यू–१९ एशिया कप – नेपालले जित्यो टस

काठमाडौं । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा घरेलु टोलीविरुद्वको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । श्रीलङ्काको आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले आयोजक श्रीलङ्का विरुद्वको खेलमा जीत निकाल्ने आशासहित मैदानमा उत्रेको छ । तर, नेपालले श्रीलङ्कालाई अहिलेसम्म हराउन सकेको छैन । पछिल्ला पाँच खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । सन् २०१६ मा श्रीलङ्कामा नै भएको यू–१९ एशिया कपमा नेपाल आयोजक श्रीलङ्कासँग एक रनले पराजित भएको थियो । नेपालको प्लेइङ सेटमा रोहित पौडेल, रसिद खान, भीम सार्की, कुशल मल्ल, सागर ढकाल, आरिफ शेख, कमल सिंह ऐरी, रीत गौतम, पवन सरार्फ, सूर्य तामाङ र हरिबहादुर चौहान रहेका छन् । रासस

वादीका हायु समुदायलाई आरम्भले दियो वित्तीय साक्षरता तालिम

काठमाडौं । देशको १५ पहाडि जिल्लाहरुमा १५,५०० घरधुरीमा विपन्न घरपरिवारमा सेवा विस्तार गरी रहेको आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७६ भाद्र १८ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको वादी गाउँका हायु समुदायका ५० ग्राहक सदस्यहरुको सहभागितामा “वित्तीय साक्षरता तालिम” संञ्चालन गरेको छ । तालिमको संञ्चालन मन्थली शाखाका शाखा प्रवन्धक बैकुण्ठ लुँईटेलले गरेका थिए । यस संस्थाको केन्द्रीय कार्यालयका अनुगमन तथा सुपरीवेक्षण विभाग प्रमुख सन्तोष थापा, मन्थली शाखाका शाखा प्रवन्धक बैकुण्ठ लँुईटेल, चरिकोट शाखाका शाखा प्रवन्धक निकेश श्रेष्ठ, शाखाका कनिष्ठ सहायक दिलकृष्ण बस्नेतले प्रशिक्षकको भूमिका निर्वाह गरेका हुन् । उक्त तालिममा सहभागीहरुले वित्तीय साक्षरताको महत्व, वित्तीय साक्षरता परिचय, ग्राहकको आवश्यकता तथा चाहना, बचतको अवधारण तथा लक्ष्य निर्धारण, बचत उपाय, बचत योजना, बचत प्रदायक संस्थाको छनौट, ऋणको योजना तथा ऋण लिन सक्ने क्षमता, ऋण प्रदायक संस्थाको छनौट, कर्जा सदुपयोगिता, जोखिम न्यूनीकरण, जोखिमको परिचय र असर विप्रेषण सेवा, अब्यवस्थित खर्चले गरीब बनाउँछ, खर्च प्राथमिकता र चुहावटको रोकथामका बारेमा छलफल भएको थियो । त्यसैगरी, ब्यक्तिगत वित्तीय व्यवस्थापनका नियमहरु, फजुल खर्च तथा नगरी नहुने खर्च, पारिवारिक बजेट, बजेट निर्माण, लघु व्यवसायको परिचय तथा महत्व, व्यवसाय विस्तार तथा विविधिकरण, व्यवसायिक योजना अन्य आयको श्रोतको पहिचान, साधन तथा श्रोतको उच्चतम सदुपयोगिता, पारिवारिक बजेट निर्माण, खर्चको अवधारणा आदि विषयहरुमा जानकारी लिएका थिए । वित्तीय साक्षरता तालिममा तालिमको बारेमा वादी आरम्भ महिला केन्द्र, केन्द्र नं. १९ का केन्द्र प्रमुख मिना हायुले यस किसिमको तालिम महत्वपूर्ण रहेको बारेमा जानकारी गराएकी थिइन् । बजेट बनाएर कार्य गर्दा बचत गर्न सजिलो पर्दो रहेछ त्यस्तै फडिरडाँडा आरम्भ महिला केन्द्र, केन्द्र नं. २८ का केन्द्र प्रमुख गंगा मगरले जोखिम न्यूनीकरण ब्यवसायिक योजना, लघुव्यवसाय ऋणको सदुपयागिता, पारिवारिक बजेट तथा कसरी ब्यवसायिक हुन सकिन्छ भनेर कार्यक्रमबाट जानकारी पाएकोमा खुसी ब्यक्त गरेकी हुन् । त्यसैगरी केन्द्र नं. २८ लाई आरम्भको उत्कृष्ट केन्द्र बनाउने अठोट व्यक्त गरेका थिए ।

नादेज्दा कपमा सहभागी हुने महिला फुटबल टोलीलाई बिदाइ

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कीर्गिस्तानमा आयोजना हुने ‘नादेज्दा कप २०१९’ फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली महिला फुटबल टोलीलाई आज बिदाइ गरेको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवाललगायत एन्फा पदाधिकारीले १८ खेलाडीसहित २४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । सो टोली बिहीबार कीर्गिस्तान प्रस्थान गर्नेछ । उक्त कपका लागि आयोजक कीर्गिस्तानसहित नेपाल, उज्वेकिस्तान र ताजिकिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालले आयोजक कीर्गिस्तानसँग यही भदौ २२ गते खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । त्यस्तै नेपालले दोस्रो खेल यही भदौ २३ गते उज्वेकिस्तानसँग र २४ गते ताजिकिस्तानसँग खेल्नेछ । लिगचरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको अन्तिम चरणको भदौ २६ गते हुनेछ । सहभागी १८ सदस्यीस्य टोलीमा एन्जिलातुम्बापो सुब्बा, अञ्जना राना मगर, पुनम जर्घामगर, हीराकुमारी भुजेल, अम्रिता जैसी, दीपा राई, रेनुका नगरकोटी, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन, सरु लिम्बू, सावित्रा भण्डारी, नीरु थापा, रेखा पौडेल, अनिता केसी, गीता राना, कविता धिमाल, विमला चौधरी र इन्दिरा राई छन् । त्यसैगरी, अन्य सहभागीमा मुख्य प्रशिक्षक हरि खड्का, सहायक प्रशिक्षक अरुणा गुरुङ, गोलरक्षक प्रशिक्षक अस्मिता खवास, फिजियोथेरापीस्ट नविना श्रेष्ठ, टोली चिकित्सक डङ्गोल महर्जन र व्यवस्थापक पेमाडङ्गोल लामा छन् । रासस