मुगुकाे गमगढी बजारका ५ चोकहरुमा सडक बत्ती जडान

काठमाडौं । मुगु जिल्ला सदरमुकाम गमगढीको पुरानो तथा मूल बजारका सडकमा सडक बत्ती जडान गरिएको छ ।छायाँनाथ रारा नगरपालिकाले जिल्ला सदरमुकाम गमगढी बजारका ५ वटा चोकहरुमा सडक बत्ती जडान गरेको हो । सडक बत्तीहरुको विधिवत रुपमा बिहीबार साँझ उद्घाटन गरेर सेवा सञ्चालन गरिएको छ । सडक बत्तीको उद्घाटन गर्दै नगरप्रमुख हरिजंग शाहीले बजार क्षेत्रमा शान्ति सुरक्षा, बटुवालाई आवत जावतमा सहज र बजारलाई रात्रिको समयमा उज्यालो बनाउन सडक बत्ती जडान गरिएको बताएका छन् । उनले अहिले परीक्षणका रुपमा सदरमुकामका पाँच स्थानमा स्वचालित सडक बत्ती जडान गरिएको र भविष्यमा क्रमिक रुपमा नगरक्षेत्रका ग्रामीण बजार र सडकमा समेत सडक बत्ती जडान गर्ने योजना नगरपालिकाको रहेको जानकारी गराएका छन् । गमगढी बजारका व्यस्त चोकहरु अदालत चोक, मिलन चोक, कृष्ण चोक, हाईस्कुल चोक र चैन चोकका ती सडकमा बत्तीहरु राखेर सञ्चालन गरिएको हो । रासस

नक्कली प्रमाणपत्र बनाउने दुई गिराेह पक्राउ

काठमाडौं । विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय सुदीप पौडेल रहेका छन् । भरतपुर महानगरपालिका–७ बुद्धचोकमा सञ्चालन गरेको विन्दु फोटो एण्ड भिडियो पसलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिएका छन् । उनीहरुले सो पसलबाट विद्यालय तथा क्याम्पसहरुको नक्कली लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र बनाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पराजुली र पौडेललाई बिहीबार पक्राउ गरेको हो । यसरी, नक्कली प्रमाणपत्र बनाउन प्रयोग गरिने एक थान कम्प्युटर र तीन थान प्रिन्टरसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखितसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

हल्चोकमा सशस्त्र प्रहरीलाई योगाभ्यास

काठमाडौं । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सशस्त्र प्रहरी बल मुख्यालय, हल्चोकमा विशेष कार्यक्रम गरिएको छ । सशस्त्र प्रहरी बल र आर्ट अफ लिभिङको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मानव जीवन र स्वास्थ्यका लागि योग अति आवश्यक भएको बताउँदै फौजी जीवन आफैँमा तनाव र शारीरिक श्रमको पनि जीवन भएकाले ध्यान र चिन्तनको जरुरी हुने उल्लेख गरेका छन् । आर्ट अफ लिभिङका अध्यक्ष कृष्ण केसीले योग सबै धर्म, सम्प्रदाय, वैचारिक दृष्टिकोण र पक्षधरका लागि उत्तिकै महत्वपूर्ण भएको विचार व्यक्त गरे । कार्यक्रम संयोजक ऋतिका लोहियाले मन र शरीर शान्त राख्न योग जरुरी भएको बताए ।प्रशिक्षक लोहियाले योग र ध्यानका विभिन्न प्रयोगात्मक अभ्यास गराएका थिए । संयुक्त राष्ट्र सङ्घले २१ जुनलाई योग दिवसका रुपमा मान्दै आएको छ । आर्ट अफ लिभिङको स्थापना सन् १९८१ मा रविशङ्करले गरेका थिए, उनी एक आध्यात्मिक एवं मानवतावादी चिन्तक हुन् । रासस