श्रीकृष्ण जन्माष्टमीमा जनता बैंकले बाँड्यो ग्लुकोज पानी
काठमाडौँ । जनता बैंकले श्रीकृष्ण जन्माष्टमीको अवसरमा भदौ ६ गते पाटन कृष्णमन्दिर र बुढानिलकण्ठस्थित हरेकृष्ण धाममा भक्तजनहरुलाई पिउने पानी तथा ग्लुकोज पानी वितरण गरेको छ । गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नु पर्दाको असुविधालाई ध्यान दिई बैंकले उपलब्ध गराएको निःशुल्क पिउने पानी तथा ग्लुकोज पानीले भक्तजनहरुलाई निकै राहत प्रदान गरेको थियो । उक्त दिन दुबै स्थानमा गरी करिव १५ हजार भक्तजनहरुलाई शुद्धपानी र ग्लुकोज पानी उपलब्ध गराइएको बैंकले जनाएको छ । सोही अवसरमा बैंकले हरेकृष्णधाम, बुढानिलकण्ठका अध्यक्ष रुपेश्वर जोशीलाई बैंकको तर्फबाट रु. १ लाखनगद र ५ थान ठूलो डष्टबिन सहयोग स्वरुप उपलब्ध गराएको थियो । हरेकृष्णधामले हरेक बर्ष कृष्ण जन्माष्टमीमा आउने सबै भक्तजनहरुलाई निःशुल्क भोजन(प्रसादी) को ब्यबस्था गर्ने गरेको छ ।
एक देशको प्रयोगशालामा गरेको परीक्षणलाई अर्को देशमा मान्यता दिने सहमतिको स्वागत
काठमाडौँ । नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन् । हालै काठमाडौंमा सम्पन्न नेपालभारत संयुक्त आयोगको बैठकमा नेपालको खाद्य प्रविधि गुण नियन्त्रण विभाग र भारतको खाद्य सुरक्षा तथा मानक प्रविधिकरण बीच एक अर्कोको देशको प्रयोगशालामा जाँच गरेको खाद्यान्न, फलफूल र तरकारीलाई अर्को देशमा मान्यता पाउने सहमति गरेका हुन् । भारतीय सरकारको फुड सेफ्टी एण्ड स्टान्डर्ड अथोरिटी अफ इन्डियाको हालैको निर्णय अनुसार नेपालको नेशनल फुड एण्ड फिड ल्याब्रोटरी काठमाडौंले भारत सरकारको फुड सेफ्टि एण्ड स्टाण्डर्ड रेगुलेसन २०११ अनुसार परीक्षण गरी मान्यता दिने सम्बन्धी व्यवस्था नेपालबाट भारततर्फ निकासी भईरहेको वस्तुहरु मध्ये करिब २४ वस्तुहरु खाद्य पदार्थ तथा फलफूल तथा तरकारीले भारतीय बजारमा सहज सरल र सुविधायुक्त प्रवेश पाउने कदमको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । यसबाट गैर भन्सार अवरोध लगायत प्रकृयागत झण्झट कम हुन गई व्यापार घाटा कम गर्न पनि योगदान पुर्याउने आशा एवम् विश्वास छ-चेम्बरले विज्ञप्तीमा उल्लेख गरेको छ । सो निर्णय अनुसार नेपालबाट भारतमा निकासी वस्तुमा नेपाली गुणस्तर परीक्षणलाई मान्य गरिएका वस्तुहरुमा जुस, जाम, जेली, अचार, क्याण्डि, इन्स्त्याण्ड नुडल्स, विस्कुट, बालबच्चालाई खुवाउने दुध, स्कीम्डहोलमिल्क पाउडर, कण्ड्यान्सड् मिल्क, आइसक्रिम, गुलियो दही, मासु तथामासुजन्यपदार्थ, अदुवा, अलैंची, बेसार, चिया, कफि, मह, ताजाफलफूल र तरकारी छन् । जारी गरिएको परिपत्रमा नेपालको ‘नेशनल फुड एण्ड फिड ल्याब्रोटरिज’ काठमाडौंले एनएबिएलले तोकेको मापदण्ड अनुसार एक्रिडिटिसन एकवर्ष भित्रमा लिनुपर्ने र मापदण्ड सेफ्टि स्टाण्डर्ड रेगुलेशन २०११ अन्तर्गत रहनु पर्ने कुरा समेत उल्लेख गरेको छ । प्रत्येक भन्सार बिन्दुमा आधुनिक क्वारेन्टाइन चेक पोष्ट र खाद्य परीक्षण प्रयोशशालामा स्थानपनामा समेत जोड दिई सो सुद्धढ, व्यवस्थित र सरल हुने आशा एवम् विश्वास लिएको चेम्बरले जनाएको छ ।
