने बताएका हुन् । मध्यपुरथिमिमा सञ्चालित मध्यपुर अस्पतालकी प्रसूति रोग विशेषज्ञ एवं चिकित्सक डा रबिना प्रधानाङ्गले अस्पतालमा कोरोना सङ्क्रमितको आशङ्काका बिरामी आएमा मेडिकल टोली नै भाग्नुपर्ने अवस्थाको सृजना हुन नहुने बताए। मध्यपुर अस्पतालले चार श्ययाको आइसोलेशन वार्ड तयार पारेर राखे पनि मेडिकल टोलीसँग आफू सुरक्षित छु भन्ने विश्वस्त पार्नेगरी व्यवस्था हुन नसके बिरामीको उपचारमा समस्या आउने उनले बताए । उनले भने, ‘उपचारमा खटिने स्वास्थ्यकर्मीको टिम पहिला सुरक्षित महशुस हुनु पर्यो, आफ्नै ज्यान जोखिममा छ भन्ने जान्दाजान्दै बिरामीको नजीक जाने आँट कसैले गर्दैन, आवश्यक सुरक्षाका सबै पूर्वाधार एवं सामग्री तयारी अवस्थामा हुनुपर्यो ।’ आफ्नो अस्पतालमा सामान्य मास्क र ग्लोभ्ससमेत सकिएर किन्न खोज्दा बजारमा कहीँ नपाएको बताउँदै उनले अस्पतालका सबै स्वास्थ्यकर्मीले कपडाको मास्क लगाएर सेवामा खटिनु परेको बताए । अस्पतालमा आइसोलेशन वार्ड मात्रै भएर के गर्नु, डाक्टर छिरेर काम गर्ने अवस्था आएन भने के मोबाइल र अनलाइनबाट उपचार गर्ने ? भन्दै डा प्रधानाङ्गले भने, ‘कोरोनाको बिरामी आए उपचार गर्ने सरकारको पूर्ण तयारी खै, साधारण मास्क छैन, सङ्क्रमितको उपचार गर्दा लगाउने एन नाइन्टी मास्क खै ?, पिपिई सेट खै ? मेडिकल टोलीको सुरक्षाका लागि खै व्यवस्था ?, मेडिकल टोलीको सुरक्षाको जिम्मा कसले लिन्छ ?’ कोरोना सङ्क्रमितको उपचार गर्दा लगाइने पोसाक (पिपिई-पर्सनल प्रोटेक्शन इक्विप्मेन्ट) बजारमा कतै नभएको र सरकारले समेत उपलब्ध गराउन नसकेको अवस्थामा सुरक्षित भएर काम गर्न नसकिने चिकित्सकको भनाइ छ । धेरै पाठ सिक्नुपर्ने औँल्याउँदै उनले कोरोना सङ्क्रमितको उपचार अरू बिरामीको उपचार नहुने निश्चित तोकिएको अस्पतालमा मात्रै गर्नुपर्ने र मेडिकल टोलीको पूर्णसुरक्षाको अनुभूति गराउँदै निश्चित समयका लागि उपचार केन्द्रमै बस्ने गरी व्यवस्थापन हुनुपर्ने भनाइ राखे । नागरिक अस्पतालकी नर्सिङ इन्चार्ज सुन्दरी जोशीले अस्पतालमा ज्वरो नाप्ने थर्मल गनदेखि मास्कसमेत नभएको बताए । उनले चार हजार रूपैयाँ पर्ने एउटा थर्मल गनको बजारमा नौ हजार भनेको बताउँदै पिपिईसमेत नभई आइसोलेशनमा बिरामी उपचार गर्न नसकिने बताए । सङ्क्रमित बिरामीको उपचारमा खटिएका व्यक्तिलाई घर जान दिइने हो भने घरपरिवार र अन्य व्यक्तिलाई पनि सङ्क्रमण हुने जोखिम उच्च रहने भएकाले यसबारेमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको माग छ । यता धुलिखेल अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने अस्पताल बनाउने सरकारले तयार गरेपछि यहाँ स्वास्थ्यकर्मीदेखि कर्मचारीसमेत त्रसित भएका छन् । आज कोरोना आशङ्काका एक बङ्गलादेशी आएको र उसलाई ज्वरो देखिएपछि टेकु अस्पताल पठाइएको अस्पतालको आकस्मिक शाखाले जानकारी दिएको छ । अस्पताललाई कोरोना सङ्क्रमित बिरामीको उपचार केन्द्र बनाउने भनिए पनि अस्पतालमै सिलाएको कपडाको मास्क र कपडाकै गाउन लाएर स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यता भएपछि यहाँका कर्मचारीसमेत त्रसित भएको आशिश थापाले बताउनुभयो । ज्वरो नाप्न ढोकादेखि नै कर्मचारी खटाए पनि अस्पताल प्रशासन र शाखाप्रमुखले सम्भावित जोखिमलाई गम्भीर रुपमा नलिँदा कर्मचारीमै जटिल समस्या आउन सक्ने र ढुक्क भएर साँझ घर जान सक्ने अवस्था नभएको उनको गुनासो छ । कोरोना सङ्क्रमितको उपचार गर्ने भए निश्चित टोली बनाएर २४ घण्टा त्यही बस्ने र उपचार गर्ने गरी चीनले गरेको व्यवस्थाअनुसार गर्नुपर्ने यहाँका कर्मचारी र स्वास्थ्यकर्मीको भनाइ छ । अस्पताल प्रशासनले कर्मचारीको बेवास्ता गरेको गुनासो गरेका छन् । रासस
देशैभर लामो दूरीका सवारीसाधन बन्द, काठमाडौंका सडक हुन थाले खाली
काठमाडौं । लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएसगैँ काठमाडौंका सडक खाली हुन थालेका छन् । सरकारले सोबारदेखि देशैभर लामो दूरीको सवारीसाधान सञ्चालनमा रोक लगाए पछि काठमाडौंका सडक खाली हुन थालेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट बच्न सरकारले आजदेखि देशैभर लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । कोरोना भाइरसको त्रास बढेसँगै सरकारले सावधानी अपनाउन सवारीसाधन बन्द गर्ने निर्णय लिएको थियो । कोरोनाभाइरस संक्रमण रोकथामका लागि सरकारले चैत १० देखि २१ गते सम्मकालागि लामो रूटका सार्वजनिक सवारीसाधन संचालन बन्द गर्ने घोषणा गरेको थियो । ७ चैत (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै आजदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनमा रोक लगाएको घोषणा गरेका थिए । केहिदिनयता गाडी नचल्ने भएपछि उपत्यकाबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चैत ७ गते काठमाडौं उपत्याकाको विभिन्न नाका हुँदै १ लाख ३० हजार ८ सय २२ जना र चैत ८ गते २ लाख ६ हजार ३ सय ३९ जना यात्रु बाहिरिएका छन् । ९ चैतदेखि संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू देशैभर २१ चैतसम्मका लागि बन्द गरिसकिएको थियो । शिक्षण संस्थाहरू यसअघि नै बन्द भइसकेका छन् भने परीक्षा पनि स्थगित गरिसकिएको छ । सरकारी प्रावधान अनुसार लामो दूरी भन्नाले २५० किलोमिटरभन्दा टाढालाई मानिन्छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले अहिलेको अवस्थामा रोगबाट जोगिन सबैले स्वास्थ्य सतर्कता अपनाउनका लागि लामो दूरीका सवारीसाधन बन्द गरिएको बताए ।