राउटेलाई नागरिकता दिइने, बस्ती प्रवेशका लागि शुल्क

  काठमाडाैं । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । सो गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो । सोही परिचयपत्रका आधारमा नेपाली नागरिकता प्रदान गरिने मन्त्रालयका सचिव डा. मानबहादुर विकेले बताएका छन् । राउटे समुदायको क्षेत्रमा काम गरिरहेका सरोकारवालासँगको अन्तरक्रियामा मन्त्रालयका सचिव डा. विकेले भने, “सामाजिक सुरक्षाभत्ता वितरणलगायतका अन्य सरकारी कामकाजमा सहजता हुने भएकाले नागरिकता वितरण गर्न लागिएको हो ।” उनले राउटे समुदायसँग काम गरिरहेका सरोकारवालासँगको सहकार्य र समन्वयमा नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाउने बताए । यसरी, अघिल्लो वर्ष गुराँस गाउँपालिका–८ को ठेगाना राखेर परिचयपत्र पाएका उनीहरुले गुराँस गाउँपालिकाकै स्थायी बासिन्दाको रुपमा नागरिकता पाउने भएका हुन् । “राउटे समुदायले जहाँबाट परिचयपत्र पाएका थिए, त्यहीँको ठेगाना राखेर नेपाली नागरिकता दिने प्रक्रिया शुरु गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताएका छन् । प्रक्रिया पुर्याएर राउटे बस्तीमै पुगेर नागरिकता वितरण गर्ने प्रमुख जिल्ला अधिकारी बाँस्कोटाको भनाइ छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतीनी खोला किनारबाट दुई साताअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छी बजारमा बस्ती सारेका छन् । राउटे समुदायको जनसङ्ख्या १४६ छ । उनीहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी छन् । राउटे बस्ती हेर्न शुल्क बाह्य नागरिक मनपरि रुपमा राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको परम्परागत संस्कार र संस्कृति लोप हुँदै गएको र विकृति बढ्दै गएको भन्दै गुराँस गाउँपालिकाले बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ । लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि रु १०, नेपाली नागरिकका लागि रु २०, विदेशी नागरिकका लागि रु ५००, अडियो भिडियो डकुमेन्ट्री मोबाइलका लागि रु १००, अडियो, भिडियो र क्यामराका लागि रु एक हजार शुल्क तोकेको छ । शुल्क तोकिएको बोर्ड राउटे बसोबास क्षेत्र प्रवेशद्वारमै राखिएको छ । गाउँपालिकाका अध्यक्ष ओलीका अनुसार बस्ती प्रवेशका लागि शुल्क लिन थालेपछि राउटे बस्तीमा मनपरि रुपमा प्रवेश गर्नेको सङ्ख्या घटेको छ । बस्ती हेर्न जानेबाट उठेको रकम राउटे समुदायको उत्थान र संरक्षणमा लगाउने अध्यक्ष ओलीले बताएका छन् । अहिले राउटे समुदाय बसेको क्षेत्र गुराँस–५ कान्छी बजारको खुला चौरलाई डोरीको सहायताले घेरबार गरिएको छ । गाउँपालिकाले बस्ती प्रवेश गर्नेका लागि शुल्क उठाउन दुई कर्मचारी खटाएको छ । एइआइएन लक्जेम्वर्गको सहयोग, गुराँस गाउँपालिकाको समन्वयमा सोसेक दैलेखमार्फत सञ्चालित राउटे परियोजनामार्फत एक अहेव र दुई जोडी शिक्षक राउटे बस्तीमा खटिएका छन् । रासस

हिमालयन बैंकले हेल्पिङ ह्याण्डस चिल्ड्रेन होमलाई गर्यो सहयोग

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नागार्जुन नपा–५, सीतापाईला, आदेश्वरस्थित “हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम” का वालवालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होमका २४ जना बालबालिकाहरुलाई जुक्ताहरु तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल आदि), सावुन र खाना पकाउने ग्याँसहरु प्रदान गरेको हो । देशका विभिन्न स्थानका विभिन्न उमेर समुहका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय तथा उचित शिक्षा प्रदान गर्ने प्रबन्ध मिलाएकोे छ । बैंकका तर्फवाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामाग्रीहरु हस्तान्तरण गर्नुभयो । बैंकले आफ्नो स्थापनाकाल देखिनै अनाथालय, बृद्धाश्रम, सांस्कृतिक सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्ति भोगेकाहरुका लागि, चेतना मुलक कार्यक्रमहरु आदिमा समय समयमा विभिन्न किसिमका सहयोग र राहत सामाग्रीहरु उपलब्ध गराउँदै आएको छ । हाल बैंकले ५९ वटा शाखा र १२० वटा ए टि एमबाट ग्राहकहरुका लागी समय सापेक्ष सुविधाहरु प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा थप १४ वटा शाखाहरु विस्तार गर्ने जनाएको छ ।

विश्वकप छनोटको एशिया फाइनलका लागि खेलाडी छनाेट, काे काे भए ?

काठमाडाैं ।  सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप छनोटको एशिया फाइनल खेलका लागि मंगलबार प्रारम्भिक टोली घोषणा गरिएको छ । आगामी साउन ६ देखि १२ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्का सम्मलित छनोट समितिले २५ सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरेको हो । सो प्रतियोगिताका लागि नन्दनकुमार यादव पहिलो पटक छनोटमा परेका छन् । आगामी सन् २०२० मा आयोजना हुने विश्वकप छनोटको रुपमा रहेको उक्त फाइनल खेलका लागि नेपाली टोलीको बन्द प्रशिक्षण यही असार ५ गतेबाट शुरु हुनेछ । छनोट हुनेमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, अविनाश बोहरा, वसन्त रेग्मी, अमित श्रेष्ठ, भीम सार्की, विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी, जीतेन्द्रकुमार मुखिया, करण केसी, कुशल भुर्तेल र ललित भण्डारी छन् । त्यसैगरी, ललितनारायण राजवंशी, आरिफ शेख, नन्दन यादव, पवन सर्राफ, प्रदीप ऐरी, राजु रिजाल, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, साहव आलम, शरद भेषवाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशन भारी छनोटमा परेका छन् । एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिता उद्घाटन गर्नेछ । रासस