रुख कटानीकाे आरोपमा अध्यक्ष सहित तीन पक्राउ

काठमाडौं । अवैधरूपमा सालका रुख कटानीमा संलग्न रहेको आरोपमा पक्राउ परेका कञ्चनपुरको लालझाडी गाउँपालिका–५ स्थित अपि सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई अनुसन्धानका लागि थुनामा राखिएको छ । पक्राउ परेका सामुदायिक वनका अध्यक्ष मदन नाथ, कार्यालय सचिव धर्मानन्द भट्ट र काठ ढुवानी (ओसारपसार)मा संलग्न रामकृष्ण चौधरीलाई डिभिजन वन कार्यालयको सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखी बयान लिने कार्य शुरु गरिएको हो । पक्राउ परेका तीन र अन्य केही व्यक्तिको संलग्नतामा सामुदायिक वनमा अवैधरूपमा रुख कटानी भएको खुल्न आएको डिभिजन वन कार्यालयका अनुसन्धान अधिकृत निरञ्जन कँडेलले बताएका छन् । “पक्राउ परेका रामकृष्ण चौधरीसँग बयान लिने कार्य पूरा भएको छ”, उनले भने, “अन्यसँग सामान्य सोधपुछ गरिएको छ, केही अन्य व्यक्तिसमेत काठ कटानीमा संलग्न भएको पाइएकाले खोजी कार्य शुरु गरेका छौँ ।” बयानका क्रममा जेठ २७ गतेदेखि सामुदायिक वनमा स्वीकृति नलिई अवैध रूपमा सालका रुख कटानी गर्दै आएको पक्राउ परेकाहरुले बताएको अधिकृत कँडेलले बर्ताउँछन् । पक्राउ परेकाहरुको संलग्नतामा काटिएका २६ गोलिया (२३६ दशमलव ३६ घनफिट) काठ बरामद गरी सवडिभिजन कार्यालयमा घाटगद्दी गरी राखिएको छ । अदालतबाट सात दिनको म्याद थप गरी डिभिजन वन कार्यालयले पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालेको छ । स्थानीयवासी उपभोक्ताको सहयोगमा अवैधरूपमा काठ कटानीमा संलग्न तीनै जनालाई असार ९ गते पक्राउ गरिएको थियो । अवैधरूपमा काठ कटानीमा संलग्न अन्यका लागि पक्राउ पूर्जी जारी गरिएको छ । पक्राउ परेका तीनै जनाको बयान लिने कार्य सकिएपछि सरकारी वकिलको राय लिएर अदालतमा पेश गरिने अनुसन्धान अधिकृत कँडेलले बताए । वन ऐनअनुसार अवैध रूपमा रुख कटानी गरी हानी नोक्सानी गर्नेलाई बिगोको दोब्बर जरिवाना वा एक वर्ष कैद हुने व्यवस्था रहेको छ । रासस

लाखौँ ठगी गर्ने लम्साल पक्राउ

काठमाडौं । आम सर्वसाधारणलाई झुटो परिचय दिँदै लाखौँ ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । आफूलाई राजश्री सेभिङ एण्ड को–अपरेटिभ सोसाइटी संस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउँदै लाखौँ रकम ठगी गर्ने ४४ वर्षीय रमेश लम्साललाई इलाका प्रहरी कार्यालय बर्दिवासले बुधबार पक्राउ गरेको हो । लम्साल तेह्रथुम जिल्लाको जलजलेका स्थायी बासिन्दा रहेको र हाल सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–७ मा बसोबास गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ । लम्सालले बर्दिवास नगर क्षेत्रका कैयन सर्वसाधारणको जग्गा धितो राख्न लगाउँदै रु ४८ लाखभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले जानकारी दिएका छन् । लम्साललाई बुधबार नै महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको स्वीकृतिमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पीडित सर्वसाधारणले गरेको उजुरी र दिएको हुलियाका आधारमा लम्साललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । रासस

