दोलखा ६७ औं खुला दिसा मुक्त जिल्ला घोषणा

काठमाडौं । दोलखा । प्रदेश ३ को दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा विशेष कार्यक्रम आयोजना गरी दोलखालाई बिहीबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले देशैभरि पूर्ण सरसफाइको कार्यक्रम अघि बढेको बताइन् । उनले असोज भित्रमा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न लागिएको जानकारी दिएकी हुन् । दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी नौ वटा स्थानीय निकायहरु छन् । दोलखामा ४५ हजार ६ सय ५८ घरधुरीहरुमा शौचालयहरु निर्माण भएका छन् । खुला दिसामुक्त जिल्लामा दोलखा ६७ औं जिल्ला भएको छ । सार्वजनिक स्थल, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, मठ मन्दिर र सबै घरधुरीहरु गरी दोलखामा शौचालयहरु निर्माण गरी प्रयोगमा आएपछि दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले जानकारी दिए । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका अधिकाशं जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ। कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा, मोरङ, काठमाडौँ, सिन्धुपाल्चोक र सोलुखुम्बुलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न बाँकी रहेको विभागले जनाएको छ । सरकारले विसं २०६८ सालमा सरसफाइ गुरुयोजना कार्यान्वयनमा ल्याएपछि उक्त कार्यक्रम अन्तर्गत विसं २०६८ असार १० गते कास्कीलाई पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

१३औँ सागका लागि ३५ क्रिकेट खेलाडी छनोट

काठमाडौं । आगामी मङ्सिरमा नेपालमा नै आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकूद (साग) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रारम्भिक चरणमा ३५ खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काको छनोट समितिले प्रारम्भिक चरणमा ३५ खेलाडीको नाम आज सार्वजनिक गरेको हो । नेपाली टोलीको बन्द प्रशिक्षण भने यही भदौ १५ गतेदेखि शुरु हुनेछ । प्रारम्भिक टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, राजु रिजाल, जितेन्द्र मुखिया, प्रदीप ऐरी, सुनिल धमला, शौरभ खनाल, ललित सिंह भण्डारी, विक्रम सोब, इशान पाण्डे र करण केसी छन् । त्यसैगरी, छनोट हुने अन्य सदस्यमा मोहम्मद आरिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन सरार्फ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आशिफ शेख, सुसन भारी, अनिलकुमार शाह र अभिनास बोहोरा छनोटमा परेका छन् । त्यस्तै, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र शाहब आलम रहेका छन् । साग खेलकूद आगामी मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुँदैछ । रासस

आइतबार सार्वजनिक बिदा

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायकको पर्व अटवारीका लागि आइतबार सर्वजनिक बिदा दिने निर्णय गरेको छ । भाद्र १५ गते आइतबारका दिन प्रदेशभित्र रहेका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने प्रदेश मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । थारु समुदायले लामो समयदेखि अटवारी पर्वका दिन सार्वजनिक बिदाको माग गर्दै आएका थिए । पहिले देखिनै अटवारी पर्वमा बिदाको माग गर्दै आएको र बिदा पाउँदा खुशी भएको थारु पत्रकार सङ्घ कञ्चनपुरका अध्यक्ष धनबहादुर कुश्मीले बताए । एक दिन व्रतका लागि बिदा दिए पनि दिदीबहिनीलाई अग्रासन दिने दिन पनि बिदा दिनुपर्ने माग गरिएको छ । थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गरिन्छ । रासस