बैतडीका बजारमा जडान भए सिसीटिभी क्यामरा

काठमाडौं । आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिएको छ । बजार क्षेत्रका मुख्यमुख्य स्थानमा ११ वटा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले बताएका छन् । करिब रु पाँच लाखको लागतमा उक्त सिसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ । सिसीटिभी क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुने, अपराध न्यूनीकरणमा टेवा पुग्ने र आपराधिक क्रियाकलाप गरेर भाग्ने समूहलाई सहज पहिचान गरेर कानूनको परिधिभित्र ल्याउन सहज हुने विश्वास गरिएको छ । सिसीटिभी क्यामराको कन्ट्रोल इलाका प्रहरी कार्यालय पाटनमा राखिएको छ । रासस

एक हजार दुईसय हजयात्री साउदी जाँदै,प्रतिहजयात्री रु दुई लाख ३० हजार

काठमाडौं । नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि आवासीय सुविधा र खानपिनको राम्रो व्यवस्था गरिएको जनाएको हो । यस वर्ष पनि नेपालबाट एक हजार २०० हज यात्रामा जानेछन् । यसरी, हज यात्रामा दुई हजार पठाउनका लागि पहल गरिए पनि सार्थक नभएको समितिले जनाएको छ । समितिले गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय र साउदी अरबस्थित नेपाली दूतावासको अथक प्रयासका बाबजुत पनि कोटा बढाउन नसकिएको समितिका अध्यक्ष शमशेर मियाँले बताए । साउन २ देखि १० गतेभित्र हजयात्री साउदी पुग्नेछन् । दैनिक १५० का दरले एयर अरेबियाको जहाजबाट हजयात्री लगिनेछ । साउदीमा ४२ दिनको मुख्य हज यात्रा सकेपछि उनीहरु स्वदेश फर्कने बताइएको छ । थप एक हजार कोटा माग गरिएकामा साउदी सरकारले ५०० थप्ने मौखिक आश्वासन दिएको भए पनि त्यो पूरा हुन नसकेको भन्दै अध्यक्ष मियाँले हजयात्रीको कोटा बढाउनका लागि पहल गरिदिन सरकारसमक्ष आग्रह गरे । समितिका अनुसार नेपालमा करिब १२ लाख मुस्लिम समुदाय रहेको पुरानो आँकडा रहे पनि अहिले त्यो सङ्ख्या अहिले झण्डै १५ लाखको हाराहारीमा रहेका छन् । प्रतिहजयात्री करिब रु दुई लाख ३० हजार खर्च लाग्ने बताइन्छ । यो रकम हजीले नै ब्यहोर्छन् । समितिले रु १० देखि १५ हजार हरेक हजीलाई फिर्ता गर्ने गरेको थियो यो वर्ष रकम बढेकाले फर्काउन समस्या हुने समितिको भनाइ छ । विगतभन्दा कम रकममा हज गराउन लक्ष्यका साथ काम गरिरहेको भए पनि साउदी सरकारले नै हजयात्रीको खर्च बढाएकाले समस्या भएको समितिका अध्यक्ष शमशेर मियाँले बताए । उनले हजयात्रीको सहज व्यवस्थापनका लागि अनुदान रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । समितिका अनुसार यस वर्ष साउदी रियल बढेकाले प्रतिहाजीको कूल खर्चमा झण्डै रु पाँच हजारले वृद्धि भएको छ । साउदी सरकारलाई प्रतिहाजी बुझाउनुपर्ने स्थानीय यातायात खर्च यसपटक रु १५ हजार १८० ले बुझाउनुपर्ने बाध्यता छ । अध्यक्ष मियाँले हज समितिको बारेमा केही व्यक्तिले अनर्गल प्रचारबाजी गरेकोमा आपत्ति जनाउँदै संस्थाभित्र त्यस्तो कुनै गतिविधि नभएको र हज समिति आफ्नो लक्ष्यमा कटिबद्ध भएर लागि पर्ने बताएका छन् । हजीको टिकटलगायत व्यवस्थापनमा समितिले आर्थिक अनियमितता गरेको भनी समाचार आएको थियो । रासस

गायक उद्धव कार्कीको ‘उहीसँग बिहे गर’ भिडियो सहित सार्वजनिक

काठमाडौं । काँठ क्षेत्रका चर्चित गायक उद्धव कार्की र पार्वती कार्कीको नयाँ गीत, ‘उही संग बिहे गर’ को म्युजिक भिडियो सार्बजानिक भएको छ । पार्वती कार्की र उद्धब कार्कीको सुमधुर स्वरमा सजिएको गीतलाइ संगम थापा र पार्वती कार्कीले रचना गरेका हुन् । संगम र पार्वती कै संगीत रहेको गीतको भिडियोलाइ शिवपुरी म्युजिक प्रालिले निर्माण गरेको हो  । प्रोसिस तिमल्सिनाको निर्देशनमा बनेको भिडियोलाई बिरेन्द्र भट्टले खिचेका हुन् । अनु पराजुली , बिक्रम र थपलिया , रिता थापा , उद्धब  कार्की , पूर्णप्रसाद ढुंगाना , राधिका संजेल तथा बाल कलाकार रिदम सुबेदी र प्रितिका पौडेल लगायतकलारको भिडियोमा अभिनय रहेको छ । अनिल रानाले गीतको भिडियो सम्पादन गरेका हुन् । भिडियो हर्ने क्लिक गर्नुहोस् ।