कोहलपुरमा हाइमास्ट जडानसँगै सिटीहलको निर्माण गरिँदै, अनुमानित लागत १२ करोड
बाँके । बाँकेको कोहलपुर नगर क्षेत्रलाई उज्यालो शहरका रुपमा विकसित गर्न कोहलपुर नगरपालिकाले १५ हाइमास्ट लाइट (उच्च क्षमतायुक्त) जडान गर्दैछ । विभिन्न दातृ निकायको रु दुई करोड सहयोगमा हाइमास्ट जडान गर्न लागिएको नगरपालिकाका प्रमुख लुटबहादुर रावत बताउँछन् । उनका अनुसार शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र नगरपालिकाबीच भएको छलफलमा मन्त्री राईले नगरपालिकाको उज्यालो अभियानलाई सफल बनाउन ‘हाइमास्ट लाइट’ जडान गरिने बताएका हुन् । कोहलपुर क्षेत्रका आम नागरिकले कोहलपुर नगरलाई सुन्दर र उज्यालो बनाउन नगरपालिकासँग पटक–पटक अनुरोध गरेअनुसार नगरपालिकाले शहरी विकास मन्त्रालय, कोहलपुर नगर विकास समितिलगायत सरोकारवाला निकायसँगको समन्वयमा हाइमास्ट जडान गर्ने कार्य अघि बढाएको प्रमुख रावतको भनाइ छ । बाँकेमा नेपालगञ्ज उपमहानगरपालिकाले स्थानीय विपीचोकमा केही महिनाअघि हाइमास्ट जडान गरेको थियो । उक्त हाइमास्टले विपीचोक क्षेत्रको सुन्दरता बढाउनुका साथै रातिको समयमा पनि पैदलयात्रुदेखि सवारीसाधनलाई सडक पार गर्न सहज भएको छ । यही कामलाई पछ्याउँदै कोहलपुरमा पनि हाइमास्ट जडान गर्ने प्रक्रिया अघि बढाएको हो । “यसका लागि नगरपालिकाले बोलपत्र आह्वान गरी ठेक्का सम्झौतासमेत गरिसकेकाले अबको केही साताभित्रै हाइमास्ट जडानको काम अघि बढ्नेछ”, प्रमुख रावतले भने । नगरपालिकाका प्रमुख रावत र शहरी विकासमन्त्री राईबीच भएको छलफलमा कोहलपुर नगरपालिका क्षेत्रभित्र ५०० व्यक्ति अट्ने सिटीहलको निर्माणसमेत गर्ने विषयमा सहमति भएको छ । सिटीहल निर्माणबारे यसअघि पनि पटक–पटक छलफल हुँदै आएको थियो । सिटीहलका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)समेत यसअघि तयार भए पनि सरोकारवाला निकायले चासो नदेखाउँदा हालसम्म सिटीहल निर्माणको कामले गति लिनसकेको थिएन । नगरपालिकामा जनप्रतिनिधिको पनि हालसम्म चासोमा नपरेको सिटीहल निर्माणले गति लिएको नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारूले बताए । यसरी, कोहलपुरको समग्र विकासमा सिटीहल र हाइमास्ट जडानले थप मद्दत गर्ने भन्दै उनले जनचाहना र मागअनुसार नै विकास निर्माणका गतिविधिलाई नगरपालिकाले प्राथमिकतामा राखेको जानकारी दिएका छन् । सिटीहल निर्माणमा रु १० करोड लाग्ने अनुमान गरिएको छ । कोहलपुर नगरपालिका–११ स्थित नगर विकास समितिको दुई बिघा जग्गामा सिटीहल निर्माण हुने जनाइएको छ । रासस