श्रीकृष्णजन्माष्टमी मनाइदै, कृष्ण मन्दिरहरुमा भक्तजनको भीड
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको विश्वास छ । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।
‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्यलाई सिभिलको सम्मान
काठमाडौँ । सुन्धारास्थित सिभिल मलले भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्पस् २०१९’ का उपविजेता प्रितम आचार्यलाइ सम्मान गरेको छ । सम्मान समारोहमा आचार्यलाई सिभिल मल व्यापार संघ र सिभिल मलमा रहेका विभिन्न स्टोरहरूले पनि उपहार प्रदान गरेका थिए । सिभिल मलको प्रवद्र्धनात्मक कार्यक्रम ‘सिभिल मल सपिङ्ग फिएस्टा २०१९’ को अन्तिम दिन पारेर गरिएको सो कार्यक्रममा बाल गायक आचार्यले प्रतियोगितामा गाएका विभिन्न गीतहरू प्रस्तुत गरे । सोही अवसरमा गोला प्रथाबाट विभिन्न उपहार विजेताको घोषणा पनि गरियो । जसअनुसार विर्तामोडकी अञ्जु आचार्यले यमाहा एफ जेड एस १५० जितिन्भने काठमाडौंका कृतांश पाण्डेले एल जी टेलीभिजन र पाटनका रेयांशले एल जी रेफ्रिजरेटर प्राप्त गरे । यमाहासँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै स्टोरहरूलाई सिभिल मलले धन्यवाद ज्ञापन गरेको छ ।
जनता बैंकद्वारा जनभोजनका लागि प्रेमसागर फाउण्डेसनलाई २ लाख सहयोग
काठमाडौं । जनता बैंकले प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (फुड फर पिपुल) लाई २ लाख सहयोग हस्तान्तरण गरेको छ । उक्त जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर र धादिङमा एक कार्यक्रमका बीच जनता बैंकको तर्फबाट प्रेमसागर फाउण्डेसनका उपाध्यक्ष डा. प्रेमराज ढुङ्गेललाई हस्तान्तरण गरेको हो । प्रेमसागर फाउण्डेसनद्धारा संचालित जनभोजन कार्यक्रमले दैनिक ५ सय बालबालिका र करिब १ सय जना बृद्ध आमाबुबाहरुलाई दैनिक बिहानको खान खुवाउदै आएको छ । साथै, धादिङ र मकवानपुरका केही विद्यालयका करिब १५०० बालबालिकालाई दिवा खाजाको कार्यक्रम समेत संचालन गरेको छ । दैनिक करिव रु. ५० हजार रकम बराबरको बिहानी खाना र दिवा खाजाको कार्यक्रम संचालन गर्दै आइरहेको फाउण्डेसनलाई जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वबाट ४ दिन बराबरको खाना तथा खाजा सहयोग बापत उक्त रकम सहयोग गरेको हो । यसरी, धादिङ र मकवानपुरको सिमानामा पर्ने तसर्पु र आसपासमा रहेका विपन्न बस्तीलाई लक्षित गरी करिब १० वर्ष अगाडि देखि प्रेम सागर फाउण्डेसनले विद्यालय जाने बालबालिकालाई पोषणयुक्त खाना तथा खाजाको व्यवस्था गर्दै आइरहेको छ । उक्त कार्यक्रमको प्रभावले यस क्षेत्रका शत प्रतिशत विद्यार्थी विद्यालय भर्ना भएका र शैक्षिक गुणस्तरमा पनि धेरै सुधार आएको फाउण्डेसनले जनाएको छ ।