डेडो आँखाको समयमै उपचार नगरे आँखाको ज्योति गुम्ने: डा. सुजता भण्डारी

नेपाल आँखा अस्पतालमा बच्चाको आँखा जाँच्दै डा. सुजता भण्डारी काठमाडौं। आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो। संवेदनशील भएको कारण यसमा सानो चोटपटक लाग्दापनि धेरै समस्या आउने गर्दछ, त्यसैले यसको राम्रोसँग हेरचाह गर्नुपर्छ । ठूलाहरुले त आँफैले आफ्नो हेरचाह गर्न सक्छन्, तर बालबालिकाहरुलाई भने कतिपय समयमा आफ्नो आँखामा समस्या छ वा छैन भन्ने कुरामा अलमल हुन्छ, त्यसैले अभिभावकहरुले बच्चाको आँखामा आउने समस्याहरुमा ध्यान दिन जरुरी छ। बच्चाहरुमा विभिन्न कारणले आँखामा समस्या आउने गर्दछ । खेल्दा लडेर बच्चाहरुले आँखा गुमाउने, धुलो धुवाको कारण आँखाको एलर्जी हुने, लामो समय कम्प्युटर तथा मोबाइलको स्क्रिनमा हेरेको कारण आँखा कमजोर हुदै जाने डा. सुजता भण्डारी बताउँछिन्। यससंगै बच्चाहरुमा जन्मजात पनि आँखामा समस्या आउने गर्दछ । बच्चाहरुमा सबैभन्दा बढी देखिने आँखाको समस्या चस्मा लगाउनु पर्ने समस्या, डेडो आँखा, अल्छि आँखा, जन्मजात मोतिविन्दु र जन्मजात जलविन्दु रहेको भण्डारीले बताईन् । आँखामा आउने एलर्जी, आँखा पाक्ने समस्या बच्चाको आँखामा देखिने सामान्य समस्यामा पर्दछन् भने जटिल समस्यामा डेडो आँखा, मोती बिन्दु, जल बिन्दु, अल्छि आँखा र आँखाको क्यान्सर पर्दछन्। मोतिविन्दु बच्चाहरुमा जन्मजात देखिन्छ भने डेढो आँखा जन्मने बित्तिकै र जन्मिएको केही महिनामा देखिने गर्दछ । बच्चाले नदेखेको कारण आँखा डेडो हुने गर्दछन्, जसलाई अभिभावकले गलत बुझ्छन् । समयमा यसको उपचार नगरेको खण्डमा बच्चाले पछि गएर आफ्नो ज्योति नै गुमाउन सक्छन् । बच्चाहरुले चस्मा किन लगाउनु पर्छ ? – आँखाको आकार फरक-फरक भएको कारणले बच्चाहरुले चस्मा लगाउनु पर्ने हुन्छ । कसैको आँखाको नानी फ्ल्याट, स्टिफ हुन्छ, जसकारण उनिहरुको आँखाको फरक फरक पावर हुने गर्दछ । समयमै यसको समस्या पत्ता लगाएर चस्माको प्रयोग गर्ने हो भने आँखाको समस्या निर्मुल भएर जान्छ, तर नगरेको खण्डमा आँखा अल्छि हुँदै गएर समस्या निम्ताउँछ । बच्चालाई हामीले ८ बर्षको उमेर सम्ममा अल्छि आँखाबाट बचाउन सक्छौं । अल्छि आँखामा बच्चाले आँखाको आकार सबै ठीक हुँदाहुँदै पनि आँखा देख्न नसक्ने भएर जान्छ । जन्मजात आँखाको समस्या परिवारमा कसैलाई पहिलै आँखामा समस्या भएको धेरै जस्तो अवस्थामा जन्मजात आँखामा समस्या देखिने गर्दछ । यसका साथै आमाले गर्भवती अवस्थामा केही कारण औषधी खाएको अथवा मधुमेह छ भने जन्मिने बच्चामा मोतिविन्दु हुने खतरा हुन्छ ।  त्यस्तै एउटा बच्चा मोतिविन्दु भएको जन्मियो भने अर्को बच्चामा पनि मोतिविन्दु देखिने गर्दछ । गर्भवती अवस्थामा महिलालाई कुनै संक्रमण, रुवेला भएमा पनि बच्चाको आँखामा असर पर्न सक्छ। स्क्रिनमा धेरै समय बिताउँदा मोबाईल तथा ल्यापटममा लामो समय बिताउँदा बच्चाहरुको आँखा सुख्खा हुन्छ। आँखा सुख्खा हुँदा अन्य समस्याहरु निम्तिनुको साथै चस्मा लाउनु पर्ने अवस्था पनि सिर्जना हुन्छ । आँखाको क्यान्सर आँखामा क्यान्सर बिशेष गरेर १-३ बर्षको बच्चामा देखिने गर्दछ र त्यो भन्दा पछी पनि देखिन सक्छ । यसको कारण भने अझैपनि खुल्न सकेको छैन । यो भएको समयमा आँखामा सेतो जस्तो देखिने, आँखा टल्किने, बिरालो जस्तो आँखा हुने, आँखा डेढो हुने र जटिल अवस्थामा आँखाको भाग नै बाहिर निस्कने गर्दछ। यसको उपचार यो कुन अवस्थामा छ भन्ने कुरा हेरेर हुन्छ। ( डा. सुजता भण्डारीसँगको कुराकानीमा आधारित, डा. भण्डारी हाल नेपाल आँखा अस्पतालमा पेडाट्रिसियन अन्कोलोजिस्टको रुपमा कार्यरत हुनुहुन्छ। )