लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११:४५ र दोस्रो खेल अपरान्ह ४ बजे हुनेछ । रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । सुदूरपश्चिले भने आफ्नो अपराजित यात्रालाई काय राख्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौं स्थानमा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ । अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।
लगातार तीन खेल जितको विराटनगर किङ्स चितवन राइनोजसँग ४८ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ । लगातार तीन खेलमा जित दर्ता गरेको विराटनगर किंग्स बुधबार चितवन राइनोजसँग ४८ रनले पराजित भएको हो । किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर १७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरलाई चितवनले १६ दशमलव ४ ओभरमा १२६ रनमै समेटेको हो । विराटनगरले यसअघि जनकपुर बोल्टस्, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग लगातार जित निकालेको थियो । चितवनको यो तीन खेलमा दोस्रो जित हो । यस टिमले लुम्बिनी लायन्सँग हार र कर्णाली याक्ससँग जित निकालेको थियो । ब्याटिङ र बलिङ दुवैमा लय समात्दा चितवनले आजको जित निकालेको हो । चितवनका रवि बोपाराले यस खेलमा ६५ रन जोडे । ३८ बल खेल्दा उनले ३ चौका र ४ छक्का प्रहार गरे । उनले ब्याटिङ उकास्दा चितवन १७५ रनको बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो । चितवनका सैफ जबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० र डविड मलानले १७ जोडे । जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका ब्याटरमाथि चितवनका बलर हाबी भए । चितवनका रञ्जित कुमारले पाँच विकेट लिए । उनले विराटनगरका साम हिजलेट, बसिर अहमद, नरेन भट्ट, नारायण जोशी र सूर्य तामाङको विकेट लिएका हुन् । प्रतियोगितामा विराटनगरको यो पहिलो हार हो । विराटनगरले यसअघि पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको जित निकालेको थियो । दोस्रो खेलमा काठमाण्डू गोर्खाजलाई पाँच विकेटले र तेस्रो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई नौ रनले हराएको थियो ।
नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हो : स्वर्णिम वाग्ले
काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताए । यसलाई सबैले स्वीकार गर्नुपर्ने उनको भनाई छ । उनकाअनुसार २०४८ सालको सरकारद्वारा शुरु गरिएको आर्थिक सुधारले नेपाललाई ७ प्रतिशतको औसत आर्थिक वृद्धिदरमा उकासेको थियो । यदि त्यसलाई निरन्तरता दिइएको भए हाल नेपालको अर्थतन्त्र करिव १ सय अर्ब डलरको आकारमा पुग्ने उनको भनाई छ । तर हाल ४५ अर्ब डलर बराबरको अर्थतन्त्र रहेको उनले बताए । पछिल्लो डेढ दशकदेखि भने नेपालमा राजनीतिक–आर्थिक उथलपुथलको चक्रमा फसेको उनले जानकारी दिए । त्यसको प्रतिविम्ब भदौ २३–२४ का घटनाले पनि देखाएको उनको भनाई छ । जेनजी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेको उनले बताए । उनकाअनुसार यो संक्रमणको सफल व्यवस्थापन हुन सकेमा देशले नयाँ आर्थिक–राजनीतिक मार्ग प्राप्त गर्नसक्छ । तर असफलता भए पुनः प्रतिगमनको जोखिम गम्भीर रूपमा बढ्ने उनले बताए । यस चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र तथा नयाँ दलहरूले वहन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालमा एक डेढ दशकदेखि उकुसमुकुस भइरहेको छ । यसको प्रतिविम्वको रुपमा भदौ २३ र २४ को विस्फोटमा पनि भयो र मुलुकको अर्थराजनितिक कोर्सलाई नै मोडिने गरेर र यसलाई समाल्न सक्यौँ भने हामी साँच्चिकै नयाँ ट्रयाज्क्टरीमा जानसक्छौँ भन्ने आशा पनि पलाएको छ ।’ उनले आगामी निर्वाचनपछि नयाँ आउने नेतृत्वले देशमा आर्थिक विकासको लागि दर्जनौँ कानूनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।