मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माण हुँदै, लागत लक्ष्य तीन करोड

दमौली । तनहुँको व्यास नगरपालिका–४ मा निर्माण हुँदै गरेको प्यागोडा शैलीको मन्दिरका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिले रु ११ लाख सहयोग गरेका छन् । बागभञ्ज्याङ सामुदायिक वनभित्र निर्माण हुँदै गरेको तनहुँ कालिका मन्दिरका लागि तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ, बागभञ्ज्याङ सामुदायिक वन, शीतलचोक राधाकृष्ण आमा समूहलगायतले रु ११ लाख ५५ सहयोग गरेका हुन् । मन्दिर निर्माणका लागि एकाइ र सामुदायिक वनले रु चार/चार लाख सहयोग गरेको छ भने आमा समूहले रु दुई लाख ७५ हजार सहयोग गरेको तनहुँ कालिका शहीद शान्ति पार्क उपभोक्ता समितिका कोषाध्यक्ष एकबहादुर रानाले जानकारी दिए । उनका अनुसार हरिओम टोल आमा समूहले पनि रु २५ हजार ५५ सहयोग गरेको छ । मन्दिर निर्माण सम्पन्न गर्नका लागि प्राप्त भएको रकमले सहयोग पुग्ने समितिका अध्यक्ष मोतीकुमार श्रेष्ठले बताएका छन् । कालिका मन्दिर निर्माणका लागि हालसम्म रु एक करोड ४३ लाख खर्च भएको छ । मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माणको कार्य ७० प्रतिशत पूरा भएको छ । तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको टुँडाल हाल्ने क्रम जारी छ । मन्दिर तामाको छानोले छाइनेछ । “विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगबाट नै मन्दिर निर्माण सम्पन्न हुनेमा विश्वस्त छौँ”, समितिका कोषाध्यक्ष रानाले भने, “दाताको सहयोग प्राप्त नभएको मन्दिर आज यो अवस्थासम्म आइपुग्न गाह्रो हुन्थ्यो ।” तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठले मन्दिरले दमौली बजारको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताएका छन् । करिब रु तीन करोडको लागतमा मन्दिरको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहे पनि मन्दिर निर्माणका लागि रकम अपुग हुने पार्कले जनाएको छ । रासस

भीमसेन मन्दिर निर्माणका लागि एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठद्वारा एक करोड सहयोग

काठमाडौँ । व्यापारीका आराध्य देवता मानिने पाटनका भीमसेन मन्दिरको पुनर्निर्माणका लागि एभरेष्ट बैंक लिमिटेडका अध्यक्ष बिके श्रेष्ठले रु एक करोड सहयोग हस्तान्तरण गरेका छन् । पुख्र्यौली घर पाटनमा भएका श्रेष्ठले बुबा साहु गणेशलाल श्रेष्ठको स्मरणमा रकम हस्तान्तरण गरेका हुन् । उनले चेक ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जन, मङ्गल टोल सुधार समितिका अध्यक्ष किरणमान प्रधान र काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटी)का प्रमुख डा रोहित रञ्जितकारलाई हस्तान्तरण गरे । प्यागोडा शैलीमा निर्मित यो मन्दिर विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त बनेको थियो । मन्दिर दिनदिनै जीर्ण बन्दै गएपछि मङ्गल टोल सुधार समिति, ललितपुर उद्योग वाणिज्य सङ्घ, ललितपुर महानगरपालिका र नेपाल सरकार पुरातत्व विभागको संयुक्त प्रयासमा मन्दिर पुनर्निर्माणका लागि समिति गठन भई काम शुरु भएको थियो । समितिले मन्दिर पुनर्निर्माणमा सुन लेपनबाहेक रु चार करोड त्रियानब्बे लाख लाग्ने अनुमान गरिएको छ । ललितपुर महानगरपालिकाले रु एक करोड र प्रदेश ३ सरकारबाट पचास लाख सहयोग गर्ने निर्णय गरिसकेका छन् ।

हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

काठमाडौँ । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महीनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महीनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । रासस