काठमाडौंमा असोज अन्तिम साता मेलम्चीको पानी आउने
काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौंमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिए । उनले भने, 'पानीको बहाब घटेको छैन । बहाब घटेपछि पानी ल्याउने तयारी छ ।' विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्ण रूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको कार्यकारी निर्देशक दासले बताए । केही दिनयता दैनिक ठूलो पानी पर्न थालेकाले मेलम्चीको पानी काठमाडौं उपत्यकामा पठाउन समस्या भएको उनको भनाइ छ । मेलम्चीबाट करिब १७ देखि १८ करोड लिटर पानी दैनिक काठमाडौंमा पथान्तरण गरिँदै आए पनि बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि अहिले रिबर्मा खोलाबाट दैनिक रुपमा ६ देखि ७ करोड लिटर पानी पथान्तरण गरेर काठमाडौंमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए । उनले भने, 'मेलम्चीको पानी असारमै बन्द भएको थियो । अहिले हामीले रिबर्मा खोलाको पानी वितरण गरीरहेका छौँ ।' विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको हो । तर, २०७८ असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पु¥याएपछि हालसम्म बाह्रैमास पानी ल्याउन सकिएको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको उनले जानकारी दिए ।
डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्की एक लाख घुससहित पक्राउ
दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ गरेको छ । गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति अबेर एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग लिएको उक्त रकमसहित पक्राउ गरी अनुसन्धान थालिएको अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
मल अभावको समस्या हटाउने प्रयास गर्छु : कृषिमन्त्री परियार
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन् । राष्ट्रपति भवन शितल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि पत्रकारहरुसंग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मलबिना कृषिको उत्पादन बढाउन नसकिने उनको भनाई छ । मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उनले बताए । मल आयात भएको खबर सार्वजानिक भईरहँदा पनि यसको अभाव हुने कुराको आफुले गहिरो अध्ययन गर्ने उनले जानकारी दिए । उनले भने, ‘मल नभएर कृषिको उत्पादन बढाउन सकिँदैन । मैले यो विषयमा अझै अध्ययन गर्न जरुरी छ कि आखिर भएको के रहेछ । किन यो मल चाहीँ समयमा उपलब्ध हुन सक्दैन । त्यो किन भएन भन्ने कुरा चाँही मैले अब हेर्नुपर्छ । त्यसमा के कमीकमजोरी भएको छ, त्यसलाई हटाउने प्रयास गर्नेछु ।’ उनले कृषकको हित हुने काम गर्ने बताए । वर्तमान सरकारको मुख्य प्राथमिकता चुनाव गराउने, सुशासन कायम गर्ने र बेथिति नियन्त्रण गर्ने भएकाले सोही अनुरूप आफुहरुले काम गर्ने उनको भनाई छ ।